१२ भदौ , झापा – झापाको भद्रपुरमा अवस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेट भित्र भएको करिब १० किलोको अण्डाशयको ट्युमरको सफलतापुर्बक शल्यक्रिया गरिएको छ ।
१८ वर्षीया उनी मेचीनगर–१५ स्थित ज्यामिरगढीमा बसोबास गर्थिन । ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको थियो ।
उनलाई गत शुक्रबार पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइ हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटल पुगेपछि चिकित्सकले पेट असाधारणरुपमा सुन्निएकाले र तत्काल शल्यक्रिया गर्न सुझाव दिए र चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको थियो।
उनको शल्यक्रिया करिब दुई घण्टा लगाएर गरिएको डा शशि सिंहले बताउनुभयो । सिंहका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो । यति ठूलो ट्युमर एकदम कमैमात्रामा हुने चिकित्सकहरूको भनाई थियो । अहिले ती युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।
उपचार सफल भएपछि उनकी आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिनुभएको थियो र आफुहरुको आर्थिक अवस्था कमजोर रहेकाले पनि अवागत गराएकी थिईन ।
रासस