बैशाख२८ । कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम विस्फोट भएको छ । वडा नं ३ का वडाध्यक्ष पदका उम्मेदवार अमृत श्रेष्ठले बोल्दै गर्दा सभास्थलबाट ५० मिटरको दूरीमा विस्फोट भएको प्रहरीले जनाएको छ । ठूलो आवाजमा बम विस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीय भागाभाग भएका थिए । आगोको मुस्लोसहित वरपर धुलाम्मे भएको थियो ।
महेन्द्र राजमार्गमा रहेको त्रिनेत्र बाबा पेट्रोल पम्पदेखि एक सय मिटर पूर्वमा रहेको पीपलको चौतारीमुनि आज साँझ पौने ७ बजे बम विस्फोट भएको हो ।
बम विस्फोटपछि कांग्रेसले सभा स्थगन गरेको थियो । मेयर र उपमेयरका उम्मेदवारले बिहीबार साँझ अन्तिर्म यालीसहित चुनावी सभा गर्दै रहँदा विस्फोट गराइएको हो । सभामा कांग्रेसका उम्मेदवार र जिल्ला तहका वक्ताहरू बोल्ने कार्यक्रम रहेको थियो ।
विस्फोटको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर घेरा हालेको थियो । इलाका प्रहरी कार्यालयबाट डेढ किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा विस्फोट भएको हो । विस्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । सभास्थल वरपर विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।
यस्तै कावासोतीमा मेयर पदका उम्मेदवार महेन्द्र पोखरेलको निजी घरमा आज साँझ मोटरसाइकलमा आएका दुई जनाले बम राखेर भागेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले सुतली बम भएको र निस्तेजका लागि सेनालाई खबर गरिएको जनाएको छ । यसअघि नवलपरासीका तीन वटा नगरपालिका प्रमुखका तीन जना उम्मेदवारको घरमा सकेट बम फेला परेको थियो । माओवादी केन्द्रका तर्फवाट गैडाकोट र कावासोती नगरपालिकाको प्रमुखका उम्मेदवारहरु दुर्गादत्त ढुंगाना र डांसिराम बस्यालको घर बाहिर राखिएको बम सेनाको टोलीले निस्कृय पारेको हो । गैडाकोट नगरपालिका वडा नम्बर ८ स्थित ढुंगानाको घर बाहिर बालुवाको थुप्रोमा राखिएको सकेट बम सेनाको बज्रदल गणको डिस्फोजल टोलीले निस्कृय पारेको हो ।
यस्तै कावासोती नगरपालिका १५ गोछडामा रहेको माओवादी केन्द्रका उम्मेदवार बस्यालको घर बाहिर राखेको सकेट बम भने सदरमुकाम परासीवाट गएको सेनाको टोलीले निस्कृय पारेको हो ।
मध्यबिन्दु नगरपालिकाको प्रमुखका उम्मेदवार भिमलाल अधिकारीको घरमा समेत सुतरी बम फेला परेको प्रहरीले जनाएको छ । घटनाको कसैले जिम्मेवारी लिएको छैन ।