२४ मंसिर , बाबियाचौर – मुस्ताङको थासा गाउँपालिका– १ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
हिउँदयाम सुरुवातसँगै नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा १३।६ मेगावाट विद्युत् थपिएको हो ।
माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको १३।६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदिप खड्काले बताउनुभयो ।
म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सव स्टेशनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ ।
उक्त आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । पाँच वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ रहेको छ । फोरवेबाट ७५० मिटर पाइपमार्फत पानीलाई टर्वाइनमा खसालिएको छ ।
बेनी–जोमसोम सडकको टुकुचे खण्डभन्दा करिब पाँचसय मिटरभित्र आयोजनाको विद्युत् गृह छ । आयोजना निर्माणस्थल विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिनुभयो ।
भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निस्काशन गर्ने जनाएको छ ।
शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटससँग सम्झौता गरेको छ । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिएकाले म्याग्दीमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
मिलनचोक सव स्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या अब समाधान भएको बताइएको छ ।
बेनी–जोमसोम–कोरला सडक दुई लेन
सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरला नाका जोड्ने सडक दुई लेनको बन्ने भएको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत व्यापारिक र पर्यटकीय महत्वको बेनी–जोमसोम–कोरला सडकलाई स्तरवृद्धि गरी दुई लेनको बनाउन आयोजना शुरु भएको छ ।
बेनी जोमसोम कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी कालोपत्र र जोमसोमदेखि कोरलासम्मको ११० किमी सडक स्तरवृद्धिको काम तीव्र रुपमा अगाडी बढाएको छ ।
बेनी–जोमसोम चारवटा र जोमसोम–कोरलाखण्डलाई सातखण्डमा विभाजन गरेर स्तरवृद्धिको काम गरिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । बेनी–जोमसोम सडक स्तरवृद्धिका लागि चारवटा प्याकेजमा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ ।
जोमसोमदेखि कोरलाखण्डको ११० किमी दूरीको सडक स्तरवृद्धिको कामको हालसम्म ४० प्रतिशतभन्दा बढी प्रगति भएको छ । विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट कालोपत्रका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजलाई विस्थापित गरेर पक्की पुल निर्माण गरिने भएको छ ।
बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोमखण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको छ । घाँसा–जोमसोमखण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु÷तामाङ÷कोशी÷न्यौपाने जेभीले लिएको छ ।
चारवटै प्याकेजमा प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने काम तीव्र बनाएको आयोजनाका इन्जिनियर प्रदीप निरौलाले बताउनुभयो । उहाँका अनुसार बेनी–घाँसाखण्डमा डिबिएसडी र घाँसा जोमसोमखण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ ।
नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिने इञ्जिनियर निरौलाले बताउनुभयो । सो सडकलाई प्रदेश नं ४ को ‘भाग्यरेखा’ मानिएको छ ।
सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताउनुभयो ।
कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।
रासस