हिक्मत नेपाली, दैलेख
जिल्लाको दुल्लु नगरपालिका–१० मा ७० घरधुरी मुस्लिम समुदाय बसोबास गर्दैै आएका छन् । समुदायका बालबालिकाहरुका लागि १० वर्षदेखि मदरसा सञ्चालनमा छ । मदरसामा ६४ जना विद्यार्थी अध्ययनरत छन् ।
एकजना शिक्षिकाको भरमा संचालनमा रहेको जिल्लाकै एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेको छ । आधारभूत तहसम्म सञ्चालन गरिएको मदरसा यस अघि पनि शिक्षकलाई तलब खुवाउन नसक्दा तीन महिना बन्द भएको थियो । तीन महिना बन्द भएको मदरसा अभिभावकले चन्दा संकलन गरी सञ्चालन गर्ने सहमति भएपछि पुनः पठनपाठन सुरु गरिएको थियो ।
मुस्लिम समुदायमा सञ्चालित ‘कादरियाओ मदरसा’ लामो समयदेखि चन्दाको भरमा छ । सरकारी निकायको बेवास्ताका कारण मदरसा सञ्चालनमा समस्या भएको समुदायका अभिभावकको गुनासो छ । मुस्लिम समुदायका अगुवा फरमेस मियाँले शिक्षक पाल्न समस्या भएपछि मदरसा बन्द हुने अवस्थामा पुगेको बताए । उनका अनुसार अभिभावकले चन्दा संकलन गरेर मदरसा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
विद्यालयकी शिक्षिका जावारी मियाँले विभिन्न निकायमा मदरसा सञ्चालनका लागि सहयोग माग्दै आए पनि बेवास्ता भइरहेको बताइन् । उनले मदरसामा पठन–पाठन देखि प्रशासनिक, व्यवस्थापन लगायतका सबै काम आफू एक्लैले गर्दै आएको बताइन् । ‘विद्यालयको आर्थिक अवस्था दयनीय छ,’ उनले भनिन, ‘चन्दाबाटै विद्यालयको प्रशासनिक, शैक्षिक सामग्री खर्चमा व्यवस्थापन गर्नुपरेको छ ।’ जिल्ला शिक्षा कार्यालयले एक जनामात्र शिक्षकको व्यवस्था गरेको उनको गुनासो छ ।
अरू शिक्षकको व्यवस्था भए पठनपाठन सहज र व्यवस्थित बन्ने उनको भनाई छ । मुस्लिम संस्कृति र भाषा जोगाउन मदरसा स्थापना गरिएको मुस्लिम अगुवाको भनाई छ । अभिभावक आर्थिक रूपले सक्षम नभएकाले मासिक चन्दा संकलन गर्न समस्या रहेको शिक्षिका खातुनको भनाई छ । आर्थिक अवस्था कमजोर भएकै कारण तह बढाउन नसकिएको उनको भनाई छ । ‘कम्तीमा पनि माध्यमिक तहसम्मको शिक्षा दिलाउन सके यहाँका बालबालिकालाई धेरै राहत हुने थियो,’ उनले भनिन, ‘आर्थिक समस्याका कारण आधारभूत तहको विद्यालय सञ्चालन गर्नै समस्या छ ।’
स्थानीय तह निर्वाचनका बेला अधिकांश उम्मेदवारले सरकारी अनुदानको व्यवस्था गर्ने, शिक्षक दरबन्दी बढाउने, मदरसाको तह वृद्धि गर्ने लगायतका आश्वासन दिएका थिए । ‘जनप्रतिनिधिले वास्ता नगर्दा मदरसा बन्द हुने अवस्थामा पुगेको छ,’ मियाँले भने, ‘अभिभावकले पनि चन्दा संकलन गरी सञ्चालन गर्न सक्ने अवस्था छैन ।’मुस्लिम समुदायको प्रमुख पेसा चुरा बनाउने हो । पुख्र्यौली पेसाबाट पलायन भएका उनीहरूले ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका छन् । अधिकांश अभिभावकको आर्थिक स्थिति नाजुक भएकाले चन्दा दिन पनि नसक्ने अवस्थामा रहेको समुदायका अगुवा बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।