
नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ को राजधानी कायम भइसकेपश्चात् हेटौंडा नगरको चहलपहल राम्ररी बढ्दै गएको अनुभूति गर्न सकिन्छ । बजार विस्तार हुने क्रम बढेसँगै यातायातको चाप पनि त्यसैगरी बढेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगर र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहयोग पु¥याउँदै आएको छ ।
कार्यालय समयमा अत्यधिक सवारी जाम हुन नदिन संघकै पहलमा लोडिङ अनलोडिङका लागि निश्चित समय तोकी सहजीकरण हुँदै आएको छ । नगरवासीले बजारबाट सरसामान खरिद गर्न नगरका तोकिएका स्थानमा एकतर्फीरुपमा आफ्ना दुईपांग्रे सवारीसाधन राख्दै आएका छन् ।
यसरी एकतर्फीरुपमा दुईपांग्रे सवारीसाधन राख्दा ट्राफिक जाम भएको र नभोगिएको दाबी गर्दै संघले भनेको छ–मुख्यतः ठूला तथा भारी सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयबाट बसपार्क हुँदै बाइपासबाट लैजाँदा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न त्यति धेरै समस्या नभएको अवस्थामा हाल ठूला तथा भारी सवारीसाधन नगरभित्रबाट ओहोरदोहोर गरिदिँदा बजारका मुख्य सडकमा ट्राफिक जाम हुन थालेको छ ।
बजार क्षेत्रबाट ठूला तथा भारी सवारीसाधनलाई तोकिएको समयबाहेक प्रवेश निषेध गर्नसके ट्राफिक व्यवस्थापन सहज हुनसक्ने संघको सुझाव छ । वर्षाको समयभन्दा बाहेकको अवस्थामा हेउमनपा, डिभिजन सडक कार्यालय र संघको संयुक्त पहलमा निर्माण गरिएको चौकीटोलदेखि राप्तीपुल हुँदै रातोमाटे निस्कने बैकल्पिकमार्ग स्तरीकरण गरी सञ्चालन गर्नसके नगरको ट्राफिक व्यवस्थापन थप सहज हुने संघ अध्यक्ष कृष्ण कटुवालले बिहीबार विज्ञप्तिमार्फत् बताउनुभएको छ ।
यति धेरै विकल्प हुँदाहुँदै पनि उपमहानगरबाट विगत केही दिन अघिदेखि राप्तीरोडमा पार्किङ निषेध गर्ने कार्य गरेको प्रति संघले ध्यानाकर्षण जनाएको छ । व्यवस्थित पार्किङको उचित व्यवस्थापन नहुँदै अस्पताल, ब्लड बैंकदेखि औषधी पसलजस्ता अत्यावश्यक सेवा प्रदायक संघसंस्थाहरु रहेको राप्तीरोड क्षेत्रमा यसरी एउटा दुईपांग्रेसमेत रोक्न नपाउने गरी आएको यस कदमले उक्त क्षेत्रका व्यवसायीलाई मात्र नभएर आम सर्वसाधारणलाई पनि अत्यावश्यक सेवा तथा सरसामान खरिद गर्न समस्या पर्न गएको अध्यक्ष कटुवालले बताउनुभयो ।
एकतर्फीरुपमा व्यवस्थित गरी बजारमा दुईपांग्रेसम्म सवारीसाधन रोक्न पाउनुपर्ने व्यवसायीसँगै सर्वसाधारणको माग संघमा आएकाले सोहीबमोजिम हुने व्यवस्थाका लागि संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको संघ वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।