६ वर्षसम्म बनेन प्राथमिक स्वास्थ्य केन्द्र भवन, ओपीडि कक्षमै ड्रेसिङ सेवा
विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका बाँके, २६ चैत | ०५ घन्टा अगाडि
नजिकै प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुँदैछ । तर, नरैनापुर गाउँपालिकास्थित लक्ष्मण प्राथमिक स्वास्थ्य केन्द्रले भाडाको भवनमा बसेर स्वास्थ्य सेवा दिँदै आएको छ । अत्याधुनिक सेवा संचालन गर्न मिल्ने गरि निर्माणाधिन भवन ६ वर्षसम्म पूरा नभएपछि आशैआशामा दिन बितेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइनुद्दिन खानले बताए ।
सेवा प्रभावकारी बनाउन सहरी विकास तथा भवन डिभिजन कार्यालयले आवाससहितको तीन तले भवन निर्माण गर्न ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । ‘यस वर्ष आफ्नै भवनमा सरौँला, अर्को वर्ष सरौँला भन्दै ६ वर्ष बित्यो, तर निर्माण पूरा भएन,’ उनले भने । केन्द्रले दश कोठे भवन भाडामा लिएर सेवा दिँदै आएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका विशेषज्ञ चिकित्सकले सेवा दिन थाले पनि भवन अभावमा प्रभावकारी सेवा दिन नसकेको उनले गुनासो गरे ।
भवन निर्माणको ६ वर्ष बित्दा समेत निर्माण पूरा नभएपछि अभावका बीच नै काम चलाउँदै आएको स्वास्थ्य संयोजक खानले बताए । उनले भवन निर्माण पूरा नभएका कारण विगत पाँच वर्षदेखि भाडाको भवनबाट सेवा दिँदै आएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रले मासिक नौ हजार रुपैयाँ घर बहाल कर तिर्दै आएको छ । ‘आफ्नो भवन भएको भए बहाल तिर्न पर्दैनथ्यो,’ उनले भने ।
ओपिडी र ड्रेसिङ एउटै कोठामा संचालन
भाडाको भवनमा कोठा अभाव भएपछि चिकित्सकले विरामी जाँच्ने (ओपिडी) र ड्रेसिङ एउटै कोठाबाट भइरहेको उनले बताए । उनले भाडामा भवन लिन चाहे पनि भवन नपाइएको बताए ।
‘निर्माण कम्पनीको लापरवाहीका कारण भवन निर्माण पूरा नहुँदा स्वास्थ्यकर्मी र चिकित्सक एउटै कोठमा बसेर जसोतसो काम चलाई रहेका छौँ, विरामीको चाप बढि भएको बेला जाँच गर्न समस्या हुन्छ,’ उनले भने । उनले आफ्नै भवनबाट सेवा दिन पाएको भए सेवा प्रभावकारी हुने बताए ।
बर्थिङ सेवा समेत प्रभावित
बर्थिङ सेन्टर पनि भाडाको भवनबाट संचालन भइरहेको बताए । उनले कोठा अभावमा बर्थिङ सेन्टर संचालनमा समेत समस्या हुने गरेको बताए । सुत्केरी र गर्भवती महिलालाई राख्न ठाउँ अपुग हुने गरेको बताउँदै उनले विरामी भर्ना गरेर उपचार सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्रको कार्य क्षेत्र भए पनि सेवा दिन नसकिएको बताए ।
बर्थिङ सेन्टरमा काम गर्ने महिला कर्मचारीलाई बस्न समस्या भएको बताउँदै उनले महिलाका लागि शौचालय समेत नभएको बताए । उनले दुईजना इमरजेन्सी विरामी भर्ना गर्नुपर्ने सरकारी नीति भएपनि अहिलेसम्म इमरजेन्सी विरामी भर्ना गर्न नसकिएको स्पष्ट पारे । ‘ल्याव, विरामी जाँच सेवा लगायत आधारभूत सेवा समेत दिन सकिएको छैन नै महिला कर्मचारीलाई शौच गर्न समेत समस्या हुने गरेको छ,’ उनले भने ।
पटक पटक ताकेता, तर निर्माण पूरा भएन
प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि कम्पनीले दुई वर्षभित्र निर्माण सक्नेगरि ३ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कम्पनीले तोकेको समयमा निर्माण पूरा गर्न नसकेपछि पटक–पटक ताकेता गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । निर्माण सम्पन्न गर्न गत मंसिरमा सुरुची जागृति जेभी निर्माण कम्पनीलाई पछिल्लो पटक ताकेता गरेको डिभिजन कार्यालयका प्रमुख सुनिल कुमार ठाकुरले बताए ।
उनले समयमा निर्माण सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई हर्जाना समेत लगाएको बताए । कार्यालयले ०७४ जेठ ३० गतेसम्म अन्तिम म्याद थप गरेको थियो । ६ वर्षको अवधिमा ७५ प्रतिशत काम सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ ।
समाचार प्रकाशन पछि चिकित्सकको व्यवस्था
यही चैत १९ गते दरबन्दीका चिकित्सक नजाँदा विरामी उपचारबाट बन्चित भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले एमविविएस डाक्टर लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ ।
चिकित्सक नगएपछि सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित नरैनापुर गाउँपालिकाका सर्वसाधारण आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएको समाचार प्रकाशित भएपछि एमविविएस डाक्टर पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।