३१ असोज , धनगढी – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।
बयलगाडामा लौका, काँक्रा, फर्सी, आलु र प्याज लगायतका बस्तु बोकेर ग्रामीण क्षेत्रमा घुम्ने व्यापारीले स्थानीय बासिन्दासँग धान वा गहुँसँग यी बस्तु साटासाट गरेर व्यापार गरिरहेका भेटिन्छन् ।
त्यसैगरी, घरमा काम नलाग्ने कवाड (प्लास्टिक तथा धातुजन्य बस्तु)सँग नुन र बदाम साटेर सर्वसाधारणले आफ्नो आवश्यकता पूरा गर्ने गरेका छन् । खसी बोकासँग पित्तल तथा तामाका परम्परागत भाँडा ताउलो, गाग्री, कोसी, काठका ठेकी, कठे, कुरुवा साट्ने चलन ग्रामीण क्षेत्रमा अझै छ ।
बजार टाढा हुनु र चाहिएको बेला नगदको अभाव हुने गरेका कारण बस्तु साटासाट गर्नुपरेको गोदावरी नगरपालिकाका डम्बरलाल ओझा बताउनुहुन्छ । बस्तु साटासाट गर्दा सर्वसाधारण ठगिने गरेका छन् । यस्तो परम्पराले नगद नहुनेलाई आवश्यकपर्ने बस्तु खरिद गर्न केही सहज हुने भए पनि बस्तु साटासाट गर्दा उपभोक्तालाई कम परिमाणको बस्तु दिई व्यापारीले बढी परिमाणको बस्तु साटेर लैजाने गरेको पाइन्छ ।
“दुई भाग आलु बराबर एक भाग धान साटासाट गरिन्छ,” श्रीपुरका मनोज चौधरीले भन्नुभयो— “आवश्यकता पूरा गर्न बस्तु साटासाट गर्नुपरेको छ ।”
गुणस्तर तथा नापतौल क्षत्रीय कार्यालय धनगढीका प्रमुख प्रेमराज कलौनी बजार नभएको ठाउँमा र नाप तौल कार्यालयको पहँुच नपुगेका ठाउँमा बस्तु साटासाट हुने गरेको बताउनुहुन्छ । मूल्य नतोकिन गरिने कारोबार अवैध मानिने कलौनीको भनाइ छ ।
रासस