कृष्णउदास खनाल
वीरगन्ज । पर्सा जिल्ला सहित छिमेकी जिल्लाहरु छोएको पर्सा राष्ट्रिय निकुञ्ज छेउछाउका मानव बस्तीमा वन्यजन्तुको प्रवेश रोक्न विद्युतीय तारबार लगाइएको छ ।
निकुञ्जका सूचना अधिकृत अशोक रामका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ७० लाख रुपैयाँ लगानीमा निकुञ्जको बाहिरी क्षेत्रमा साढे १४ किमि तारबार लगाइएको हो ।पर्साको वसन्तपुर इलाका वन कार्यालयदेखि पश्चिम ओरिया खोलासम्म साढे ९ किमि र ओरिया खोलाबाट निर्मलबस्तीको पानीटंकी जाने बाटोसम्म ५ किमि फेन्सी तार लगाइएको छ । रैथाने हात्तीको प्राकृतिक बासस्थान भनेर चिनिने मुलुकको एक मात्र निकुञ्जअन्तर्गत बढी प्रभावित क्षेत्रमा तारबार गरिएको हो ।
तारमा छोडिने करेन्टको झटकाले निकुञ्जका हात्तीलाई निकुञ्ज फर्काउन बाध्य पार्ने आशा गरिएको छ । हात्ती बाहेक बँदेल, घोडगधा, चित्तल, बाँदर आदि वन्यजन्तुले पनि स्थानीयलाई हैरान बनाएका छन् । बिजुली पुगेको ठाउँमा बिजुली र नपुगेको ठाउँमा सोलारबाट तारमा विद्युत प्रवाह गरिएको छ । निकुञ्जले तारबार गरेपछि त्यसको सञ्चालन र संवद्र्धन स्थानीय उपभोक्ताले गर्नुपर्ने रामले बताए । उनले तारबारको संरक्षणका लागि स्थानीयहरु आफै जुट्नुपर्नेमा पनि जोड दिएका छन् ।
वन क्षेत्रमा वस्तु चराउन जाने स्थानीयबाट पनि तारमा क्षतिको सम्भावना हुन्छ । निकुञ्जमा दाउरा चोर्न पस्ने, साइकलमा काठ ओसार्न पस्ने र स्थानीयले कपडा सुकाउने प्रयोजनका लागि भन्दै तार नष्ट गर्ने सम्भावना पनि अत्यधिक हुन्छ । त्यसकारण पनि तारको व्यवस्थापन तथा संरक्षणको जिम्मा स्थानीयलाई नै दिने नीति रहेको उनले बताए । निकुञ्जबाट निस्कने हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाको बालीनाली र घर भत्काउने मात्र नभई ज्यानै लिने सम्मका घटना बर्सेनि हँुदै आएको छ । निकुञ्ज प्रशासनले त्यसको क्षतिपूर्ति बापत बर्सेनि ठूलो रकम खर्च गर्दै आएको छ । यद्यपी जंगली जनावारबाट बढी प्रभावित हुने ठोरी गाउँपालिका क्षेत्रमा भने अझैपनि तारबार लगाउने कार्य नगरेको भन्दै स्थानीय रामप्रसाद ढुंगानाले चिन्ता जनाए । जंगली जनावरले पर्सामा पु¥याएको क्षतिको नेपाल समाचारपत्रले पटक पटक स्थानीयहरुको आवाज उठाउदै आइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।