नेपाल समाचारपत्र, हेटौंडा
यातायात व्यवस्था विभागले देशभरका यातायात सेवा चुस्तदुरुस्त बनाउने लक्ष्यसहित रुट अध्ययन गरेको छ । अध्ययनपश्चात् अब सोही आधारमा सवारीसाधन सञ्चालन गरिने छ ।
योजनाअन्तर्गत् विभागले सहायक र राष्ट्रिय सडकको रुट अध्ययन गरेको छ । देशका सबै क्षेत्रका रोडको अध्ययन चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ । सरकारले रुट अध्ययनका लागि बजेट पारित गरेलगत्तै देशभरका साना तथा ठूला रोडको अध्ययन थालिएको थियो ।
सरकारले सडकको सम्पूर्ण विवरणका साथै ती सडकले ओगटेका भोगोलिक क्षेत्रमा बसोबास गर्नेे जनसंख्याको आधारमा सवारीसाधन परिचालन गर्नेछ । अध्ययनपश्चात् सवारीसाधनलाई प्रतिस्पर्धात्मकरुपमा रुट इजाजत दिइने छ ।
योजनाअन्तर्गत् विभाग रोडहरुको अध्ययन गरी ती रोडमा कस्ता बस गुडाउँदा उपयुक्त हुन्छ, कस्तो रोड आवश्यक छ, कति संख्यामा सवारीसाधन आवश्यक पर्दछ जस्ता कुराको अनुसन्धान गर्दै अगाडि बढिरहेको छ ।
अध्ययनपछि पाँच वटा प्रदेशको सडकको स्थिति, राजमार्ग÷सहायक राजमार्गको संख्या, आवश्यक सवारीसाधन र यात्रु संख्या सार्वजनिक गरिएको छ । अध्ययनले कुन रुटमा कति सवारी आवश्यकता छ र यात्रु कति छन् भन्नेमा केन्द्रित रहेको जनाइएको छ ।
यातायात व्यवस्था विभागले अध्ययन सकेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । विभागले पाँच वटा प्रदेशका ६२ वटा राजमार्ग र सहायक सडक रुटको अध्ययन गरेको थियो । अध्ययनमा उल्लेख भएअनुसार पाँच वटा प्रदेशमध्ये प्रदेश–३ मा सबभन्दा धेरै रुट सञ्चालनमा छ ।
विभागले प्रदेश–१, २, ३, ४ र ५ को रुट अध्ययन गरेको हो । विभागले गरेको रुट अध्ययनमा हाल तत्कालको अवस्थामा आवश्यक सवारी संख्या, सवारीको किसिम र यात्रुको आगमन हुनसक्ने संख्या तय गरेको छ । अध्ययनमा ५, १० र १५ वर्षपछिका लागि आवश्यक सवारी, सवारीको किसिम र यात्रु संख्या पनि अनुमान गरिएको छ ।
अध्ययनअनुसार प्रदेश–३ मा तत्कालको अवस्थामा १२ हजार आठ सय पाँच वटा ट्रक, ५ हजार नौ सय ९६ बस, ७ हजार ३ सय ५३ माइक्रो र २ हजार ९ सय ९७ वटा जिप आवश्यक पर्नेछ ।
विभागको अध्ययनले सबभन्दा धेरै प्रदेश–३ मा रुट रहेको देखाएको छ । प्रदेश–३ मा २६ वटा राजमार्ग तथा सहायक सडक पहिचान गरिएको छ । यसमा १५ वटा राजमार्ग र ११ वटा सहायक सडक पहिचान भएको छ ।
अध्ययनमा सडकको घुम्ती, चौडार्इं, चालकले देख्नसक्ने दुरी र मौसमअनुसार चल्नसक्ने सवारी गरी तीन समूहमा वर्गीकरण गरी रुट अध्ययन गरिएको छ । सबै प्रकारका सवारी चल्ने रुटलाई ‘ए’ हल्का सवरी चल्नसक्ने सडकलाई ‘बी’ र जिप र चौडाईं साना भएका सवारी चलाउन मिल्ने सडकलाई ‘सी’ समूहमा वर्गीकरण गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।