०६ मंसिर , काठमाडौँ – किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्रतिशतदेखि अधिकतम एक सय २२ दशमलव २२ प्रतिशतसम्म नाफा लिएर उपभोक्तालाई बिक्री गरेको देखाएको छ । आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले किसानको तरकारी मूल्यमा प्रतिकेजी ४५ रुपैयाँदेखि ५० रुपैयाँ थप गरी व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जानकारी दिए ।
‘परल मूल्यमा किलोमै ५० रुपैयाँ थपेर व्यापारीले उपभोक्तालाई तरकारी बिक्री गरेका कारण तरकारीको मूल्य महँगिएको हो’, निर्देशक श्रेष्ठले भने,‘संकलक, थोक बिक्रेता र खुद्रा बिक्रेतासम्मको तीन तहमा सहभागी व्यापारीले सहजै यो परिमाणमा नाफा लिने गरेका छन् । यसका कारण उपभोक्ताको भान्छा महँगिएको हो ।’
तरकारीको मूल्य अकासिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षण भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा कात्तिक २६ मा बसेको सर्वपक्षीय बैठकबाट बढ्दो तरकारीको मूल्य नियन्त्रण गर्न आपूर्ति विभागलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आपूर्ति विभागले तरकारीको मूल्य शृंखलाबारे अध्ययन गर्न विभागकै निर्देशक निरज पौडेलको संयोजकत्वमा टोली गठन गरेको थियो ।
सस्तिँदै तरकारी
प्रतिकिलो डेढ सयदेखि पौने दुई सय किलोमा तरकारी पाइने उपत्यकामा पछिल्लो दुई दिनदेखि मूल्य घट्न थालेको छ । तरकारीको मागअनुसार पर्याप्त परिमाणमा तरकारी आपूर्ति हुन थालेपछि मूल्य घट्ने क्रम सुरु भएको छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार तराईको चितवन, सर्लाही र नवलपरासी तथा उपत्यका वरिपरिका पाँचखाल, नौबिसे, धादिङ र ललितपुरबाट नयाँ उत्पादन भएको काउली, बन्दा र टमाटर भित्रिन थालेपछि मूल्य घट्न थालेको हो ।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।