यमलाल भुसाल, बुटवल
मुलुक संघिय संरचनामा गए संगै प्रदेश नम्बर ५को सरकारले शिक्षामा आमुल परिवर्तन गर्ने गरी नयाँ शैक्षिक नीति सार्वजनीक गरेको छ ।
प्रदेश सरकारले हालै पारित गरेको नीति कार्यक्रममा प्रदेशको शैक्षिक नीतिमा सामुदायीक विद्यालयलाई मात्र समेटीएको छ भने संस्थागत विद्यालयको बारेमा कही कतै एक शब्द पनि उचारहण गरिएको छैन ।
हालै बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले आगामी आर्थिक वर्ष २०७५र०७६ को प्रदेश नं. ५ प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनीक गदै प्रदेशको शैक्षिक अवस्था आगामी दिनमा यसरी संचालन गरिने औल्याउनु भएको छ ।
प्रदेश प्रमुख झाले सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै नेपाली वा मातृभाषामा पढाई हुने विषय बाहेक अरु सबै विषयहरुको क्रमशः अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाइने र कक्षा ४ देखि नै कम्प्युटर शिक्षा अनिवार्यरुपमा लागु गर्दै जान स्थानीय सरकारलाई सहयोग प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै उच्च शिक्षाको विकासका लागि सार्वजनिक, सामुदायिक र निजी साझेदारीलाई प्रोत्साहित गरिने पनि कार्यक्रमा समावेश गरिएको छ । शिक्षाको गुणस्तर सुधार गर्न अंग्रेजी¸ विज्ञान र गणित पढाउन सरकारी विद्यालयमा स्वयमसेवक शिक्षकहरु पठाउने व्यवस्था गरिनेछ र शिक्षकहरुलाई नियमित तालिम तथा वृत्ति विकासका अवसर श्रजना गरी प्रदान गर्ने व्यवस्था मिलाईने समेत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य समाजका लागि स्वास्थ्य आचरण आवश्यक पर्ने हुँदा विद्यार्थीहरुलाई नैतिक शिक्षा पढाउन जोड दिइनेछ । विद्यालयको भौतिक पूर्वाधारसहित विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला लगायतका पूर्वाधारहरुको समयानुकुल विकास गरी विद्यालयहरुलाई सिकाईका साथै प्रयोगात्मक अभ्यासको केन्द्रका रुपमा विकास गर्न स्थानीय सरकारलाई सहयोग गरिनेछ ।
शिक्षकको पेशागत दक्षता अभिबृद्धि गर्न शिक्षकका उपयुक्त विषयवस्तुको छनोट तरिका र प्रयोगमा जोड दिइनेछ । गुरुकुल, गुम्बा, मदरसालगायत सबै धार्मिक प्रकृतिका विद्यालयहरुलाई शैक्षिक मूलप्रवाहीकरण गरिनेछ । यस प्रदेशलाई एक वर्ष भित्र साक्षर प्रदेश घोषणा गरिनेछ ।
प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालयहरु स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा निम्न तथा मध्यमस्तरको प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालय संचालन गरिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।