पुष्कर बुढाथोकी
भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा पैसा नभएकै कारण कुनै पनि जनता उपचारबाट बञ्चित नहुने बताउनुभएको छ । भक्तपुर अस्पतालको ११४ आंै वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पैसा नभएकै कारण जनताले मृत्यु वरण गर्नुपर्ने अबस्था आए राज्य आफै असफल हुने बताउनुभयो ।
उपप्रधान मन्त्री यादवले गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास गर्न सके मुलुक आफै समृद्धि हुने बताउनु भयो ।
उहाँले लामो समयदेखि राज्यको ध्यान राम्रो विद्यालय बनाउँने र राम्रा अस्पताल बनाउँने तर्फ नभएको बताउनुभयो ।प्राथमिक स्वास्थ्य केन्द्रलाई गाउँ गाउँमा विस्तार गर्दै उपचारको पहुँचमा बृद्धि गर्नुपर्ने बताउँदै उहाँले केही महिना भित्रै भक्तपुर अस्पताललाई एम्बुलेन्स दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आइतबारबाट अस्पतालले संचालनमा ल्याएको तीन शैयाको हाई केयर युनिटको उद्घाटन गर्नुभयो । कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सेवा निबृत्त कर्मचारी, उत्कृष्ठ कर्मचारीलाई सम्मान एवं पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरका चारैवटा नगरपालिका र यहाँका जनप्रतिनिधिहरुले तत्काल भक्तपुर अस्पतालमा आइसियु सञ्चालन गर्न आवश्यक सहयोग गर्छौं भन्दा अस्पतालले सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारी अस्पतालबाट गुणस्तरीय सेवा पाएर जनता खुशी हुने दिन आउनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको आशा र विश्वास सरकारी अस्पतालमा हुनुपर्नेमा जोड दिँदै बिरामी सरकारी अस्पताल छाडेर निजीमा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
अस्पतालकी सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले विसं १९६१ असार १७ गते स्थापना भएको यो अस्पताल हाल बिरामी अन्यत्र पठाउने केन्द्रका रुपमा परिणत भएको बताउँदै अस्पतालमा आइसियु सञ्चालन गर्न दरबन्दी नभएकाले नसकिएको भनाइ राख्नुभयो ।
उहाँले ११४ वर्ष पुरानो भक्तपुर अस्पतालले दुई बर्षभित्र नयाँ स्वरुप पाउँने बताउँदै नेपाल कै बीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउँने तयारी भैरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–बेलायतको सहयोगमा नेपाल सरकारले भवन विभाग मार्फत ३ वटा नयाँ भवन निर्माण गर्ने र हाल संचालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्ने तयारी छ,’ कूल २३ करोड २१ लाख ५४ हजार २०७ रुपैयाको लागतमा निर्माण हुने सुविधा सम्पन्न दुईवटा आधुनिक भवन निर्माण हुनुको साथै पुराना दुईवटा भवनमा रेक्टोफिटिङ्ग गरिने छ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले विगतका तुलनामा अस्पतालले उपचारमा धेरै सुधार ल्याएको र बिरामीको संख्यासमेत बढ्दै गएको बताउँदै सबै मिलेर अस्पतालको विकास गर्नुपर्ने आँैल्याउनुभयो । ७५ शैयाको स्वीकृति पाएको अस्पतालले थप ५० शैया थप गरेर १२५ शैया पुर्याउन माग गरिरहेको बताउनुभयो । अस्पतालमा दरबन्दी नहुँदा आईसियू संचालन गर्न नसकेको बताउँदै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने बताउनुभयो ।
नयाँ भवनमा सुविधा सम्पन्न प्रसुति वार्ड, दुईवटा आधुनिक शल्यक्रिया कक्ष, ओपिडि कक्ष, आईसियू कक्ष, कर्मचारीका लागि भान्छा घर, शौचालय, लाश घर तथा पोष्ट मार्टम कक्ष, पार्किङ्ग लगायतको भौतिक संरचना निर्माण हुने भएको छ । तीन चरणमा आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरि काम अगाडि बढाईएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरि अस्पतालको ११४ वर्ष पुरानो भवन र हाल प्रसुति एवं प्रशासन रहेको दुईवटै भवनमा रेक्टोफिटिङ्ग गरिेन भएको छ । अस्पतालमा बढ्दो विरामीको चाल र हाल व्यहोर्नु परेको अस्तव्यस्तलाई नयाँ भवन निर्माण भएपछि सहज रुपमा व्यबस्थापन हुने दाबी गरिएको छ । पुरानो र भूकम्पले कमजोर बनाएको यो भवनमा अहिले पनि विरामी भर्ना गर्ने लगायत अरु सेवाहरु यथावत संचालन भईरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।