
काठमाडौं ।
नेपालमा भ्रष्टाचारको प्रवृत्तिमा गम्भीर फेरबदल देखिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरूका अनुसार भ्रष्टाचार अब परम्परागत शैलीमा सीमित छैन । नगद घुस दिने-लिने चलनको ठाउँमा अब जिन्सी सामान, दीर्घकालीन लाभ र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको दुरुपयोग हुँदै गएको पाइएको छ ।
अख्तियारका एक अनुसन्धान अधिकृत भन्छन्– ‘पहिला टेबलमुनिबाट नगद घुस लिने चलन थियो, अहिले त ’स्मार्ट करप्सन’ शुरू भएको छ । अनुसन्धानबाट देखिएको नयाँ ट्रेन्ड भनेको भ्रष्टहरूले सीधा नगद होइन, जिन्सी सामान वा विदेशी लगानीका अवसर रोज्न थालेका छन् ।’
भ्रष्टाचार सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानका अनुसार सरकारी निकायका केही कर्मचारी तथा नीतिनिर्माताहरूले विदेशी कम्पनीबाटै सेयर, लाभांश वा कन्सल्टेन्सी शुल्क लिने, परिवारका सदस्यलाई रोजगारी मिलाइदिने सौदाबाजी गर्ने, महँगो उपकरण, गाडी, घर सजावटको सामग्री उपहारको रूपमा लिएर भ्रष्टाचार गर्ने गरेका छन् । यसै गरी हुण्डी वा क्रिप्टो माध्यमबाट रकम बाहिर पठाउने प्रवृत्ति देखिएको छ ।
चाणक्यले भनेझैँ नदीमा रहेका माछाले पानी खाएको थाहा नभएजस्तै राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक नेतृत्वले गरेको भ्रष्टाचार पनि थाहै नहुने गरी हुने प्रवृत्ति बढेको बताइएको छ ।
माछाले पानी खाएको नदेखिएको जस्तै अहिलेका भ्रष्टाचारकर्ता चिनिनै कठिन बन्दै गएको अख्तियारको मूल्यांकन छ । विशेषगरी अर्थ, भन्सार, राजस्व, ऊर्जा, ठेक्कापट्टीलगायतका क्षेत्रमा यस्तो प्रवृत्ति तीव्र छ ।
सुशासनविद्हरूका अनुसार भ्रष्टाचारको प्रवृत्ति यति जटिल बनिसकेको छ कि कानुनी प्रमाणित गर्ने तरिका पनि अपडेट नगर्ने हो भने, अपराधी झनै शक्तिशाली बन्न सक्छन् । नेपालमा घु्स खाने प्रवृत्ति झनै सूक्ष्म र अन्तर्राष्ट्रिय स्वरूपमा बद्लिएको टिप्पणी गर्दै विज्ञहरू भन्छन्– ‘अब अख्तियारले घुस खानेहरूले फेरेको प्रवृत्तिलाई केन्द्रबिन्दुमा राखेर विशेष रणनीति बनाएर अनुसन्धान गर्नुपर्छ । ’
अख्तियारले भ्रष्टाचार सम्बन्धमा देखिएको नयाँ प्रवृत्ति पत्ता लगाउन नयाँ रणनीति बनाउने र नयाँ जोखिम क्षेत्रहरूको पहिचान गर्ने गरी आवश्यक गृहकार्य गरिएको जनाएको छ ।
नेपालमा भ्रष्टाचार केवल कार्यालयको कागजमै सीमित छैन, अब यो चिन्ताजनक तरिकाले आधुनिक, अन्तर्राष्ट्रिय र रणनीतिक बनेको छ । समयमै यो बदलिँदो प्रवृत्तिलाई नियन्त्रण गर्न नसके, सुशासन केवल नारा मात्रै बन्न सक्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।