१९ असार , देउखुरी – नगरपालिकासँगै जोडिएको सत्यसाई सेवा केन्द्रको भवनको हलमा ठुलो ब्यानर टाँगिएको छ । त्यो ब्यानरमा लेखिएको छ– ‘लमही नगरपालिका नगर कार्यपालिकाको कार्यालय, तेस्रो नगर सभा ।’ कुर्सी र सोफा भने खाली छन् । नगरसभा चल्ने भनिएको स्थान सुनसान छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यको भिड नगरपालिकाको मूल गेटमा छ । नगरसभा बैठक बहिस्कार गरेर निस्किएका अध्यक्ष र कार्यपालिका सदस्यहरू घर जाँदै छन् । ‘कार्यपालिका बैठकबाट टुंगो नलागेका विषयहरू नगर सभामा ल्याउन थालियो’, वडा नम्बर ७ का अध्यक्ष मोहन गिरीले भने– ‘कार्यपालिका बैठकबाट पारित भएर मात्रै नगरसभामा आउनु पर्ने हो, एकलौटी गर्न थालियो, त्यही भएर नगर सभामा भाग नलिने भनेर बाहिर निस्क्यौं ।’
लमही नगरपालिकाको तेस्रो नगर सभा वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेपछि स्थिगित भएको छ । असार १० गते उद्घाटन भएको नगर सभामा आइतबार विभिन्न विधेक तथा ऐनहरूमा छलफल राखिएको थियो । तर, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले पूर्वाधार विकास शाखा तथा लक्षित वर्गको कार्यक्रम नगर कार्यपालिका बैठकमा छलफल भएर टुंगो नलाग्दासम्म लमही नगरपालिका नगरकार्यपालिकाको चलिरहेको नगरसभामा भाग नलिने निर्णय गर्दै तेस्रो नगरसभा बहिस्कार गरेका हुन् । ‘छलफलविनै नीति तथा कार्यक्रमहरू, बजेटहरू आउन थाले त्यही भएर हामीले नगर सभामा भाग नलिने भनेर बाहिर निस्केका हौं’, वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भने– ‘नगरपालिका एकलौटी रूपमा चल्न थाल्यो, लक्षित वर्गको बजेट र पूर्वाधार विकासको बजेटबारे क्लियिर भएन ।’
लक्षित वर्ग शिर्षकको कार्यक्रम यस अघि वडा कार्यालय मार्फत गरिएको थियो । अहिले ल्याउन थालिएको बजेटमा लक्षित वर्गको कार्यक्रम नगरपालिका आफैले चलाउने गरी ल्याउन थालिएको स्रोतले जनाएको छ । यसरी नगरपालिकाबाटै लक्षित वर्गको कार्यक्रम चलाउँदा वडा कार्यालयको भूमिका गौण हुने बुझाई वडा अध्यक्षहरूको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष विमबहादुर केसी बाहेक अन्य वडा अध्यक्ष र ७ जना कार्यपालिका सदस्यले नगरसभामा भाग नलिने भन्दै हस्ताक्षर गरेको लिखित दस्तावेज सार्वजनिक गरेका छन् । नगरसभा बहिस्कार गर्नेहरूमा वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल, २ का वडा अध्यक्ष नेपालु चौधरी, वडा नम्वर ३ का अध्यक्ष बावुराम चौधरी, वडा नम्वर ४ का अध्यक्ष सुवास न्यौपाने, वडा नम्वर ६ का वडा अध्यक्ष गणेशमान चौधरी, वडा नम्बर ७ का अध्यक्ष मोहन गिरी, वडा नम्बर ८ का मेघनारायण चौधरी, ९ का अध्यक्ष भेषबहादुर केसी(रमेश) रहेका छन् । यस्तै कार्यपालिका सदस्य नारायणी खड्का, राधा केसी, सुनिता चौधरी, वमबहादुर विश्वकर्मा, ठगे नेपाली र रमेश कुमाल छन् ।
असार १० गतेको नगरसभामा नगरप्रमुख कुलबहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साथै उपप्रमुख देवका बेल्वासेले ५५ करोड बढीको बजेट प्रस्तुत गरेकी थिइन् । तर, बजेट प्रस्तुतबारे सार्वजनिक गरिएको थिएन । यता नगरप्रमुख कुलबहादुर केसीले कार्यपालिका वैठकबाट पारित नभएका विषयहरू नगरसभामा नलगिएको भन्दै सबै विषय छलफल र संवादबाट टुंगो लाग्ने बताए । ‘आइतबारको नगर सभामा किन भाग लिनुभएन, विधेयक र ऐनहरूमा छलफल राखेका थियौं’, उनले भने– ‘उहाँहरूले उठायका विषय सवै छलफलबाटै टुंगो लाग्ने हो ।’ नगरकार्यपालिकामा नेपाली काङ्ग्रेसको बहुमत छ । नगर सभा बहिस्कार गर्नेमा नेकपाका दुई जना वडा अध्यक्षसमेत रहेका छन् ।