रोशन पराजुली, हेटौंडा
पूर्वी मकवानपुरमा रहेको ठूलो परिमाणको युरेनियम खानीतिर बल्ल सरकारी दृष्टि पुग्ने संकेत देखिएको छ ।
सरकारले पारमाणविक पदार्थ तथा प्रविधि नियमन तथा संरक्षण सम्बन्धि ऐन ल्याउने भएकाले अब भने युरेनियन उत्खनन् र बिक्री गरी स्थानीयलाई फाइदा पुग्ने बाटो खुल्ने भएको हो । विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको ऐनको मस्यौदा हाल कानुन मन्त्रालयमा पुगेको छ ।
ऐन आएपछि मकवानपुरमा पारमाणविक पदार्थ खोज, उत्खनन् र प्रयोगको बाटो खुल्नेछ । हालसम्म नेपालमा परमाणविक पदार्थ र प्रविधि सुरक्षा र नियमन गर्ने विशेष कानुन बनेको थिएन । ऐन संसद्ले पारित गरेपछि मकवानपुरमा रहेका अनुमान गरिएका युरेनियम खानीको उत्खनन् गर्ने मार्ग पनि प्रशस्त गर्नेछ ।
बहुमूल्य युरेनियमले प्रभाव पारेको मकवानपुरको बकैया गाउँपालिकामा यसको विपद् ब्यवस्थापनका लागि अन्तत्र्रिmया भएको छ । विश्वको महंगो खनिज पदार्थ युरेनियमको अध्ययन गर्न सम्भावित खानी क्षेत्रमा स्थानीयलाई परेको नकारात्मक प्रभावबारे बल्ल सरकारी ध्यान पुग्ने संकेत देखिएको हो ।
देश÷विदेशका धेरै अनुसन्धानकर्ता त्यहाँ पुग्छन् । आफूले ल्याएको मेसिन प्रयोग गरेर त्यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्छन् । तर, स्थानीयले यो के गरेको हो भन्नेसम्म पनि थाहा पाएका छैनन् । त्यहाँबाट अज्ञात समूहले ढुंगा÷माटो लैजाने अनि फोटो खिँच्ने गरेका छन् । ‘युरेनियमको महत्वपूर्ण भण्डारण छ रे’ भन्ने सुनेका स्थानीयलाई त्यसको प्रभाव वा प्रयोजनका बारे जानकारी छैन । स्थानीयलाई आफू बसेको ठाउँमा कस्तो प्रभावशाली चिज छ भन्ने विषयमा जानकारी नभएको हो ।
गाउँका धेरै मानिस आँखा दुख्ने, शरीर चिलाउने, टाउको दुख्ने समस्याबाट पीडित छन् । केही वर्षयता त्यहाँ आँखा परीक्षण शिविर सञ्चालन हुँदै आएको छ । तापनि, आँखा रोगीको संख्यामा कमी आएको छैन । मकवानपुरको साबिक धियाँलको तीनभंगाले कालोपानीमा युरेनियम भण्डारण रहेको बताइएको छ ।
त्यसको प्रभावले त्यहाँका बासिन्दा लामो समयदेखि चिन्तामा छन् । मकवानपुरको बिकट स्थानमा रहेको युरेनियम भण्डारणबाट निस्केको विकिरणका कारण गाउँमा आँखाका रोगी बढी भएको हुनसक्ने अनुमान लगाउनेबाहेक सरकारी तथा गैरसरकारी निकायबाट कुनै पहल हुन सकेको छैन ।
स्थानीयले थाहा नपाउञ्जेल त्यही कालापानी खहरेको पानी खाएका थिए । पछि त्यो पानी पिउन त के छुनसम्म नहुने जानकारी पाएपछि फापरबारीनजिकबाट पाइपमा ल्याएको पानी स्थानीयले उपभोग गरिरहेका छन् । ऐन आएपछि परमाणविक पदार्थ नियमन र संरक्षणका लागि आफ्ना कार्यक्रम र योजनाहरु बनाउन सकिनेछ । त्यसअनुसार मकवानपुरका विभिन्न भागमा रहेका युरेनियम खानीमा हुने अनुसन्धान पनि नियमको दायरामा आउनेछ ।
ऐन आएपछि बन्ने नियामक निकायले नै मकवानपुरका युरेनियम खानी संरक्षणको योजना बनाउनेछ । यही नियामक निकायले युरेनियम संरक्षण, उत्खनन्, भण्डारण, उपयोग र निर्यातको योजना बनाउनेछ ।
तीनभंगालेमा कम्तिमा ३५ टन युरेनियम
हेटौंडा बजारबाट करिब ४५ किलोमिटर पूर्वतिर रहेको तीनभंगाले गाउँ चुरे क्षेत्र हो । त्यहाँ एक सय मिटरभन्दा अग्ला डाँडा छैनन्, ती पनि ससाना थुम्कोमा सीमित छन् ।
तीनभंगालेमा ड्रिल गर्ने, खाल्डो खन्ने अनि माटो लैजाने कार्य ३० वर्षदेखि अनवरत् चलिरहेको छ । तीनभंगालेको त्यही ठाउँ हो, जहाँ सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक आधिकारिकरुपमा युरेनियम खानी रहेको तथ्य पत्ता लगाएको थियो ।
खानी तथा भूगर्भ विभागको तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियम खानी भण्डार छ, जसलाई उत्खनन् गरी प्रशोधन गर्दा कम्तिमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।
खानी विभागले गामारे स्पेक्ट्रोस्कोपी मिटरको सहायताले तीनभंगाले क्षेत्रमा गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएसमात्र विकिरण प्रभाव देखिन्छ ।
सन् १९९० कै परीक्षणअनुसार तीनभंगाले क्षेत्रमा करिब ५ सय १२ मिटर लम्बाइ र १ देखि ५ मिटर मोटाइमा युरेनियम भण्डार रहेको अन्वेषण गरिएको छ । तीनभंगालेको युरेनियम भण्डार रहेको कालोपानी खोलाछेउको भाग खुला छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।