
रौतहट ।
चौध बर्ष बितिसक्दा पनि दुर्गा भगवती गाउँपालिका–५ स्थित सर्लाही जोड्ने वाग्मती नदीको बडहर्वा पुल निर्माण हुन सकेको छैन । २०७० जेठ ३० गते भित्र निर्माण सम्पन्न गर्ने गरी ३५ करोड ८९ लाख ९ हजार ४३३ रुपैयाँमा सकार गरेको लुम्बिनी बिल्डर्स र पप्पु कन्स्ट्रक्सनले २०६७ जेठ ३१ गते सम्झौता गरेको थियो।
समयमै निर्माण सम्पन्न गर्नु भन्दा पटक पटक म्याद थप गरेपनि सम्पन्न गर्न नसकेपछि लुम्बिनी बिल्डर्सले एकतर्फी रूपमा काम गर्न नसक्ने भन्दै २०७१ फागुन ९ गते ठेक्का तोडेपछि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले लुम्बिनी बिल्डर्सको ठेक्का रद्द गरी दोस्रो पटक आब्हान गरेको ठेक्कामा महालक्ष्मी, विकास, वाईपी जेभीले २ हजार २४१ मिटर लम्बाइमा नदी नियन्त्रणको कामसहित ५७ करोड ४० लाख ७७ हजार रुपैयाँमा ठेक्का सकार गरेको थियो ।
निर्माण ब्यबसायीले २०८१ कात्तिक १० गते निर्माण सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेपनि कछुवाको गतिमा निर्माण कार्य हुदा २० प्रतिशत मात्रै प्रगति भएको निर्देशनालयले जनाएको छ । रौतहटमा यो उदाहरण मात्र हो यस्ता दर्जनौँ पुल निर्माण हुन नसक्दा पुन जीर्ण हुने अवस्थामा पुगिसकेको छ ।
उता २०७५ असार १९ गते कटहरिया जोड्ने झाझ नदीको पुलको निर्माणको सम्भाmैता एपेक्स रवि जेभीले गरे पनि ७ वर्षको अवधिमा अहिले सम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको सडक डिभिजनले जनाएको छ । पछिल्लो पटक म्याद थपेर असार मसान्तसम्म सक्नुपर्ने सडकले जनाएको छ । यस्तै झाझ नदी मिठुअवा पुलको ठेक्का पाएको दिवा-नियाग्रा-लक्ष्मणरेखा जेभीले २०७८ पुस १२ गते सम्झौता गरेर निर्माण कार्य शुरु गरेको ४ वर्षको अवधिमा ५१ प्रतिशत मात्र प्रगति गरेको छ । २०८० पुस १२ गते सम्म म्याद रहेपनि निर्माण कार्य अधुरो रहेका कारण पुल अलपत्र अवस्थामा रहेको छ । रौतहटको विभिन्न पाच नदिमा पुल निर्माणको जिम्मा लिएको पप्पु- शिवशंकर जेभीको सबैको काम अलपत्र छ ।
पप्पु-शिवशंकर जेभीले चन्द्रपुर–३ स्थित चाँदी नदीको पुलको निर्माण गर्न २५ करोड ३६ लाख २४ हजारमा सकार गरी २०७४ असार ३१ गते सम्झौता गरे पनि २०७६ असार ३१ गते पुल निर्माणको सम्पन्न गर्नु पर्ने म्याद रहेको थियो। तर, ६ वर्षमा पुल निर्माणको प्रगति ७५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सोही जेभीले २०७३ जेठ २६ गते सम्झौता गरेको गुजराखोला, ब्रह्मटोल, कोटिहार पुल निर्माणको ठेक्का ९ वर्षको अवधिमा ६० प्रतिशत प्रगति रहेको छ । सो पुलको काम २०७५ असोज १५ गते सम्पन्न गर्नु पर्ने थियो ।
२०७३ असोज ६ गते सम्झौता गरेको पिपरिया दोस्तिया स्थीत तरहरी खोलाको पुल २०७५ वैशाख २७ गत सम्पन्न गर्नु पर्नेमा हालको प्रगति अबस्था ४५ प्रतिशत रहेको छ । २०७३ मै सम्झौता भएको लौकाहा खोला मल्टिपल पुलको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । निर्माण ब्यबसायी लाई सबै पुलको पटक–पटक म्याद थप्दा सम्पन्न गर्न नसकेर कार्यालयलाई समस्या बनेको डिभिजन प्रमुख अरुणकुमार लालकर्णले बताए । निर्माणमा लाग्नेजति बजेट विनियोजन हुन नसक्दा पनि काम प्रभावित भएको प्रमुख कर्णको भनाइ रहेको छ ।
गौर नगरपालिका–४ टिकुलियाको लालबकैया नदिको पुल २०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनले ०७५ असार २५ गते सम्पन्न गर्ने गरी १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा सकार गरे पनि पुल अलपत्र छाडेपछि विभागले २०८० असोज ९ गते पुल निर्माणको बाँकी काम सक्नेगरी आजाद दिपु जेभीसँग २०८१ चैत १ मा निर्माण सम्पन्न गर्ने गरी २७ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेपनि सरकारले बजेट विनियोजन नगरेको भन्दै खासै काम अघि बढाएको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।