बैंकले पैसा नदिँदा भूकम्प पीडित मारमा
दीपक भट्ट/नयाँ पत्रिका रामेछाप, २६ चैत | ०५ घन्टा अगाडि
भूकम्प लाभग्राहीको सुचीमा परेका पीडितलाई अनुदानको रकम लिन बैंकमा जाँदा बैंकका कर्मचारीहरुले केही दिनपछि आउनु भन्दै झुलाएपछि रामेछापका भुकम्प पीडित आक्रोसित बनेका छन् । पीडितले पाउने अनुदान रकम एक महिनाअघि नै कोष तथा लेखा नियन्त्रक मार्फत बैंकमा जम्मा गरेको भएपनि बैंक पुगेका पीडितहरुलाई एनसिसि बैंकका कर्मचारीहरुले पछि आउनु भन्दै फर्काएपछि पीडितहरु मारमा परेको मन्थली नगरपालिका वडा ८ का उद्धव रम्तेलले बताए । उनले भने– ‘पीडितको नाममा अनुदान रकम राज्यले समयमा नै पठाएको भएपनि बैंकका कर्मचारीहरुले विभिन्न बहाना बनाएर रकम रोके ।’
अनुदान रकम लिने लाभग्राहीहरुले पहिलो किस्ता लगेर घरको जग हालिसकेर दोस्रो / तेस्रो किस्ता रकम लिन आउँदा सदरमुकाम मन्थलीमा रहेको एनसिसि बैंक, सेन्चुरी बैंक, टुरिजम बैंक लगाएतका प्राइभेट बैंकहरुले पीडितको रकम दिन ढिलासुस्ती गरेका हुन् । जिल्ला समन्वय समितिले दुई महिना अघि नै पीडितको रकम बैंकहरुमा जम्मा गरिदिएको भएपनि बैंकका कर्मचारीहरुले विभिन्न बहाना झिकेर सेवाग्राहीहरुलाई दुःख दिने काम गरेको साविक भुजी गाविसका हिक्मत सुनुवारले बताए । उनले तीन दिनदेखि रकम लिन सदरमुकामका होटलमा बास बस्दा समेत रकम पाउन नसकेको दुःखेसो गरे । भूकम्पको रकम लिन श्रीमतीसहित सदरमुकाम मन्थली झरेका सुनुवारलाई मन्थलीमा रहेको एनसिसी बैंकले पैसा नै आएको छैन् भन्दै तीन दिनसम्म कुराएर चौथाेँ दिन रकम भुक्तानी दिएको दुःखेसो उनले पोखे ।
पीडितको नाममा बैंकमा समयमा नै रकम निकासा गरेको भएता पनि बैंकहरुले पैसा नभएको र माथिको आदेश नआएको भन्दै रकम दिन आनाकानी गरेका छन् । सदरमुकाममा रहेका वाणिज्य बैंक, कृषि विकास बैंकले सरासर भुकम्प पीडितको नाममा आएको रकम वितरण गरेको भएपनि अन्य प्राइभेट बैंकले नागरिकलाई समयमा पैसा नदिँदा पुनर्निर्माणमा समस्या उत्पन्न भएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिए ।
उनले भने– ‘भूकम्प गएको तीन वर्ष लाग्न थालिसक्यो । बल्ल सरकारले पीडितको नाममा पैसा पठाएको छ ।’ त्यहीँ पैसा पनि यो वा ऊ वहानावाजी गर्दै बैंकहरुले रकम नदिँदा यस वर्षको वर्षातमा पनि नागरिकहरु घर भित्र पस्न पाउँछन् वा पाउँदैनन् चिन्ताको बिषय भएको सुनुवारले बताए ।
जिल्ला सदरमुकाम मन्थलीमा मात्रै एकदर्जन भन्दा बढी बैंकहरु रहेको भएपनि भुकम्प पीडितको अनुदान रकम ९ वटा बैंकहरुले वितरण गर्दै आएका छन् । जसमध्ये कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमवि बैंक, सेन्चुरी बैंक, एनसिसी बैंक, टुरिजम डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोवल आइएमई बैंकहरुले गरी रामेछापका ४७ हजार १ सय ८९ घर परिवारको रकम वितरण गर्नु पर्ने रहेको छ ।
यता समयमा भूकम्प पीडितको रकम नदिएको सम्बन्धमा एनसिसि बैंकका प्रबन्धक पुण्यप्रसाद दाहाल सँग सम्पर्क गर्दा उनले सुरुमा पीडितलाई रकम दिन केही प्राविधिक समस्या भएपनि पछि भने दिइनै रहेको बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।