नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडामा धेरै कुरा भद्रगोल छन्, जसले बजारको सौन्दर्य कुरुप बनाएको छ । बजारलाई कुरुप बनाइरहेका धेरै कुरामध्ये एक हो जथाभावी टाँगिएका तार ।
जतासुकै लत्रिएका र गुजुल्टिएका तारले हेटौंडालाई कुरुप बनाइरहेको छ । कुरुप मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाइरहेको छ । कथाहरुमा वर्णन गरिएका शिवजीका जटाझैं बेरिएका तारका गुजुल्टाले हेटौंडा ‘तारटौंडा’ बनेको छ ।
मन्दिरका गजुर, बजारमा रहेका अशोकको रुखहरुमा मात्र होइन घरकै भित्ता र झ्यालढोका पनि तारले ढाकिएका वा छेकिएका छन् । रंगरोगन लगाएर चिटिक्क पारिएका घरलाई पनि तारले गिज्याइरहेजस्तो देखिन्छ । कतै टेलिफोनका, त कतै इन्टरनेट र केवल टिभी प्रदायकका तार । माकुराको जालोजस्तै हुँदा पनि यसको व्यवस्थापन गर्न कसैले चासो देखाएको पाइँदैन ।
मानस चोकनजिक घरको छेउमै ट्रान्सफर्मर छ । घरअगाडि फलामे होर्डिगबोर्ड झुण्डाइएको छ । होर्डिङबोर्डलाई छुने अवस्थामा छ ट्रान्सफर्मर । बेलाबेलामा धेरै लोडका कारण पड्किरहने ट्रान्सफर्मर मर्मत गर्न आउँदा पनि त्यसको जोखिमबारे विद्युत् प्राधिकरणका कर्मचारीले बेवास्ता गरेको सजिलै देख्न सकिन्छ । यतिमात्र नभएर, कुरुप तारहरुका संरचनाले प्रदेश–३ को राजधानी आउने मानिस पनि खिन्न छन् ।
यसरी बिजुलीका खम्बा अव्यवस्थित हँुदा र बीच सडकमा तार जडानका कारण दुर्घटनाको जोखिम बढिरहेको देखिन्छ । उपभोक्ताको केको तार कुन हो भनेर ठम्याउनसमेत धौधौ पर्ने गरी तानिएका खुला र गञ्जागोल तारमा अल्झेर चरा त मर्ने गरेका छन् नै, मर्मत गर्न जाने कर्मचारीलाई पनि जोखिम हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडाले चोरीको लाइन कुन हो भनी थाहा पाउने अवस्था नभएको बताएको छ । ‘पोल त हाम्रै हो, तर पनि हामी केही गर्न सक्दैनौं,’ उनीहरु पन्छिए । विद्युत् प्राधिरकण र टेलिकमसँग अनुमति नलिई उनीहरुको पोलमा विभिन्न दुरसञ्चार सेवा प्रदायकले आफ्ना तार र उपकरण झुण्डाउने गरेका छन् ।
शहरी क्षेत्रमा तार अन्डरग्राउन्ड गर्न सकिए अहिले कुरुप भएको शहरको सौन्दर्य प्रवद्र्धधनमा पनि योगदान पुग्नेछ । सँगै अहिले तार जलेर हुने गरेका दुर्घटनामा पनि कमी आउनेछ ।
हेटौंडामा तार व्यवस्थापन काम अपरिहार्य भएको छ । पोलहरुले भारभन्दा बढी तार र दुरसञ्चार उपकरणको भार थेगेर बसेका छन् । जथाभावी तार टाँग्दा दुर्घटनाको जोखिम बढेको छ । टेलिकम र इन्टरनेटका केबल टेलिभिजनका तार पनि समस्याका रुपमा छन् ।
इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवम् सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । २०७१ सालमै सरकारको तार हटाउन गरेको प्रयास असफल भएको थियो । त्यसपछि पनि पटक/पटकको प्रयासमा सेवाप्रदायकले बेवास्ता गरेका छन् ।
एउटा निकायले अर्कोसँग समन्वय नगरी तार तान्ने, भएकै तारलाई पनि व्यवस्थित नगर्ने, तारको अन्डरग्राउन्ड प्रयोग नभएकालगायत कारण हेटौंडाको सौन्दर्य बिग्रिएको छ ।
केबल अपरेटर्स र इन्टरनेट सेवाप्रदायकका आफ्ना पोल छैनन् ।
टेलिकमले एउटै तारबाट ७२ वटासम्मलाई सेवा दिनसक्ने अवस्था छ । कम्पनीसँग सहकार्य गर्ने र नयाँ पूर्वाधार कम्पनीलाई नै तार पनि भूमिगत गर्ने जिम्मा दिए अहिलेको समस्या ५० प्रतिशत समाधान हुने दाबी छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।