काठमाडौं ।
देशभरिका हजारौ खेलाडीले खेलकुदमा भविष्य खोज्दै आफ्नो उर्जाशील जवानीका रगत र पसिना रंगशालाको ट्र्याकमा बगाएका छन् । थोरैले मात्र ती बगेका रगत र पसिनाको प्रतिफल पाएका छन् ।
राष्ट्रिय ध्वजामा अंकित चन्द्र सुर्य झैं धेरै नामहरु उदाए। तर, कतिपय नामधारी उज्यालोमै हराउन बाध्य भए। कतिपय स्वदेशको मायाले नेपालमा नै सुखद दैनिकी बिताउनेहरु छन् पनि। कष्टकर जीवनयापनले लथालिंग हुनेहरु पनि छन्।
विदेशिनुलाई विकल्पको रूपमा रोज्नेहरुको संख्याको त कुरै नगरौं। विदेशिएर परदेशको बसाईमा समेत खेलकुदमा लागेर नेपालको इज्जतलाई उच्च राख्न सफल भएकाहरु बेलाबखत सुन्नमा आउँछन। परदेशको ब्यस्त दैनिकीमा पनि खेलकुदमा मरिमेटेर आय आर्जनका साथै नेपालको इज्जतलाई पनि उँचो राख्ने मध्येका एकजना हुन बक्सर प्रकाश लिम्बु इजम।
पेरिस ओलम्पिक २०२४ का लागि छनोट खेलेका प्रकाशले नेपाली बक्सिंगलाई पुनः एकपटक ओलम्पिकसम्म पु¥याउन भरमग्दुर प्रयास गरे । तर, असफल भए । छनोटको पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शनका बावजुद बोलिभियाली बक्सरसँग अंकको आधारमा पराजित भए उनी । २०२४ को ओलम्पिकमा नपुगे पनि उनी निक्कै सम्भावना भएका बक्सर हुन ।
बुवा लालु लिम्बु र आमा टीका श्रेष्ठ लिम्बुका दोस्रो सन्तान प्रकाश १७ वर्षकै उमेरमा बक्सिंगमा होमिएका थिए। उनी २०७५ सालमा नेपालगन्जमा भएको आठौं बृहत् राष्ट्रीय खेलकुदमा बक्सिङतर्फको ६० किलो तौल समूहका स्वर्ण पदक विजेता समेत हुन। स्वर्ण पदक जित्नेक्रममा उनले आफ्नो प्रेरणास्रोतको रुपमा मान्दै आएका पूर्व अन्तर्राष्ट्रिय बक्सर दिनेश श्रेष्ठलाई क्वाटरफाइनलमा हराएका थिए । जसलाई उनी आफ्नो जीवनको एउटा अविस्मरणीय घटनाको रूपमा सम्झिने गर्दछन् ।
त्यसअघि पनि थुप्रै पटक राष्ट्रियस्तरको प्रतियोगिताअन्तर्गत रिंगमा भिडेका उनले आफ्नो पदक संख्या एक दर्जनभन्दा बढी नघाईसकेका छन्। सानैदेखि पढाईमा रुचि नभएका उनले एसएलसी दिएलगत्तै ब्रिटिश लाहुरे भर्तीका लागि कडा शारारिक ब्यायाम र बक्सिंग प्रशिक्षण सुरु गरेका थिए। तर, दुर्भाग्यवश ब्रिटिश आर्मीमा भर्ती हुन असफल रहे । त्यसपछि बक्सिंग अभ्यास उनको पहिलो प्राथमिकतामा पर्यो ।
जे हुन्छ राम्रोको लागि नै हुन्छ भने झै उनी बक्सिंग खेल्नका लागि नै जन्मेका खेलाडी सावित भए। प्रशिक्षक डम्बरबहादुर लिम्बुको प्रशिक्षणमा पहिलो पटक झापामा बक्सिंग ग्लोभ्स लगाएर खोलाको बगरमा प्रशिक्षण शुरू गरेको दिनमै उनले मनमनै राष्ट्रिय च्याम्पियन बन्ने प्रण गरे। उद्देश्य ठूलो थियो तर, प्रशिक्षणमा भने आवश्यक खेलसामग्रीको अभाव । तैपनि विचलित बनेनन् उनी ।
फलतः प्रशिक्षण गरेको छोटो अवधिमा नै जिल्ला छनोट प्रतियोगिता खेलेर फाइट अनुभव बटुले। त्यसपछि झापाको एक मेलामा चारैतिर गाडिएको डन्डीमा बाँधिएको डोरीबीच बालुवा खन्याइएको भुईंमा तयार पारिएको रिंगमा खेलेर अर्को दुर्लभ अनुभव आफ्नो करियरमा जोडे ।
खेल्नलाई सुविधा सम्पन्न रिंग नपाए पनि विस्तारै निखारिंँदै गए उनी। कुरा सन २०१५ तिरको थियो। पूर्वाञ्चल बक्सिंग प्रतियोगिता खेलेका उनी पराजित भए। खेलको हिस्सा हो हारजित। हारलाई सिक्ने अवसरका रूपमा लिनु खेलाडीका लागि सफलताको खुड्किलो पनि हो। उनले पनि त्यही अनुसरण गरे। किनभने उनलाई हराएका खेलाडी भर्खरै थाइल्याण्डमा अण्डर १९ खेलेर फर्केका सौरभ लामा थिए ।
सौरभ नेपाली बक्सिङका पूर्व च्याम्पियन तथा बरिष्ठ बक्सिंग प्रशिक्षक अनुप लामाका सुपुत्र हुन्। जो सानै उमेरदेखि आफ्ना बुवाको बक्सिंग संस्कारमा हुर्केका थिए । अनि निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भएका प्रकाशका लागि त सौरभसँग पूरै राउन्ड डटेर टिक्नु जितभन्दा कम ठूलो नतिजा थिएन। सबैको तारिफयोग्य बने प्रकाश। प्रशिक्षक अनुप लामाले त स्याबासी दिँदै बक्सिंगलाई निरन्तरता दिन सुझाव नै दिए। यसलाई उनले आफ्नो मन मस्तिष्कमा राखेर अगाडी बढे।
नभन्दै एक वर्षपछि ललितपुरमा भएको राष्ट्रब्यापी खुला राष्ट्रीय बक्सिंग प्रतियोगिता उनले प्रभावशाली प्रदर्शन गर्दै रजत जिते । रजत जित्ने क्रममा उनले तीन जना बक्सरलाई नकआउट गर्दै फाइनल प्रवेश गरेका थिए। तर, फाइनल भने उनको लागि जित्नेभन्दा पनि सिक्ने अवसर बन्यो । किनभने फाइनलमा त्रिभुवन आर्मीका दीपक श्रेष्ठसँग निरीह बनेपछि धेरै कुरा सिक्न बाँकी रहेको उनलाई बोध भयो । उनी आफूलाई तिखार्न अन्य प्रतियोगितामा पनि सहभागी हुँदै गए । अनुभव बटुल्दै गए ।
६ पटकसम्म उपबिजेतामै सिमित भएर फाइनलमा हार्ने खड्गो टार्न नसकेर आजित बनेका उनले २०७५ सालमा उक्त खड्गोलाई पार लगाएरै छाडे । सशस्त्र प्रहरी बलको एपीएफ टोलीमा आबद्ध भएकै वर्ष नेपालगन्जमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुद २०७५ मा उनले करियरको पहिलो स्वर्ण जित्न सफल भए । पहिलो खेलमा १३ सेकेण्डमै नकआउट गरेका उनले क्वाटरफाइनलमा आफ्नो रोल मोडल दिनेश श्रेष्ठलाई पनि हराए ।
त्यसपछि भर्खरै बक्सिंग प्रवेश गरेका १३औं सागका स्वर्णधारी सनिल शाहीलाई पनि पराजित गरे । अनि फाइनलमा त्रिभुवन आर्मीका एकबहादुर घलेलाई पनि हराउँदै स्वर्ण जित्ने सूचीमा आफ्नो नाम दर्ता गरे । उक्त स्वर्णले हौसिएका उनलाई पहिलो पटक अन्तर्राष्ट्रीय प्रतियोगितामा खेल्ने अवसर समेत मिल्यो । गुवाहाटीमा भएको इन्डियन ओपन च्याम्पियनशिपमा खेलेको पहिलो खेलमै पराजित भएपनि बल र बुद्धि दुवै सन्तुलित तरिकाले कसरी प्रयोग गर्नुपर्छ भन्ने ज्ञान आफ्नो प्रतिद्वन्द्वीबाट सिके ।
त्यसपछि १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द शिविर प्रशिक्षणमा परेका उनी एकाएक नेपाली बक्सिंग वृत्तबाट हराए । सागजस्तो प्रतिष्ठित प्रतियोगितालाई तिलाञ्जली दिएर विदेशिनु बाध्यता थियो उनलाई । बुवाको निधनपछि एक्लिएकी आमाको कमाइले धान्दै आएको घर खर्च थेग्न मुश्किल भएपछि विदेशिनु बाहेकको विकल्प देखेनन उनले । घरमा दिदीपछिको जेठो छोरो अनि घर परिवारको जिम्मेवारीभन्दा बक्सिंग महत्वपूर्ण लागेन उनलाई । अनि आफ्नो उदाउँदै गरेको खेल करियरलाई थाँती राख्दै सन २०१९ मा खाडी मुलुक बहराइनलाई कर्मथलो बनाउन बाध्य भए उनी ।
बहराइनमा सुरक्षा सम्बन्धित रोजगारीमा आबद्ध उनलाई प्रवासको बसाईंमा बक्सिंगको सम्झनाले नपिरोल्ने कुरै थिएन । भाग्यमा छ भने जसरी नि पाउँछ भन्ने भनाई झैं भयो उनलाई विदेशको बसाईं । बहराइन बसाइँको छोटो अवधिमा नै उनलाई पुनः बक्सिङ खेल्ने अवसर जुर्यो।
सामाजिक सञ्जालमार्फत एक स्थानीयले बक्सर भन्ने थाहा पाएपछि एउटा जीम हलको उद्घाटनमा उनलाई निम्तो गरे । जुन उनको लागि कोशेढुङ्गा सावित भयो ।
उद्घाटनमा सामान्य प्याडिंग गरेका उनी बहराइन बक्सिंगका एकजना रेफ्री–जज तथा मोरोक्कोका पूर्व विश्व च्याम्पियन किक बक्सर हामिदको नजरमा परे । हामिदले प्रकाशको प्रतिभालाई चिनि हाले । कुरा बहराइन राष्ट्रिय बक्सिंग टिमका प्रमुख प्रशिक्षक टोनी डेभिसका पुगेपछि प्रकाशलाई बोलाइयो । टोनी नेपाली बुझ्ने र हल्का बोल्न जान्ने भएकाले प्रकाशलाई आफ्नोपन महसूस भयो ।
प्रकाशलाई स्पेरिंग गर्नुपर्ने शर्त राखियो । ट्रेनिंग नगरेकै वर्ष दिन बितिसकेका प्रकाशले तुरुन्तै भिड्न शुरू गरे । आफुभन्दा कम तौल देखि हेभीवेट खेलाडीसँग लगातार ११ राउण्डसम्म भिडेर आफुभित्रको लडाकू स्वभावलाई प्रस्तुत गरे । जसबाट प्रभावित प्रशिक्षक डेभिसले प्रकाशलाई बहराइनको राष्ट्रिय बक्सिंग टिममा सामेल गराउन बहराइनका राजा समक्ष कुरा पुर्यायो ।
बहराइनका राजाबाट पनि सकारात्मक निर्देशन आएपछि प्रकाश आबद्ध रोजगार कम्पनीले पनि राजाको स्वीकृतिलाई नमान्ने कुरै थिएन । अनि बक्सिंग नै उनको ‘लर्न एण्ड अर्न’ अर्थात सिक र कमाउ कर्म बन्यो । बक्सिंग प्रशिक्षणमा सामेल भएपछि उनलाई ब्रिटिश आर्मीका पूर्व हेड कोच तथा बहराइन राष्ट्रिय टिमका समेत प्रमुख प्रशिक्षक टोनी डेभिसबाट धेरै कुरा सिक्ने अवसर मिल्यो ।
नेपालमा र विदेशमा प्रशिक्षण खासै भिन्नता महसूस नगरेका प्रकाशले पञ्च हान्ने, गार्ड राख्ने, फुटवर्क र मूभमेन्ट गर्ने तरिकामा मात्र सुधार गर्नुपर्ने महसुस गरे । जसमा खेल भावना र अनुशासन पनि थप्नु पर्ने अर्को कुरा प्रशिक्षकले जोडेका थिए । प्रशिक्षक डेभिसले प्रकाशलाई ११ महीनासम्म प्राविधिक र खेल अनुशासन र अन्य कुरा सिकाउनमा नै बिताए ।
त्यसपछि बहराइनको घरेलु बक्सिङमा प्रकाशले जतिवटा प्रतियोगिता खेले सबैमा जित हासिल गरे। प्रशिक्षण थालेको ११ महिनापछि संयुक्त अधिराज्यबाट ब्रिटिस आर्मीको बक्सिङ टोली बहराइनमा खेल्ने तय भयो । प्रतियोगितामा प्रकाशको नाम पनि सामेल थियो। डेब्यू फाइटमै उनले उँचाईमा आफूभन्दा धेरै अग्ला ब्रिटिश बक्सर स्कट वुडमेनलाई पराजित गर्दै पहिलो अन्तराष्ट्रीय जितको स्वाद चाखे । त्यसपछि २०२२ को सेप्टेम्बरमा बहराइनको घरेलु प्रतियोगितामा स्थानीय खेलाडी सबाह अल दभाडीलाई पनि पराजित गरेपछि उनी उत्कृष्ट बक्सर घोषित भए ।
नेपालमा छँदा एक से एक बक्सरलाई हराएर स्वर्ण पदक जितेर पनि नपाएको उपाधि परदेशमा पाएपछि निक्कै भावुक भएका थिए उनी । त्यसपछि त उनीसँग खेल्न नै नमान्ने वातावरण सिर्जना हुन थाल्यो । २०२३ को फेब्रुअरीतिर भएको घरेलु प्रतियोगितामा प्रकाशसँग टाईसीटमा पर्ने तीन जना बक्सरले वाकओभर नै दिए। अन्ततः प्रतिद्वन्दीविहीन बनेका प्रकाशले आफ्नो तौलभन्दा सात किलो बढी स्थानीय क्लबबाट खेल्ने नाइजेरियाली राष्ट्रीय टिमका एकजना रजत पदकधारी बक्सरको चुनौती समाप्त पारे। जितसँगै उनी फेरि एकपटक उत्कृष्ट बक्सर बने।
त्यही वर्षको जुलाईमा भएको अर्को प्रतियोगितामा ६३ किलो तौलमा खेल्न तयार भएका प्रकाश फेरी एकपटक प्रतिद्वन्दीबिहीन बने। यसपटक पनि प्रकाशसँग टाईसिटमा परेका दुईजनाले नाम फिर्ता लिएपछि उनी प्रतिद्वन्दीविहीन बने। तर, आफूभन्दा आठ केजी अधिक भएका साउदी अरेबियाली बक्सरले दिएको चुनौतीलाई प्रकाशले साम्य पारे ।
त्यसको डेढ महिनापछि सन १९९६ को एट्लान्टा ओलम्पिकका कांस्य विजेता ट्यूनीसियाका स्टार बक्सर फाति मिजाउई नयाँ सहायक कोचका रुपमा बहराइन राष्ट्रिय टिममा भित्रिए। प्रकाशले पनि आफुलाई थप निखार्ने अवसर पायो। फातिको झन्डै एक महिनाको प्रशिक्षणपश्चात युगाण्डाका स्वर्ण विजेता बक्सर मोहमद किंगसँग प्रकाशको भिडन्त तय गरियो । २०२३ को सेप्टेम्बरमा भएको उक्त डोमेस्टिक इन डेल मुन च्याम्पियनशिपमा निक्कै प्रतिस्पर्धात्मक भिडन्तमा आँखामा चोट लाग्नुका बावजूद प्रकाशले जित हासिल गरेपछि फेरि एकपटक उनी उत्कृष्ट बक्सर घोषित भए।
२०२३ कै नोभम्बरमा प्रकाश आबद्ध बहराइनको रोयल गार्ड टिमलाई संयुक्त अधिराज्य (यूके) ले निम्तो गरेको थियो । ब्रिटिश आर्मीको क्याम्पभित्र आयोजना गरिएको उक्त प्रतियोगितामा बहराइन टिमको कप्तान चाहिँ प्रकाशलाई नै बनाइयो। हलिउड स्टारदेखि केहि नाम चलेका सेलिब्रेटीको उपस्थितिमा खेलाइएको उक्त रोयल रम्बल ‘होम एण्ड अवे’ च्याम्पियनशिपमा ब्रिटिश आर्मी बक्सिंग टिमका कप्तान लुई हार्वीसँग निक्कै प्रतिस्पर्धात्मक भिडन्तमा प्रकाश पराजित भए ।
अल यूरोप ओपन च्याम्पियनशिपका पूर्व उपविजेता तथा इंग्ल्याण्डका ६० केजी तौलका वर्तमान च्याम्पियनसँग ३–२ अंकले हार्नु सामान्य नतिजा पक्कै थिएन । त्यसको एक महिनापछि बहराइनमा पनि सोही ब्रिटिश आर्मीको टोली खेल्न आएका थिए । यसपटक भने उनलाई हराउने लुई टिममा थिएन । अनि ६० केजीका प्रकाशलाई ६३ केजीको ब्रिटिश खेलाडी ज्याक मोलिन्ससँग खेल्नुपर्ने प्रस्ताव राखेपनि लडाकू प्रकाशले उक्त चुनौतीलाई सहर्ष स्वीकार गर्दै जित हासिल गरे । त्यसपछि भएको साउदी ईस्टर्न रिजनल टूर्नामेन्टमा पनि ब्राजिलका चर्चित बक्सर मोहमद हमिम, मोरोक्कन बक्सर र फाइनलमा साउदी अरेबियाका बक्सरलाई हराउँदै स्वर्ण पदक चुमे ।
प्रतिभाको सम्मान स्वरुप बहराइनको पासपोर्ट लिने प्रस्ताव आएपनि प्रकाशले त्यसलाई स्वीकारेका छैनन् । बरु आफ्नो जन्मभूमि नेपालको प्रतिनिधित्व गरेर चन्द्रबहादुर थापामगर र महिला खेलाडी अन्जनी तेलीसहित उनी पेरिस ओलम्पिकको लागि छनोट खेल्न थाईल्याण्डमा पुगे । छनोटमा आफूले सक्दो प्रयास गरेर इतिहास रच्ने सपनालाई उनले यसपटक साकार पार्न सकेनन् ।
ओलम्पिक जस्तो ठूलो खेलमा नेपाललाई प्रतिनिधित्व गराउन प्रयास गर्नुपर्छ भनेर नेपालबाट खेल्न प्रेरित गर्ने श्रेय भने उनैको प्रशिक्षकद्वय टोनी र फाति तथा नेपाल बक्सिङ फेडेरेसनका श्यामकाजी अवालेलाई जान्छ । प्रकाशको खेल हेर्न र हौसला बढाउन यी दुवै प्रशिक्षक थाईल्याण्डमा पनि प्रकाशको रिंगको कर्नरमा थिए । अन्तर्राष्ट्रिय बक्सिङ जगतमा वजनदार नाम भएका यी दुवै प्रशिक्षकको यस्तो निःस्वार्थ भावनालाई नेपाली बक्सिङप्रति सम्मानको रुपमा लिईनु पर्दछ ।
जितको सुखद इतिहास पछाडी दर्दनाक दुःख हुन्छ । अनि जितपछि त्यही इतिहास बन्छ । विदेशी भूमिमा नेपालको नाम सूर्यको प्रकाश जस्तै छरिरहँदा अहिले धेरैका लागि प्रेरणादायी बक्सर बनेका छन् प्रकाश । उनको गृहजिल्ला सुनसरी राजावास प्रकाशपुरमा त उनलाई आदर्श मानेर बक्सिंग खेल्नेको संख्या ह्वात्तै बढेको छ । प्रकाशको आफ्नै भाई प्रशाङ्ग लिम्बुले पनि उनैको पथ पछ्याएर कोशी प्रदेशमा आयोजित प्रतियोगितामा तीन स्वर्ण र वीर गणेशमान सिंह राष्ट्रिय बक्सिंग प्रतियोगितामा पनि पदक जितिसकेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।