![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a4b9e0a4bee0a4a1e0a580-e0a4b0-e0a4b9e0a4bfe0a4aee0a4bee0a4b2e0a580-e0a4ade0a587e0a497e0a495e0a4be-e0a4aee0a4b9e0a4bfe0a4b2.webp)
काठमाडौं ।
नेपालका ग्रामीण तथा हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाहरूमा पाठेघर खस्ने समस्या बढी रहेको तथ्य विभिन्न अध्ययन-अनुसन्धानहरूले देखाएका छन् ।
नेपालको ग्रामीण भेग सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाका महिलाहरुमा यस्तो समस्या बढ्दो रहेकाले विगत ३ बर्ष देखि स्क्रीनिङ गरी आवश्यकता अनुसार उपचारका लागि सहरका अस्पतालमा ल्याउने क्रम बढ्दो रहेको पालिकाका अध्यक्ष भक्तध्वज बोहरा बताएका छन् ।
उन भने–हाम्रो पालिकामा बढी थामी, जिरेल लगायतका जातिको बसोबास रहेको छ । यहाँका महिलाहरुले पाठेघर झर्ने समस्या लुकाउने र आर्थिक अभावका कारण उपचारको पँहुचमा पुग्न नसक्ने समस्या विकराल रुपमा रहेको छ । त्यसैले पालिकाले निःशुल्क स्क्रीनिङ र शल्यक्रियाका लागि विभिन्न अस्पतालसँगको सहयोग लिँदै आएका छौं ।
०७९ सालमा चौतारा अस्पतालसँगको सहकार्यमा स्क्रीनिङ गरि थापाथली स्थित प्रसुतिगृहमा ल्याई ११ जनाको शल्यक्रिया गरायौ । त्यसैगरि ०८० सालमा भक्तपुर अस्पतालमा १७ जना पठाएकोमा १३ जनाको निःशुल्क शल्यक्रिया भयो । ०८१ सालमा बुधबार देखि बनेपाको शिर मेमोरियल अस्पतालमा शल्यक्रिया हुँदैछ ।
शिर मेमोरियलमा १८ जना बिरामी सिफारिस गरिएकोमा १६ जना अस्पताल भर्ना भैसकेका छन् । त्यसमध्ये ४ जनाको बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भैसक्यो भने ५ जनाको विहिवार र ३ जनाको शुक्रवार शल्यत्रिया हुँदैछ अध्यक्ष बोहराले भने ।
शिर मेमोरिय अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जीला बस्नेत भने– पाठेघरको निःशुल्क शल्यक्रियाका लागि अस्पताललाई कोसान प्रोजेक्ट, महिला र महिला फाउण्डेसन नामक संस्था र एडभेन्ट हेल्थ नामक संस्थाले सहयोग गर्दै आएका छन् । देशका विभिन्न क्षेत्रका १ सय भन्दा बढी महिलाका हाल सम्म पाठेघरको शल्यक्रिया गरिसकियो । सिन्धुपाल्चोकबाट आएका बिरामीको एड्भेन्ट हेल्थको सहयोगमा निःशुल्क शल्यक्रिया गर्दैछाैं ।
उने भने– पाठेघर खस्ने समस्याको स्थायी उपचार भनेको अप्रेशन हो । पाठेघर झर्ने डिग्री हुन्छ । समस्याको आधारमा उपचार खर्च कम र बढी लाग्ने हुन्छ । कसैको ५० हजारमा पनि उपचार हुन सक्छ भने कसैको डेढ लाख सम्म पनि लाग्न सक्छ । गम्भीर खालको समस्या जस्तै पाठेघर झर्ने, सिस्ट पलाउँने, पिसाब थैलीनै तल झर्ने, पत्थरी हुने लगायतका समस्या एकै पटक देखियो भने उपचार खर्चिलो हुन्छ । समयमै उपचार नहुँदा पाठेघरमा घाउ हुने,रगत बग्ने सम्म हुन्छ । पाठेघर खस्ने समस्यालाई सामान्य रुपमा लिनुहुन्न । यो जटिल बन्दै जाँदा क्यान्सर सम्म हुन सक्छ ।
डा.बस्नेतका अनुसार बच्चा जन्माउँदा सुरक्षित जन्मिएन या हस्पिटलमा जन्माइएन भने पनि पाठेघर खस्ने हुन्छ । पाठेघर खस्ने विभिन्न कारणहरु मध्ये योनीको सरसफाइ, फिजियोथेरापी, स्थिर गर्ने माङसपेसीको सर्पोट भएन भने, बच्चा जन्मिएपछि साथी निकाल्न धेरै बल गरियो भने, सुत्केरी वेथा लाग्दा पाठेघरको मुख खुला नभइकन धेरै बल गर्यो भने, खोक्दा पेट भित्र धेरै बल परेमा अथवा कब्जिएत भएमा, महिनावारी बन्द भएका महिलामा हर्मोनको कमी भइ माङसपेसीमा असर परेमा पाठेघर खस्न सक्छ । आफ्नो शरिरको क्षमता भन्दा बढी गह्रुगो भारी उठाउँदा विवाहनै नभएका महिलाको पनि पाठेघर झरेको पाईएकोछ ।
पाठेघर झर्नबाट बचाउँन पेल्भिक फ्लोर एक्ससाइज (प्रजनन अंगको ब्यायाम ) गर्नुपर्छ । पाठेघर खस्ने समस्याबाट बच्न पोषणयुक्त खाना खाने । गर्भवती हुदाँ नियमित स्वास्थ्य जांच गराउने र सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्रौ भारी नबोक्ने, बच्चा छिटो छिटो नजन्माउने, धेरै बच्चा नजन्माउने । २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने, २० बर्षको उमेर पुगेपछि मात्र बच्चा जन्माउने , पटक पटक गर्भपतन हुन नदिने जस्ता बिषयमा ध्यान दिनुपर्छ ।
नेपालमा ७९ प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन् । कतिपय महिलाको पाठेघर झरेका कारण श्रीमानले समेत छोडेका घटना थुपै्र रहेको छ । पाठेघर खस्ने समस्याको समयमै उपचार गरे निको हुन्छ समस्या लुकाउँनुहुन्न डा.बस्नेत भन्नुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पाठेघर खस्ने समस्या भएका महिलाहरुको उपचारका लागि सरकारी अस्पतालमा निःशुल्क शिविर, रिङपेसरीङ राख्ने, शल्यक्रिया गर्ने जस्ता उपचार सरकारी अस्पतालमा निःशुल्क गरिदै आएको छ । पाठेघर खस्ने समस्याको रोकथाम र शल्यक्रिया सम्बन्धी कार्यविधि निर्देशिका–२०६५ मा पाठेघर खस्ने समस्याको रोकथाम र उपचार उच्च प्राथमिकता उल्लेख गरिएको छ ।
नीतिमा पाठेघर खस्ने समस्याबाट ग्रसित महिलालाई समाधानको लागि चेतना जगाउने, पाठेघर खस्ने समस्याको पहिचान गरी निदानको विधि निर्धारण गर्ने, आवश्यकतानुसार रोकथाम तथा शल्यक्रियाको विधिबाट समस्या समाधान गर्ने उल्लेख गरिएकोछ । सोही नीतिमा पाठेघर खस्ने समस्याको मुख्य कारक तत्वको रूपमा रहेको प्रसूति सेवामा महिलाको पहुँच, सेवाको उपभोग र महिलाको सशक्तिकरणको माध्यमद्वारा कामको बोझ परिवारले बाँड्दै जाने गरी सेवा, सूचना र पहुँच अभिवृद्धि गर्ने उल्लेख गरिएकोछ । दक्ष÷तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य संस्था वा स्वास्थ्य शिविरमा प्रदान गरिने पाठेघर खस्ने समस्याको रोकथाममूलक तथा शल्यक्रिया सेवालाई सहज बनाउँने उल्लेख गरिएकोछ ।
उक्त नीतिमा शल्यक्रिया सेवा प्रदान गर्नुपर्ने भएमा कम्तिमा मेडिकल अफिसरले सर्जिकल भौचर तयार गरी सिफारिश गर्नुपर्नेछ । सरकारी स्वास्थ्य संस्थाहरूसंग समन्वय गर्नुपर्नेछ । शल्यक्रिया सेवा प्रदान गर्नका लागि सेवाग्राही महिला र अभिभावकका तर्फबाट मञ्जुरीनामा लिनुपर्नेछ भनिएको छ । नेपालको पहाडी, हिमाली भेगका महिलामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या पाइएको त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।