उदयपुर ।
उदयपुरका किसानहरुलाई कृषि बाली बिमा गर्ने प्रक्रियाका बारेमा कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिन प्रयास गरे पनि किसानहरुले चासो दिएका छैनन् ।
जिल्ला भित्रका किसानहरुकालागि उत्पादित बाली संरक्षण गर्न तथा लगाएको बालीमा हानी नोक्सानी वा कुनै पनि प्रकारले क्षति भएमा, बाढी पहिरो डुवान भूक्षय जस्ता समस्याबाट जोगिन सरकारले किसानहरुको हितमा ध्यान दिएर कृषि बाली बिमा कार्यक्रम अघि सारेको हो । तर यहाँका किसानहरुले कृषि ज्ञान केन्द्रद्वारा अघि सारिएको यति राम्रो कार्यक्रमप्रति बेवास्ता गरेका छन् ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र प्रसाद यादवले कार्यालयको तर्फबाट कृषिबाली बिमा गर्न किसानहरुलाई पटक पटक अनुरोध गरेको तर किसानहरुले चासो नराखेको बताए ।
उदयपुर मै कृषि क्षेत्र कै पशुपंक्षी गाई भैसीको बिमा हने गरेको र यसमा किसानहरुले पनि चासो दिएकोले यो कार्यक्रम सफल हुँदै गएको तर कृषि बालीमा भने किसानहरुले चासो नदिंदा किसानहरुको उत्पादन गरिएको बाली क्षति भएमा समस्या हुने प्रमुख यादवले बताए ।
उदयपुरस्थित सगरमाथा लुम्बिनी बिमा कम्पनिले कृषि बाली बिमा गर्न अधिकार पाएको तर किसानहले यसमा चासो राखेर सोधी खोजी गर्न र बिमा गर्न नआएको सो बिमा कम्पनिका उदयपुर प्रमुख डिल्ली कटुवालले बताए ।
कटुवालले हाम्रो बिमा कम्पनिको कार्यक्रममा परेको कृषि बाली बिमाका बारेमा जिल्ला भित्रका किसानहरुका बिचमा प्रचारप्रसार गर्ने काम गरेको र यसबाट हुने फाइदाका बारेमा जानकारी दिंदा पनि किसानहरुले चासो नदिएको बताए ।

उदयपुरको तराई भेगमा खासगरी धान मकै गहुँ तोरी रहर, मास, बोडी, भटमास,चना, मस्याम लगायतका बालीहरु लगाउने गरिन्छ । पहाडी भेगमा मकै, कोदो, फापर, बोडी, जरेसिमी, भटमास, मास , गहत लगायतका बालीहरुका साथै तोरी, सस्र्यू , फिलिङ्गे, तिल आदी लगाउने चलन रहेका छ ।
फलफूल खेतीमा पनि प्रवर्द्धन गर्ने गरेको र खासगरी जिल्लाको कटारी, त्रियुगा नगरपालिका तथा रौतामाई, ताप्ली, लिम्चुङ्बुङ गाउँपालिकामा सुन्तला कागती आँप लगायतका फलफूलहरु, केरा तथा तरकारीहरु राम्रो उत्पादन हुने गरेको छ तर किसानले बिमा नगर्दा उत्पादित बाली तथा फलफूलको सुरक्षामा र लगानीमा श्रममा समेत आर्थिक बोझ पर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।
कृषि क्षेत्रमा लागेका किसानहरुकालागि स्थानीय पालिकाको सिफारिसका आधारमा कृषि ज्ञान केन्द्रले आवश्यक सुझाव सल्लाहका साथै प्राविधिक ज्ञान सिप तथा प्रविधि अनुदान सहयोग गर्ने गरेको उनले बताए ।
उदयपुरमा कृषि ज्ञान केन्द्र मार्फत फलफूल खेती विकास तथा प्रवद्र्धनात्मक कायक्रमकालागि कार्यक्रम र बजेट समेत नभएको जानकारी दिँदै प्रमुख यादवले कार्यालयका तर्फबाट प्राविधिक सहयोग, सुझाव तथा सल्लाह दिने काम भने नियमित भइरहेको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।