नेपाल समाचारपत्र, भक्तपुर
जनप्रतिनिधीका लागि आयोजना गरिएको कार्यक्रम जनप्रतिनिधिबिना नै सम्पन्न भएको छ । भूकम्प प्रभावित नागरिकको निजी आवास निर्माणमा आइपरेका समस्याको पहिचान गरी समाधान गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
‘निजी आवास पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधान’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा जिल्लाका चारवटै नगरपालिकाका जनप्रतिनिधीको अनुपस्थिति भएपछि प्राधिकरणका कर्मचारी र पत्रकारबीच मात्रै अन्तत्र्रिmया गरिएको थियो ।
जनप्रतिनिधी नभएपछि भक्तपुरका पत्रकार, जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीले समस्याका बारेमा अवगत गराएका थिए ।
प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख ध्रुव गैंडाले चारवटै नगरका जनप्रतिनिधिलाई बिशेष आमन्त्रण गरिएको भए पनि उहाँहरु सहभागी नभएकोमा दुखेसो पोख्नुभयो । ‘निजी आवास पुर्ननिर्माण सम्बन्धि समस्या पहिचान र समाधान’ बिषय भुकम्प पीडित जनतासँग प्रत्यक्ष जोडिएको बिषय भएकाले यसमा जनप्रतिनिधिको सहभागिता रहनुपथ्र्यो–उहाँले भन्नुभयो ।
भक्तपुरमा जग्गा विवाद, लालपुर्जाको समस्या, बहुस्वामित्व र घर नक्शा पासको मापदण्डमा कडाईजस्ता समस्याका कारण पहिलो किस्ताको अनुदान रकम लिए पनि घर निर्माण गर्नेको संख्या न्युन रहेको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् जिल्ला पूर्ननिर्माण सहजीकरण समितिका संयोजक नवराज गेलालले बताउनुभयो ।
उहाँले भन्नुभयो–“भक्तपुरमा आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या छन् । यहाँ गुठीका विशिष्ट समस्या छन्, कैयौं निजी गुठी छन् जुन कतै दर्ता छैनन् ।” उहाँले पुनर्निर्माणमा स्थानीय तहलाई अगुवाई गर्न दिनुपर्ने सुझाव दिंदै भूकम्प पीडितलाई फास्ट ट्रयाकबाट नक्सा पासको सुविधा, नक्सा निर्माण तथा पास गर्दा सहुलियत दिन स्थानीय तहलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले निजी आवास निर्माणमा भूकम्प प्रभावितलाई स्थानीय तहबाट सहुलियत दिन आग्रह गर्दै नक्सा निर्माण, नक्सा पास, बाटोका मापदण्ड खुकुलो बनाउन र भूकम्प पीडितलाई निर्माण सामग्रीको व्यवस्था गर्ने कार्यमा सहजीकरण गर्न स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरमा लाभग्राहीको सूचिमा रहेका २८ हजार ३०२ जना मध्ये २३ हजार ५१९ जनाले मात्रै पहिलो किस्ताको रकम लिए पनि दोस्रो र तेस्रो किस्ता रकम लिनेको संख्या भने न्युन रहेको बताउनुभयो । दोस्रो किस्ता लिन निवेदन दिनेको संख्या ३ हजार ९८४ र तेस्रो किस्ता लिनेको संख्या ३ हजार ३८२ मात्रै रहेको उहाँको भनाइ छ ।
भक्तपुर जिल्लामा ७ हजार ७३ लाभग्राहीले घर निर्माण कार्य शुरु गरेका भए पनि २ हजार ९ सय जनाले मात्र घर निर्माण कार्य सम्पन्न गरेको र प्राधिकरणले ६७० घरको मात्रै प्रवलीकरण सम्पन्न गरेको बताइएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले भूकम्पबाट प्रभावित एकल महिलालगायत जोखिममा परेका वर्गहरुको आवास निर्माण छिटो गरिदिन प्राधिकरणलाई आग्रह गर्नुभयो । भक्तपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिराम सुवालले परिवारका सदस्यबीच अंशसम्बन्धी विवादका कारण भक्तपुरमा धेरैको सम्झौता हुन नसकेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका भक्तपुर अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरका भूकम्पले क्षतिग्रस्त सम्पदा र सामुदायिक स्कुलका भवन निर्माणमा देखिएको समस्या समाधान गर्न समन्वयको अभाव हुँदा जटिल बन्दै गएको बताउनुभयो ।
त्यसअवसरमा गैरसरकारी संस्था महासंघका भक्तपुर अध्यक्ष सोम शर्मा (बजगाईं) ले जग्गाको स्वामित्वको गाँठो नफुकाइकन समय सीमा तोकिएका कारण लाभग्राहीहरु दबाबमा परेको बताउदै घर बनाउँदा प्राधिकरण र नगरपालिकाका इञ्जिनियरबाट दोहोरो पास गराउनुपर्ने झन्झटले समस्या परेको बताउनुभयो ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले जनताको आवास निर्माणमा नगरपालिका र प्राधिकरणका इन्जिनियरले नक्सा पासमै मोलमोलाई गर्ने र रकम असुल्ने गर्दा पीडित मारमा परेको बताउनुभयो ।
प्राधिकरणका कार्यकारी समितिका सदस्यद्धय डा.चन्द्रबहादुर श्रेष्ठ र धु्रवप्रसाद शर्मालगायतले स्थानीय स्तरमा उठेका नीतिगत र कानुनी अड्चन हटाएर पुनर्निर्माणको गतिलाई तिव्र बनाउने बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।