माधव अधिकारी ।
भाद्र ४, कावासोती ।। नवलपरासीको कावासोती सेन्ट जोसेफ्स माध्यमिक विद्यालयमा नजिकिदै गरेको नेपाली नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य ओम प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयका प्रबन्ध निर्देशक दिपक राज लम्साल रहनुभएको थियो । कार्यक्रममा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकशिक्षिका तथा अन्य कर्मचारी हरुले पालैपालो शुभकामना आदानप्रदान गर्नुभएको थियो । विद्यालयकी आधारभुत तहको संयोजक राधा शर्माको स्वागत मन्तव्य सँगै कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले पछिल्लो समयमा तिज अलिकति भड्कीलो बन्दै गएको हुनाले सभ्य शैलिमा आफ्नो स्तर र संस्कृतिलाइ ख्यालमा राखेर तिज लगायतका चाडपर्व मनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य विकास थापाले गर्नुभएको थियो ।