बैशाख ११ । काठमाडौं : ०७२ वैशाख १२ र २९ गते गएको महाविनाशकारी भूकम्पमा करिब नौ हजार व्यक्तिले ज्यान गुमाएका थिए भने झन्डै २२ हजार व्यक्ति घाइते भएका थिए। आज भूकम्प।गएको ठीक २ वर्ष भएको छ तर,अझै पनि धेरै मानिसहरु भूकम्पकै कारण अपांगता भएर अझै उपचारकै अवस्थामा रहेका छन्। भूकम्प गएको दुई वर्ष पुग्दासम्म पनि नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा अझै पनि भूकम्पमा परेर घाइते भएका मानिस उपचार गर्न आइरहने गरेको अस्पतालका अर्थोपेडिक सर्जन डा. युवराज खरेल बताउँछन्। उनले भने, ‘भूकम्पमा परेका घाइतेहरु अझै पनि उपचार गर्न आउने गर्छन्। हामीले अहिले पनि हप्तामा ३/ जना भूकम्पमा घाइते भएका विरामीलाई उपचार गर्ने गरेका छौं।’ आइतबार नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी पुग्दा बिरामीहरु आफ्नो पालो कुरेर बसिरहेका देखिन्थे भने डा. खरेल ओपिडीमा बिरामीहरुकाे चेकजाँच गर्दै थिए। हामीले उनलाई आजभन्दा दुई वर्षअगाडि गएको महाविनाशकारी भूकम्पबारे सम्झन उनलाई आग्रह गर्यौं, उनले भूकम्पको त्यसक्षणलाई यसरी सम्झिए, ‘मलाई भूकम्प गएको दिनको सम्झना अझै पनि ताजै छ, भर्खर अस्पताल आएर ओपिडिमा बिरामी हेरिरहेको थिएँ।
एक्कासि भवन हल्लिन थाल्यो। सबै बाहिर निस्किए तर म भने वार्डमा भर्ना भएर बसेका बिरामीहरुलाई सम्झन थालें र भूकम्प रोकिएपछि बिरामी भएतिर गएँ।’ भूकम्पको त्यस क्षणलाई सम्झँदा अहिले पनि उत्तिकै डर लाग्ने बताउँदै उनी भन्छन्, ‘मलाई अहिले पनि अफिसमा बस्दा टेबल हल्लियो भने भूकम्पकै झल्को आउँछ। त्यस दिनको अवस्थाबारे सम्झँदा अझै पनि मुटु नै थरर भएर डर लाग्छ। हाम्रो अस्पतालमा विशेष गरी हाडजोर्नीका बिरामीहरु बढी हुने र भर्ना भएर बसेका धेरै बिरामीहरु हिँढ्न नसक्ने खालका हुने भएकाले त्यसबेला अस्पतालभित्रै रहेका बिरामीलाई सुरक्षित बनाउन र भूकम्पका कारण थपिएका नयाँ बिरामीको उपचारमा व्यवस्थापन गर्न मुख्य चुनौती ने थियो।’
अप्रेसन गर्दा गर्दै भूकम्प धेरै बिरामीहरु वार्डमा बस्न मानिरहेका थिएनन्, अस्पताल बाहिरको अवस्था झन् अस्तव्यस्तकै अवस्थामा थियो। १२ वैशाखको भूकम्पपछि हामीले अस्पतालमा प्रथामिक उपचारबाहेकअरु केही गर्नै सकेनौं। आउने बिरामीलाई हामीले सामान्य ब्यान्डेज मात्र गरेर राखेका थिर्यौं। भोलिपल्ट हामीले एक्सरे सेवा सुरु गरी विस्तारै बिरामीको उपचार सञ्चालन गर्यौं। अस्पातल भनेपछि बिरामीहरुले सुरक्षित महसुस गरेर होला घर जान मिल्ने बिरामीहरु पनि घर जान मानिरहेका थिएनन्। बिरामीको चापले हामीलाई व्यवस्थित तरिकाले उपचार गर्न धेरै मुस्किल भइरहेको थियो। मलाई एउटा घटना अझै याद छ।
भोलिपल्ट अर्थात् १३ वैशाखको कुरा हो हामीले बल्ल बिरामीहरुको अप्रेसन सुरु गरेका थिर्यौं। अप्रेसन गर्दा गर्दै भूकम्प गयो। तर, हामी बिरामीलाई छाडेर हिँडेनौं अप्रेशन सेवालाई निरन्तरता दिइरहयौं भूकम्पको बेलामा हामीले करिब ४ सय बिरामीको अप्रेसन गर्यौं जुनबेला हामी बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म अप्रेसन सेवामा नै खटिइरहेका हुन्थ्याौ। घाउमा किरा परेका बिरामी आएका थिए भूकम्पमा परेर आउने अधिकांश बिरामीको हात, खुट्टा र ढाड भाचिएको हुँदा अझै पनि कति बिरामीहरु फलोअपमा नै रहेर उपचार गरिरहनुभएको छ। मलाई भूकम्पमा पर्नु भएको एक जना विरामीको उपचार गरेको अझै पनि याद छ। सिन्धुपाल्चोक स्थाइ घर भएकी चिनीमाया भन्ने एक जना बिरामी उपचार गर्न आउनुभएको थियो। भूकम्प गएको ५ दिनपछि आएकी उनका दुवै हातखुट्टा भाँचिएका थिए। यहाँ आउँदा भूकम्पमा परेर लागेको उनको घाउ बिग्रिएर पूरै किरा परिसकेको थियो। हामीलाई सुरुमा उनको उपचार सफल हुन्छ जस्तै लागेको थिएन तर, लामो समयको उपचारपछि हामीले उनलाई बचाउन सफल भर्यौं। अहिले पनि उहाँ हाम्रो फलोअपमा रहिरहनु भएको छ। यस्तै, अर्को घटना मलाई अझ पनि याद छ बिनु प्रजा भन्ने एकजना बिरामी आउनुभएको थियो। उहाँको परिवारका सबै सदस्यहरुले भूकम्पमै परेर ज्यान गुमाइसकेका थिए। उहाँको पनि ढाड भाँचिएको थियो। उहाँ अस्पताल आउँदाको अवस्था धेरै कारुणिक थियो, बच्चासहित परिवारका सम्पूर्ण सदस्य गुमाइसकेकी उहाँको दुईपटकसम्म अप्रेसन गर्नुपरेको थियो। लामो समय अस्पतालमा राखेर उपचार गर्दा उहाँ पूर्ण निको हुनुभयो। तर, अस्पतालमा बस्दा परिवारको वियोगको पीडाले उहाँको छट्पटीलाई देख्दा अझ पनि म उहाँलाई सम्झन्छु। धेरैजसो घाइते मानसिक परामर्श दिनुपर्ने खालका मुख्य कुरा भूकम्पमा परेका धेरै बिरामीहरुलाई लामो समयसम्म उपचार गर्नुपर्ने हुँदा उनीहरुमा उपचारसँगै मानसिक परामर्श पनि दिनुपर्ने डाक्टर खरेल बताउँन्। अहिलेसम्म पनि भूकम्पका कारण घाइते भएर अस्पताल आउने बिरामीहरुमा मानसिक रुपमा कमजोर भएको र त्यस्ता बिरामीहरुका लागि शारिरिक उपचारसँगै मानसिक परामर्श दिइरहेको डाक्टर खरेल बताउँछन्।