२१ भदौ, भैरहवा ।
भैरहवा भन्सार कार्यालयमा भएको घोटाला काण्डमा मुछिएका कर्मचारी उपर सुरु भएको विभागीय कारवाही प्रक्रिया रोकिएको छ । विभागका महानिर्देशक (डीजी) रामशरण चिमोरिया विदेश (इन्डोनेशिया) भ्रमणमा गएका कारण कारवाही प्रक्रिया रोकिएको विभागका अधिकृत टंक पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । उनले अनलाइनखबरसगँ भने,अहिले डीजी साब विदेश भ्रमण जानुभएको कारण कर्मचारी उपर सुरु भएको कारवाही प्रक्रिया रोकिएको छ र उहाँ आएपछि मात्र कारवाही प्रक्रिया सुरु हुन्छ । हाल रहेका निमित्त डीजीले कारवाही प्रक्रिया अगाडि बढाउन नसक्ने भएको कारण विभागका डीजी (चिमोरिया) नै विदेश भ्रमणबाट आएपछि कारवाही प्रक्रिया सुरु हुने उनले बताए । एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडी र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा २६ किसिमका महंगा सम्रगीहरु फेला परेपछि घटनामा संग्लन देखिएका चार जना भैरहवा भन्सारका भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीको उपर विभागीय कारवाही प्रक्रिया सुरु भएको थियो । यता भन्सार घोटाला घटनाको छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि घटनालाई थामथुम पार्दै छानबिन प्रक्रिया रोकेको छ । अख्तियारको सम्पर्क कार्यालय बुटवलले घटनाको सामन्य छानबिन मात्र गरेर प्रतिवेदन पठाएको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]