यमलाल भुसाल, बुटवल ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डको वैकल्पिक सडकका रूपमा प्रदेश ५ को सरकारले अघि सारेको झुम्सा–चरंगे सडकको शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले निरिक्षण गर्नुभयो । मृत्यु मार्ग’ उपनामले चिनिएको सिद्धबाबा खण्डमा पहिरोेले जोखिम बढेपछि अघि सारिएको झुम्सा–चौकीभञ्ज्याङ–चरंगे–धागो कारखाना खण्डको स्तरोन्नति गर्न सहज हुने देखिएको छ ।
केही दिन अघि स्थानीय तह र उपभोक्ता समितिको पहलमा सडकको ट्रयाक खुलेको हो । प्रदेश सरकारले आगामी आवका लागि १० करोड विनियोजन गरेपछि पाल्पाली मात्रै नभएर सिद्धार्थ राजमार्गमा यात्रा गर्नेहरु खुशी छन् ।स्तरोन्नति छिटो गर्न सके सिद्धबाबा सडक सुरक्षित नहुञ्जेल यो मार्ग भरपर्दो विकल्प हुनेछ । सिद्धबाबा सडक खण्ड सुरक्षित बनाउन सकेपनि यो वैकल्पिक मार्गको आवश्यकतामा कुनै कमि हुनेछैन् ।
वैकल्पिकमार्ग सिद्धार्थ राजमार्गको झुम्साबाट २१ किमि बुटवल नजिकैको धागो कारखानासम्म पुग्न सकिन्छ ।संघीय सरकारले आर्थिक वर्ष २०७५र ७६ को बजेटमार्फत सुरुङ मार्ग बनाउने उल्लेख गरे पनि प्रदेश सरकारले भने वैकल्पिक सडक बनाउन लागेको हो । प्रदेश ५ का मुख्य मन्त्री पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले ट्रयाकको स्थलगत निरीक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री पोखरेलले सिद्धबाबा खण्डको सडक ज्यादै जोखिमयुक्त भएकाले प्रदेश सरकारले झुम्सा चरंगे सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट छुट्टाएको बताउनु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले झुम्सा चरंगे सडकलाई वैकल्पिक सडक मात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको बताउनु भयो ।
‘झुम्सा चरंगे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य छ’ सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री चौधरीले ‘प्रदेश सरकार बनेकै दिनदेखि मुख्यमन्त्रीले यो सडकलाई प्राथमिकता दिनुभएको हो, त्यसैले यो सडक बनाउन वजेटको कुनै अभाव हुँदैन, दुई वर्ष्भित्र दुई लेनको सडक ग्राभेल हुन्छ ।’
संघीय सरकारले सिद्धबाबामा सुरुङ मार्ग बनाउने भनी वजेटमा उल्लेख गरे पनि मन्त्री चौधरीले तत्काल सुरुङ मार्ग नबन्ने संकेत गर्दै बरु ढुंगे पहाडलाई काट्ने (बेन्चकट प्रविधि) उपयुक्त हुने बताउनु भयो ।बेन्चकट प्रविधिले ढुंगे पहाड काट्दा यहाँ ५ करोड घनमिटर ढुंगा निस्कने, यसको बिक्रीबाट प्रशस्त आम्दानी हुने र सिद्धबाबा खण्डमा तीन लेनको सडक बनाउन सकिने विज्ञहरुबाट सुझाव आएको मन्त्री चौधरीले उल्लेख गर्नु भयो । सिद्धबाबा सडक खण्डमा माथिबाट पहिरो खसेर विगत १० वर्षमा ७० जनाको ज्यान गएकाले वैकल्पिक सडक अपरिहार्य रहेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।