
लामाबगर, दोलखा ।
नेपालबाट चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग (करिब दुई सय ५० किलोमिटर) फलाक– भिटामोड सडकलाई प्राथामिकताका साथ सरकारको सहयोग रहने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले बताउनु भएको छ ।
आईतवार दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ लामाबगरबाट खराने खोल्सी झर्नाको निर्माणधिन सडकको अवलोकन गर्न पुग्नु भएका मन्त्री दहालले रणनीतिक महत्वको फलाक (दोलखाको लामाबगर)– भिटामोड (महोत्तरीको जलेश्वर) सडक निर्माणलाई सरकारले उच्च प्राथामिकतामा राखेर २० करोड रकम विनियोजन गरेको बताउनु भयो ।
निर्माणाधिन सडकको स्थलगत अवलोकनमा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, बागमति प्रदेश सांसद भरतबहादुर केसी, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, विगु गाँउपालिका उपप्रमुख देविका थामी, नेपाली कांंग्रेस दोलखाका सभापति बर्मा लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका अध्यक्ष दिनेश वस्नेत, निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी लगायत पुग्नु भएको थियो ।
नेपाल– चीन– भारत जोड्ने करिब दुई सय ५० किलोमिटरको फलाक– भिटामोड सडकको पक्की र कच्चि गरी करिब दुई सय ४७ किलोमिटर सडक निर्माण भै सकेकोले केही पक्की पुल र दुई किलोमिटर सडक निर्माण भएपछि छोटो मार्गबाट नेपाल– भारत– चीन जोडिने सरोकारवालाहरु को भनाई छ । अहिले भिटामोड– बर्दिवास ४२ किलोमिटर, बर्दिवास– सिन्धुली ३८ किलोमिटर, सिन्धुली– खुर्कोट ३७ किलोमिटर, खुर्कोट– तामाकोशी ४० किलोमिटर, तामोकोशी– चरिकोट १८ किलोमिटर र चरिकोट– सिंगटी ४० किलोमिटर गरी दुई सय १५ किलोमिटर पक्की सडक र सिंगटी– लामाबगर २८ किलोमिटर तथा ११ सय मिटरको सुरुङ मार्ग सहित लामाबगर– खराने खोल्सी झर्ना ५ किलोमिटर गरी ३३ किलोमिटर कच्ची सडक निर्माण भै सकेको छ ।
खराने खोल्सी झर्नाबाट जुमखोलासम्मको करिब १ किलोमिटर सडकको काम एक-ढेड महिनामा सकिने भएकोले बाँकी दुई किलोमिटर सडक निर्माण भए फलाक मेङलुङ नाका जोडिने विगु गाँउपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम्बा तमाङले बताउनु भयो । दोलखा पट्टीको फलाक, मेङलुङ नाकासम्म चीनको तिब्बत पट्टीबाट सडक निर्माण भै सकेकोले दुई किलोमिटर सडक जोडियो भने तिब्बतको रोङसिया बजारसम्म सहजै पुग्न सकिने वडा अध्यक्ष तमाङको भनाई छ । लामाबगर– लप्ची जोड्ने ३२ किलोमिटरमा १८ किलोमिटर कच्ची सडक बनिसकेकोले बाँकी १४ किलोमिटर सडक बन्न बाँकी रहेको वडा अध्यक्ष तमाङ बताउनु हुन्छ ।
लामाबगरबाट जुम खोलासम्मको सात किलोमिटर तथा हुरहुरे भीरबाट थामसिम्बुसम्मको १३ किलोमिटर सडक यो क्षेत्रमा सञ्चालनमा रहेका दुगड ग्रुप, सानीमा ग्रुप र माथिल्लो लप्ची आयोजनाले खनेका हुन् । बाँकी सडक खन्ने र अन्य प्राविधिक सहयोगमा सरकारले प्राथामिकता दिनुपर्ने स्थानीय बताउछन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री पार्वत गुरुङ फलाक– भिटामोड सडक सञ्चालनले दोलखाकोमात्र नभै सिंगो नेपालकै आर्थिक विकासमा टेवा पुग्ने भएकोले बाँकी सडक निर्माण र नाका खोल्ने कुरामा सरकारले प्रथामिकता दिनुपर्ने बताउनु हुन्छ ।
दोलखाका सबै राजनीतिक दलहरुको प्राथामिकतामा रहेको रणनीतिक सडक निर्माण क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको स्थलगत भ्रमणले सरकारको प्राथामिकता रहेको देखिएको पूर्व मन्त्री गुरुङ बताउनु हुन्छ । नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ फलाक– भिटामोड सडक निर्माण तथा सञ्चालनको लागि नेकपा एमाले दोलखाको बैठकले विशेष निर्णय सहित सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित आग्रह गरिएको बताउनु हुन्छ ।
तस्विरः लामाबगर– फलाक निमार्णाधिन सडक र अवलोकनमा भौतिक पूर्वाधार मन्त्री लगायत ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।