२० मंसिर , काठमाडौँ – दोस्रो चरणको मतदानका दिन सुरक्षा घेरा कसिलो बनाउन गृह मन्त्रालयले सुरक्षा रणनीति बदलेको छ। यसअघि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसहितको तीन घेराको सुरक्षा रणनीति अपनाएको गृहले सशस्त्र र सेनाको उपस्थिति मतदान केन्द्र निकट बनाएको हो । ‘भयरहित र सुरक्षित रुपमा मतदान गर्न आवश्यक सबै गृहकार्य र तयारी सकिएको छ,’ गृह प्रवक्ता नारायणप्रसाद शर्माले भने, ‘सुरक्षा अवस्था बलियो छ ।’
पहिलो चरणको मतदानका दिन मतदान केन्द्र र मतदानस्थलभित्र, मतदान केन्द्र परिसर, परिसरबाहिर र मतदान केन्द्रको ३ सयदेखि ५ सय मिटर तोकेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिलो चरणको मतदानको दिन मतदान केन्द्रमै समेत बम पड्किएकाले यसपटक मंगलबार बेलुकादेखि मतदान केन्द्रमा कमान्डरसहित सुरक्षाकर्मी खटाइएको छ ।
निर्वाचन केन्द्रसम्म मतदातालाई सुरक्षित रुपमा ल्याउने जिम्मेवारी पाएको सेनाले स्थलसँगै हवाई गस्तीसमेत गरिरहेको छ । सैनिक प्रवक्ता नैनराज दाहालका अनुसार ८ वटा पृतनामा आठवटा हेलिकप्टर राखिएको छ । आवश्यक परे तत्काल परिचालन गर्नेगरी ३ वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको छ । ‘सम्भावित झडप हुन सक्ने र शंकास्पद गतिविधि हुनसक्ने स्थान हेरेर हेलिकप्टर परिचालनको तयारी गरेका छौं,’ दाहालले भने, ‘हिंसात्मक घटना भएर सुरक्षाको परिस्थिति संवेदनशील भए सैनिक जनशक्ति पठाउनसमेत हेलिकप्टर प्रयोग हुन्छ।’
एकीकृत सुरक्षा योजनामा मतदान केन्द्रभित्र र भित्री परिसरमा प्रहरी र म्यादी प्रहरी, बाहिरको घेरामा प्रहरी, सशस्त्र, म्यादी र त्योभन्दा बाहिरको घेरामा सेना परिचालन गर्ने रणनीति थियो । चुनाव प्रचारका क्रममा उम्मेदवार र आमसभा लक्षित आक्रमणमा उत्रिएको समूहले मतदानको दिन मतदान केन्द्र, मतदान स्थल जाने गांैडा लक्षित गरी विस्फोट गराउन सक्ने आकलन गर्दै मतदानका दिन मतदान केन्द्रको बाहिरी परिसरमा सशस्त्र र सेनाको उपस्थिति बलियो बनाउने भएको छ ।
स्थानीय प्रशासन ऐनमा प्रहरीले बल प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रिया उल्लेख छ जसअनुसार गोली चलाउन आवश्यक परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने उल्लेख छ । सुरक्षा अवस्थाअनुसार कमान्डरको निर्देशनमा सुरक्षाकर्मीले हतियार प्रयोग गर्न सक्छन् । मतदानअगाडिको सुरक्षा अवस्थाको मूल्यांकन गर्दै गृहले हतियार प्रयोग गर्ने कमान्डरसमेत तोकेको छ । स्रोतका अनुसार गृहले मतदाता, मतदानमा खटिएका कर्मचारी, मतपत्र र मतपेटिकाको सुरक्षा जोखिम बढेको अवस्थामा सुरक्षाकर्मीले गोली चलाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै सुरक्षा निकाय, क्षेत्रीय र जिल्ला तहका सुरक्षा समितिलाई आवश्यकअनुसार बल प्रयोग गर्न निर्देशन दिएको थियो । सुरक्षा स्रोतका अनुसार मतदान केन्द्र र स्थलको सुरक्षामा सुरक्षा जोखिमकाआधारमा न्यूनतम ८ जनादेखि २६ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रभित्रको सुरक्षा कमान्डको नेतृत्व सई र असईले गर्नेछन् ।
मतदान केन्द्रभित्रका कमान्डर पेस्तोलसहित खटिएका हुनेछन् भने प्रहरी जवान र प्रहरी हबल्दार पनि हतियारसहितका हुनेछन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका लागि ३ वटा मतपत्र प्रयोग गर्दैछ । तीन मतपत्र खसाल्न एक मतदान केन्द्र र स्थलमा ३ वटा मतपेटिका प्रयोग हुनेछ ।
मतपेटिका सुरक्षाका लागि प्रत्येक मतपेटिका नजिकै ठूलो हतियारसहितको प्रहरी खटिनेछन् । मतदान केन्द्र र स्थलमा प्रवेशद्वारमा ठूलो हतियारसहित प्रहरी र सशस्त्र परिचालित हुनेछन् । मतदान केन्द्र र स्थलको चार कुनाको सुरक्षामा म्यादीसहित प्रहरी र सशस्त्र खटिनेछन् भने भित्री लाइन मिलाउन म्यादी प्रहरी खटिनेछन् ।
मतदान केन्द्र र स्थलको बाहिरी घेरामा प्रहरी निरीक्षकको कमान्डमा ‘सपोर्ट’ टोली खटिँदैछन् । ‘सपोर्ट’ टोलीमा म्यादी प्रहरी रहने छैनन् । मतदान केन्द्रको बाहिरी घेरामा खटिने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले एक निर्वाचन क्षेत्रमा एक डिएसपीको कमान्डमा टोली परिचालन गरेको छ । सो टोलीमा ३ जना सशस्त्र प्रहरी रहनेछन्। नेपाल प्रहरीले पनि एक डिएसपीको कमान्डमा ७ जनाको टोली परिचालन गरेको छ । एक निर्वाचन क्षेत्रमा २४ प्रहरी निरीक्षक टोलीसहित खटिएका छन् ।
मतदान केन्द्र र स्थल जाने मुख्य गांैडामा सुरक्षा जोखिमका आधारमा सेना र सशस्त्र प्रहरी परिचालन भइसकेका छन् । पैदल गस्ती, सवारी गस्तीको जिम्मेवारी पाएको सेनाले सुरक्षा जोखिमको मूल्यांकन गरी हवाई गस्तीसमेत गर्ने तयारी गरेको जानकार स्रोतले बतायो ।
यो खबर आजको नागरिक दैनिकमा छ ।