भदौ ८ गते । पटक–पकट मादकपदार्थ सेवन प्रयोग गरी सवारी साधान चलाउने ३४८ जनाको लाइसेन्स निलम्बन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौ पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताउनुभयो ।
महाशाखाले वि.स. २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् ।
महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० मा २२२७२, २०७०/७१ मा ४८६६९, २०७१/७२ मा ३१८२४, २०७२/७३ मा २४१०२ र २०७३/७४ मा १९६२४ जनाको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।
महाशाखाप्रमुख खनालले पछिल्लो समयमा मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा धेरै कमी भएको बताउनुभयो ।