बैतडी, (नेस)
वर्षायाम लागे संगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामीहरु यो समयमा बढी पुग्ने गरेका हुन् ।
दैनिक जसो ६० देखी ७० जना बिरामी अस्पतालमा उपचारको लागी आउने गरेका मेडीकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताउनुभयो । डाक्टर लेखकका अनुसार छातीसम्बन्धी,झाडापखाला,आउँ,पेट दुख्ने लगाएतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । यस्तै ज्वरो,रुघाखोकीका बिरामी पनी धेरै जसो यो समयमा अस्पतालमा उपचारको लागी पुग्ने गरेका डाक्टर लेखकले बताउनुभयो । उहाँले भन्नुभयो“ वर्षायाममा मौसम परिवर्तन हुने भएकोले अघिपछीको तुलनामा धेरै बिरामी हुने गरेका छन्”
खानपान,सरसफाई लगाएतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डाक्टर लेखकको भनाई छ । यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा बृद्धबृद्धा रहेका छन् । गर्मी समयमा जिल्ला अधिकांस स्थानमा पानीको अभाव हुँदा सरसफाईमा ध्यान नदिँदा समेत बिरामीहरुको संख्या बढ्दै गएको बताईएको छ ।
जिल्ला अस्पतालमा मात्रै नभएर जिल्ला अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाईमा बिषेश ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।