११ असोज , काठमाडौँ – बडादशैंका नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदै छ।
उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।
आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।
परम्परा अनुसार, गोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ। सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।