सङ्खुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ । नदी थुनिएपछि कपासे , भोटखोला गाउँपालिका ४ र ५ नं वडा , तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार , शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको
वस्तीमा क्षति पुग्ने अवस्था छ । बरुण नदी अरुण नदीमा आएर मिसिन्छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहनुभएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ जानुभएको छ ।
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयबाट प्राविधिक टोली हेलिकोप्टरबाट सङ्खुवासभा जाने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो टोलीमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत , भूगर्भविद् , जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि , नेपाली सेनाको प्राविधिक टोली , सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत हुनुहुन्छ । पहिराका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।