भगवती तिमल्सिना, काभ्रे
अमेरिकाको ड्यालसमा स्थापना भएको कमला शाक्य फाउण्डेसनले काठमाडौ विश्वविद्यालय धुलिखेल अस्पताललाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्नका लागि नभै नहुने यन्त्र “कल्कोसकोप” एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । उपकरणको कमलाका ससुरा पुष्पराज शाक्य र छोरा छोरीले उद्घाटन गर्नुभएको थियो भने श्रीमान स्वयम्भुले हस्तान्तरण गर्नुभएको थियो ।
कमला शाक्य र स्वयम्भूराज शाक्य झण्डै २२ बर्ष अघि उच्च शिक्षा हासिल गर्नुका साथै शिप सिकी आफ्नै जन्मभूमि नेपाल फर्किएर चिकित्सा सेवा र विज्ञान प्रविधिको उपयोगी सेवा प्रदान गर्ने अठोट लिएर सुविधा सम्पन्न मुलुक अमेरिका पुगेका थिए ।
उनको इच्छा र चाहना नेपालमै आएर गरिब दुःखीलाई स्वास्थ्य सेवा प्रदान गर्ने थियो । म पनि कम्प्युटर साइन्स पढेर काम गर्दै आएकाले नेपालमा नै आई सेवा गर्ने तीब्र चाहना बोकेर योजना बानाएका थियौं श्रीमान स्वयम्भुले भन्नुभयो ।उहांले भन्नुभयो छोरा, छोरीलाई काठमाडौं विश्वविद्यालय अन्र्तगत शिक्षा दिएर आफ्नै जन्मभूमि धुलिखेल फर्कने निधो गरिसकेका थियौ । अब कमला नहुँदाको यो योजना चकनाचुर भयो ।
आफु सानै हुँदा धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौ विश्व विद्यालयका उपकुलपति प्राडा.रामकण्ठ माकजू बिदेशबाट नेपालमै सेवा गर्ने अठोटका साथ घर फर्कदा उहाँको कपडा पसलमा धेरै मानिसको भिड लागेको थियो । के को भिड भनेर हेर्दा डा.माकाजुलाई देखे र सानै उमेरमै विदेश गएर फर्किएपछि सम्मान पाईने रहेछ भन्ने पर्न थाल्यो ।
त्यतिबेला देखिनै बिदेश जाने तिब्र चाहना अनुरुप उच्च शिक्षाका लागि अमेरिका पुगे । उच्च शिक्षा, व्यवहारिक पक्षलाई सम्हाल्दै यसै बर्ष देखि नेपाल फर्किएर जन्म भूमिको सेवा गर्ने योजना बनाएका थियौ । तर आज कमला साथमा छैनन र उनी बिना यो योजना पुरा गर्ने सम्भावना देख्दिन स्वयम्भु भन्नुहुन्छ ।
अमेरिकाको टेक्सास राज्यको मेडिकल सिटी ड्यालसमा एक बर्ष देखि कमलाको क्यान्सरको उपचार भैरहेको थियो । उनी आफै नर्स भएका कारण उपचारमा कुनै समस्या थिएन् । उनलाई उपचारपछि नेपाल आएर क्यान्सरका बिरामीलाई जनचेतना जगाउने र सहयोग गर्ने ठूलो धोको थियो । तर उनी निको भएर नेपाल सँगै आउँने चाहना पुरा हुन सकेन ।
पहिलो पटक एक महिना रेडियसन सेवा दिईयो । दोस्रो चरणमा पेटस्क्यान गरेर हेर्दा उनको क्यान्सरको ट्यूमर बढेको पाईयो । त्यसपछि सन् २०१७ नोभेम्बरमा किमो थेरापी शुरु गरिएको थियो । त्यसले पनि उनलाई झन गाह्रो भयो र औषधिले पनि काम गरेन । त्यतिकैमा उनको शरिरमा रोगसँग लड्ने क्षमताको कमी हुँदै गयो र मुटुदेखि पाठेघर सम्म जोडिएको नसा नै छिनेर रक्तश्राव भएको भयै कै भयो ।
चिकित्सकहरुले बाध्य भएर शल्यक्रिया अपनाए । रक्तश्राव त रोकियो तर किमो चलाउन मिलेन र उनको शरिरमा क्यान्सरको सेलले जरा गाड्यो उनलाई लामो समय बचाउन सकिन्न भनेर उपचारमा सम्लग्न चिकित्सकले भनिरहँदा पनि ममा आशा मरेको थिएन ।
कमलाले अस्पतालको बेडमा दिक्क मान्दा पनि अब तिमीलाई निको भएपछि नेपाल गएर गाउँ गाउँमा जनचेतना जगाउने काममा लाग्नुपर्छ भन्दै सम्झाउथे र उनमा आशा जगाउने काम गर्थे । नेपाल आउँने र सेवा गर्ने कुरामा उनी अत्यन्तै खुशी हुन्थीन् ।
कमलाको चाहनाकै लागि आज म बच्चाहरुलाई समेत लिएर नेपाल आएको छु र सयौ कमलालाई समयमै पाठेघरको मुखको क्यान्सर पहिचान गरि बचाउन मदत मिलोस् भनेर कल्कोसकोप नामक पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने मेशिन ल्याएर धुलिखेल अस्पताललाई हस्तान्तरण गरको छु । आगामी दिनमा पनि अमेरिका मै स्थापना गरेको कमला फाउण्डेसनबाट नेपालमा रहेका क्यान्सरका बिरामीका लागि सहयोग गर्दै जाने योजना बनाएका छौ ।
काठमाडौं विश्व विद्यालय मेडिकल साइन्सका डिन प्रा.डा.राजेन्द्र कोजूले स्वयम्भूले श्रीमतीको चाहना पुरा गर्न फाउण्डेसन खोलेर त्यसै मार्फत गरेको सहयोगको सही रुपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउण्डेसनका अध्यक्ष सुरज पौडेलले कमलाको योगदानको मुक्तकण्ठले प्रशसा गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।