०६ माघ , काठमाडौँ – प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसक्यो । तर, अझैँ पनि नयाँ सरकार गठन हुने शुभसंकेत देखापर्न सकेको छैन । दसैँको छेका पारेर पार्टी एकतासम्म पुग्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका दुई वामपन्थी दलहरुबीचको एकता प्रकृयाले अपेक्षाकृत गति लिन नसक्दा थप संशय पैदा गरेको छ ।
दुस्मनी साँधेर पौँठोजोरी खेलिरहेका एमाले–माओवादी एक हुने उद्घोषले दुनियाँभर ठूलै तरंग पैदा गर्यो । दुई दल एउटै कम्युनिष्ट पार्टी बनाउने सुनौलो नारा बोकेर चुनावमा होमिए । साझा चुनावी घोषणा–पत्र बनाए र ६०र४० को चुनावी तालमेल गरे । जनताले सो प्रस्तावलाई सहर्ष स्विकार मात्रै गरेनन् प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भारी सिटका साथ अनुमोदित पनि गर्दिए ।
हलो कहाँ अड्कियो ?
एमाले–माओवादी चुनावी तालमेलसँगै एउटै पार्टी निर्माण गर्ने विषयको खुलासा राजधानीको राष्ट्रिय सभागृहबाट गत १७ असोजमा ओली–प्रचण्डले हात मिलाएर गरेका थिए । दुवै दल चुनावअघि पार्टी एकता गर्न समय अपूग भएकोभन्दै निर्वाचन लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोषसहित निर्वाचनमा होमिए । तर, निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टी एकताले मूर्तरुप लिन सकेको छैन ।
पार्टी एकताबारे गाँठो कहाँ परेको हो रु वाम नेताहरूलाई यो प्रश्न गर्दा पदीय भागवण्डामा गाँठो परेको सहजै उत्तर दिन्छन् । चुनावी तालमेलका बेला ६०र४० को भागवण्डा गरिए पनि अहिले पार्टी एकतामा बराबरको हिस्सा माओवादीले मागेपछि एउटा गाँठो त्यहीँ अड्किएको एमालेका एक नेताको भनाइ छ ।
माओवादी नेताहरु भने लामो समयदेखि संसदीय अभ्यासमा पोख्त रहेको एमाले र सशस्त्र संघर्षबाट आएको माओवादी नेताहरुको संख्या बराबर बनाउँदा राम्रो हुने तर्क गर्छन् । तर, कुरा यतिमै मात्र अड्किएको छैन । शीर्ष नेताको जिम्मेवारीकै विषयले हलो अड्काएको भन्ने नेताहरु दुवैतिर धेरै छन् ।
अहिले माओवादीले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गरिसकेको छ । तर, एमाले नेताहरूले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष स्वीकारिसकेका छैनन् ।
एकथरि एमाले नेताहरू ओलीपछिको नेता बन्न प्रचण्ड तयार भए तत्कालै एकता गर्न सकिने अभिव्यक्ति दिन्छन् । त्यसो नभए एकता प्रक्रिया लम्बिने उनीहरूको भनाइ छ । यता, पार्टी एकता संयोजन समितिमा एमालेसमक्ष माओवादीले एकताका लागि तीन विकल्प अघि सारेर छलफल चलाइरहेको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।