०७ मंसिर , काठमाडौँ – संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ ।
बिहीबार महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका सदस्यहरूले एक कार्यक्रमबीच घोषणापत्र सावर्जनिक गर्ने राजपा नेपालले जनाएको छ । आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश २ मा राजपा नेपालका शीर्ष नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेको कारण समयमा घोषणापत्र सार्वजनिक हुन नसकेको पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी गराउनुभयो ।
राजपा नेपालले मङ्सिर १० गते हुने पहिलो चरणको चुनावमा पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ । ती उम्मेदवारहरूले विना घोषणापत्र नै आफ्नो चुनावी प्रचार प्रसार सम्पन्न गरेको छ । अब यो घोषणापत्र सार्वजनिक भए पनि पहिलो चरणमा सहभागी उम्मेदवारहरूले प्रयोग गर्न पाउने छैन । मङ्सिर ८ गतेदेखि मौन अवधि सुरु भएपछि कुनै पनि प्रचारप्रसार गर्न पाइने छैन ।
दोस्रो चरणको मतदान हुने समय १४ दिन बाँकी छ । मङ्सिर १९ गतेदेखि मौन अवधि सुरु भएपछि १२ दिनमात्र सो घोषणापत्र प्रयोगमा ल्याउन सकिन्छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने राजपाका प्रवक्ता कृष्णा सिंहले जानकारी गराउनुभयो ।
सविधान संशोधनलाई मुख्य कार्यसूची बनाएको राजपा नेपालले मधेसको समस्या समाधान नगरेसम्म देश स्थायित्वमा नजाने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । संविधान पूर्ण नभएको राजपा नेपालको निष्कर्ष छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले गठन गरेको वाम गठबन्धनलाई राजपा नेपालले स्वीकार गरेको छैन । गठबन्धनले सरकार निर्माण ग¥यो भने देशमा एकाधिकार लादिने भन्दै त्यस्तो गठबन्धनलाई मतदान नगर्न मतदातालाई आग्रह गरिएको राजपा नेपालका एक नेताले बताउनुभयो ।
वाम गठबन्धनप्रति कडा देखिएका राजपा नेपाल काँग्रेसप्रति भने नरम देखिएको छ । काँग्रेस लोकतान्त्रिक पार्टी हो, यसले लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै पछिल्लो समय सो पार्टीबाट लोकतन्त्र हराइरहेको दाबी गरिएको छ । सो पार्टीले काँग्रेससँग सहकार्य गर्नुपर्ने कुरामा जोड दिएको छ । साथै काँग्रेसलाई अझै जिम्मेवार हुन सुझाव दिइएको छ ।
चुनावमा सहकार्य गरेका उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको बारेमा राजपा नेपालले केही बोलेको छैन । तर, फोरम नेपालले आफ्नो घोषणापत्रमा राजपा नेपाललाई सुधारवादी पार्टीको संज्ञा दिएको छ । चुनावको समयमा आएर ठूला दलहरूले विकासका विभिन्न कार्यसूची प्रस्तुत गर्दै मतदातालाई भ्रममा राखेको आरोप लगाउँदै राजपाले वर्षौंदेखि सत्तामा रहेका दलहरू केही गर्न सकेन तर चुनावको समयमा यो गर्छु, त्यो गर्छु भनी जनतालाई भ्रमित गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
यो खबर आजको गोरखापत्रमा छ ।