प्रदेश नम्बर ५ को कुल सडक १० हजार ८४० किलोमिटर छ । जसमा रणनीतिक सडक २२८७ र स्थानीय सडक ८ हजार पाँच सय ५३ किमि छ । यस्ता सडकमा कालोपत्रे, ग्राभेल र माटे सडक छन् । जसमा कालोपत्रे १७५२, ग्राभेल ३०१८ र माटे सडक ३०१८ किलोमिटर छ । कालोपत्रे र ग्राभेल गरिएका सडकमा वर्षभरिजसो गाडी गुडाउन सकिन्छ । तर, माटे सडक प्रायः हिउँदमा मात्र गाडी गुडाउन मिल्ने छन् ।
जिल्लागत रूपमा नवलपरासीमा १८५३, रुपन्देहीमा ९५०, कपिलवस्तुमा ११७७, अर्घाखाँचीमा ७७५, प्युठानमा ५९४, रोल्पामा ७५४, रुकुमा ७५२, पाल्पामा १५४५ र गुल्मीमा १३४८ किलोमिटर सडक छ । दाङमा १२२५, बाँकेमा ८७२ र बर्दियामा ८४३ किलोमिटर सडक छ ।
यसरी जिल्लागत रूपमा हेर्दा सबैभन्दा कम सडक रुकुममा देखिन्छ । किनकि पूरै रुकुममा ७५२ किलोमिटर सडक छ । तर, रुकुम प्रदेश ५ र ६ बाँडिँदा यो प्रदेशमा जिल्लागत रूपमा सबैभन्दा कम सडक देखिन्छ । सबैभन्दा बढी सडक नवलपरासीमा पर्छ । तर, नवलपरासी जिल्ला प्रादेशिक संरचनामा टुक्रिएको छ । दाउन्ने बर्दघाट पश्चिमको सडक मात्रै प्रदेश नम्बर ५ मा पर्छ । दुवैमा आधा सडक पर्ने हो भने प्रदेश ५ मा दाङ सबैभन्दा बढी सडक हुने जिल्लामा पर्छ ।
सबैभन्दा बढी अर्थात् ३६६ किलोमिटर रणनीतिक सडक दाङमा पर्छ । सबैभन्दा कम रुकुममा १५८ किमि पर्छ । तर, बाँडिएको रुकुममा यो संख्या अझै कम छ ।
विद्युत् उत्पादन र अवस्था
प्रदेशको राजधानी रहेको जिल्ला रुपन्देहीमा ३ मेगावाट बिजुली उत्पादन भएको छ । तर, धेरै उद्योग भएको हुनाले यो जिल्लामा १४० मेगावाटको माग छ । भैरहवाको औद्योगिक क्षेत्रमा तीन घन्टा लोडसेडिङ छ । तर, अन्यत्र घोषित छैन । नवलपरासी र कपिलवस्तुमा लोडसेडिङ छैन । पाल्पामा पानी पर्ने मौसममा ७५० किलोवाट र हिउँदमा २०० किलोवाट बिजुली उत्पादन हुन्छ । लोडसेडिङ घोषित छैन, तर अघोषित लोडसेडिङले स्थानीय मारमा छन् ।
गुल्मीको रिडीमा २.४ मेगावाट र ५ मेगावाटको हुग्दी हाइड्रो पावर सञ्चालन छ । घोषित लोडसेडिङ छैन ।
अर्घाखाँची र प्युठानको सिमानामा तीन दशकदेखि २४५ मेगावाटको नौमुरे आयोजना निकै चर्चामा छ तर सुरुवात भएको छैन । दाङ, बाँके, बर्दियामा कतै लो भोल्टेजको समस्या छ भने कतै अघोषित लोडसेडिङ हुन्छ । चुनावका वेला निकै जोडतोडका साथ आयोजनाका विषयलाई नेताहरूले उठाउँछन् । तर, प्रभावकारी रूपमा अगाडि बढाउने तदारुकता अहिलेसम्म देखाइएको छैन । ठेक्काको लडाइ“ले यो आयोजना अगाडि बढ्न सकेको छैन ।
प्युठानमा १२.३ मेगावाटको झिमरुक आयोजना छ, तर उत्पादन १० मेगावाट मात्र भए पनि यो जिल्लामा लोडसेडिङ छैन । रुकुम लघु आयोजनाका लागि प्रसिद्ध छ । जिल्ला उज्यालो पार्ने यी आयोजना नमुनाकै रूपमा छन् । ठूला आयोजनाको पर्खाइ छ । रोल्पामा पनि लघु र सौर्य ऊर्जाबाट उज्यालो बनाउन खोजिएको छ । जिल्लामा लोडसेडिङ छैन ।
साक्षरतामा प्रदेश
पछिल्लो जनगणना ०६८ अनुसार प्रदेश ५ को समग्र साक्षरता प्रतिशत ६६ छ । जसमा पुरुषको साक्षरता प्रतिशत ७५.५० र महिलाको ५८.३३ प्रतिशत छ । जुन सबैभन्दा बढी साक्षरता प्रतिशत ७४/७४ भएका प्रदेश ३ र ४ को भन्दा ८ प्रतिशतले कमी हो । यो प्रदेशमा पढ्न र लेख्न नसक्ने मानिसको संख्या १२ लाख ५८ हजार पाँच सय ९ छ । प्रदेश ५ मा पाँच वर्षमुनिका बालकको संख्या १९ लाख आठ हजार ६ सय ५ छ भने पाँच वर्षमुनिका बालिकाको संख्या २१ लाख ३९ हजार ९५५ छ । साक्षरमध्ये ९७ हजार सात सय ३० जना पढ्न सक्छन् तर लेख्न सक्दैनन् ।
१३ लाख आन्तरिक पर्यटक
प्रदेश ५ गौतम बुद्धको भूमि पनि भएकाले आन्तरिक र बाह्य पर्यटनका हिसाबले असाध्यै सम्भावना बोकेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको तिलौराकोट, मावली गाउँ देवदह, बुद्धको अस्तुधातु उत्खनन हुन बाँकी रामग्राहसहितका प्रसिद्ध क्षेत्र रहेकाले पनि लुम्बिनी आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रूपमा परिचित छ । बुद्ध धर्मावलम्बी मात्र होइन, लाखौँ हिन्दु, मुस्लिम, इसाइ धर्म मान्नेहरू पनि एकपटक लुम्बिनी पुग्न चाहन्छन् । लुम्बिनीमा गत वर्ष एक लाख ४५ हजार विदेशी पासपोर्टधारी पर्यटक घुम्न आएका थिए । एक लाख ५५ हजार भारतीय र १३ लाखमाथि आन्तरिक पर्यटकले गत वर्ष लुम्बिनीको भ्रमण गरेका छन् ।
अन्य पर्यटकीय क्षेत्र
प्रदेश ५ को पाल्पा ढाका र करुवाका लागि मात्र प्रसिद्ध छैन, तानसेन, रानीमहल, श्रीनगरजस्ता पर्यटकीय सुन्दर ठाउँ पनि यहाँ छन् । अर्घाखाँचीमा प्रसिद्ध सुपा देउराली, अर्घा भगवतीको मन्दिरदेखि ऐतिहासिक पौवा, साततले गुफा, पाणिनि तपोभूमिसहितका प्रसिद्ध पर्यटकीय स्थल छन् ।
गुल्मीको रेसुंगा तराई देखिने ठाउँ मात्र नभएर हजारौँले दर्शन गर्ने र मेला भर्ने ठाउँ हो । पाल्पा, स्याङ्जा र गुल्मीको संगम रहेको रिडी क्षेत्र पनि अर्को प्रसिद्ध ठाउँ हो ।
नवलपरासीको त्रिवेणीधाम, प्युठानको स्वर्गद्वारी, बाँकेको वागेश्वरी मन्दिर, बाँके र बर्दियाको राष्ट्रिय निकुञ्ज, द्वन्द्वकालीन विषयसँग सम्बन्धित रोल्पा र रुकुमका ठाउँहरू पनि पर्यटकीय केन्द्रका रूपमा अझै विकास हुन सक्छन् । ढोरपाटन सिकार आरक्षको ठूलो भाग पनि यही प्रदेशमा पर्छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल ऐतिहासिक र प्रसिद्ध ठाउँ रहेकाले पर्यटनको अथाह सम्भावना रहेको बताउँछन् ।
हवाई यातायात
पहाडी जिल्लामा विमानस्थल छैनन्, तर अबको डेढ वर्षमा लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्ने तयारी छ । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपछि यो क्षेत्रको पर्यटन मात्र नभएर यसले पश्चिम नेपालकै पर्यटनलाई समेत टेवा दिनेछ । नेपालगञ्ज एयरपोर्ट विस्तार तथा दाङमा क्षेत्रीय विमानस्थलका लागि जग्गा अधिग्रहण गरी निर्माण गर्ने क्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।
मानव विकास सूचकांक
मानव विकास सूचकांका दृष्टिकोणबाट यो प्रदेशमा पाल्पा सबैभन्दा माथि र रोल्पा सबैभन्दा कमजोर अवस्थामा छन् । पाल्पापछि अर्घाखाँची र रुपन्देही रहेका छन् । प्युठान र रुकुम पनि कमजोर अवस्थामा छन् । साक्षरताका दृष्टिकोणबाट पाल्पा, गुल्मी र अर्घाखाँची अगाडि छन् । कपिलवस्तु, रोल्पा र रुकुम पछाडि रहेका छन् । यस प्रदेशमा प्रतिव्यक्ति आयका दृष्टिकोणबाट नवलपरासी, बाँके र दाङ तुलनात्मक रूपमा अगाडि छन् । रोल्पा, प्युठान र गुल्मी कमजोर अवस्थामा रहेका छन् ।
कृषि उत्पादन
समग्र कृषि उत्पादकत्वका दृष्टिकोणबाट नवलपरासी, दाङ र रुपन्देही राम्रो अवस्थामा छन् । किनकि तराईका यी समथर भूभागमा प्रशस्त खेतीयोग्य जमिन छ । तर, सबैतिर सिँचाइको व्यवस्था छैन । बाँके र बर्दियालाई समेट्ने सिक्टा सिँचाइ आयोजना वर्षौंसम्म पनि पूरा भएको छैन । कृषि उत्पादनमा पहाडी जिल्लामा पाल्पा, अर्घाखाँची र प्युठानको अवस्था पनि राम्रो छ । रोल्पा र रुकुमको अवस्था कमजोर छ । कुल गार्हस्थ उत्पादनमा योगदानका दृष्टिले रुपन्देही, नवलपरासी र दाङ अगाडि छन् । रोल्पा, प्युठान र रुकुम अन्य जिल्लाको तुलनामा पछाडि छन् ।
सिँचाइको अवस्था
भेरी(बबई डाइभर्सन, सिक्टा र वडकापथ सिँचाइ आयोजना बहुचर्चित आयोजना हुन् । यी आयोजनालाई छिटै पूर्णता गराउने तयारी प्रदेश सरकारको छ । कालिगण्डकी, तिनाउ डाइभर्सन, गुहारखोला र कटुवाखोला हाइड्याम, वाणगंगा हाइड्यामको सम्भाव्यता अध्ययन गरी तीव्रताका साथ निर्माण कार्य अघि बढाउने तयारी छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।