
काठमाडौं ।
‘हुने विरुवाको चिल्लो पात’ भने झैं १७ वर्षको उमेरभित्रै तीन फरक खेलका अन्तर्राष्ट्रीय प्रतियोगिता खेल्ने खेलाडी हुन उज्ज्वल गिरी । हाल कक्षा १२ को परीक्षा सकाएका उज्ज्वलले स्कुले जीवनमा कसैले नसोचेको तीन फरक खेलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेको सुन्दा आश्चर्य लाग्न सक्छ । राष्ट्रियस्तरमा एकभन्दा बढी खेल खेल्ने खेलाडी विरलै भेटिन्छन ।
तर, उज्ज्वल भने राष्ट्रिय मात्र होईन, तीन फरक खेलका अन्तर्राष्ट्रीय खेलाडी बनिसकेका छन्। त्यो पनि टिनएजर छँदै। असाधारण लागेपनि यो कुरालाई सामान्य बनाएका छन् उज्ज्वलले । कलिलै उमेरमा उज्वलले तेक्वान्दो, मलखम र स्की खेलका अन्तर्राष्ट्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
नेपालमा तेक्वान्दो निकै लोकप्रिय छ भन्नेमा कसैको दुई मत नहोला । धेरैजसो स्कुलले पनि आफ्ना विधार्थीलाई तेक्वान्दो सिकाउने गरेको छ । दि सेलिब्रसन को एड स्कुलमा अध्ययन गरेका उज्ज्वललाई पनि यो खेलले आकर्षित ग¥यो । अनि सुरु भयो उनको खेल जीवनको पहिलो अध्याय । स्कुलमा छँदा नै उनले २०१८ मा थाइल्यान्डमा भएको चौथो हिरोज जुनियर तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । सो समय तेस्रो स्थान हासिल गरेपछि उज्वललाई तेक्वान्दोमा लाग्न अझ प्रेरणा मिल्यो ।
उज्ज्वल त्यसको केहि वर्षपछि दोस्रो पटक सोही अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न थाइल्यान्ड पुगे । २०२३ को १ देखि ३ जुलाईसम्म भएको छैटौं हिरोज जुनियर तेक्वान्दो प्रतियोगितामा यसपटक भने उनले रजत पदक हात पारे । योसँगै उनी जुनियर स्पर्धामा दुई अन्तर्राष्ट्रीय पदक जित्ने नेपाली खेलाडीको सूचीमा अटिए । त्यति मात्र होइन, उनले नेपालमा पनि धेरै घरेलु प्रतियोगितामा खेलेर पदक जितेका छन् ।
उज्ज्वल उक्त सफलताको श्रेय आफ्ना तेक्वान्दो प्रशिक्षक विश्वास अर्याललाई दिन्छन् । जसले स्कुल पढाईपछि हरेक दिन उज्ज्वललाई तयार पार्न मेहनत गरेका थिए । उज्ज्वल आफू तेक्वान्दो खेलाडी बन्नु पछाडि आफ्ना गुरु विश्वास अर्यालको ठूलो हात रहेको बताउँछन् । तेक्वान्दोमा नै भविष्य खोज्न मेहनतरत उज्ज्वलले ओलम्पिकसम्म पुग्ने लक्ष्य लिएका छन् ।
तेक्वान्दो खेल्दै गरेका चञ्चले उमेरका उज्ज्वल मलखम खेलबाट पनि प्रभावित भए । धेरै कमले सुनेको मलखम खेल कस्तो हो भनेर कौतुहलता जाग्न सक्छ । किनभने नेपालमा यो खेल खासै खेलिदंैन र त्यत्ति लोकप्रिय पनि छैन । एउटा काठको खम्बामा चढेर खेलाडीले अनेक मुद्रामा कसरत गर्दै खेल कौशल प्रदर्शन गर्ने खेलको रुपमा परिचित छ मलखम खेल । जुन निकै कठिन खेल पनि हो । हो, यही खेलको अन्तर्राष्ट्रीय प्रतियोगितामा उज्ज्वलले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
तेक्वान्दो खेल्दा उज्ज्वलले योगा पनि गर्थे। त्यसैले उनको शरीर लचिलो बनेको थियो। यो देखेका उनका स्कूले शिक्षक कृतन भट्टराईले उज्ज्वललाई मलखममा पनि प्रयास गर्न सुझाएपछि उज्ज्वलले मलखममा पनि ध्यान दिएका थिए। हरेक खेल चाँडै सिक्न सक्ने गुण भएका उज्ज्वलले मलखममा प्रयास मात्र होइन, सिकेको वर्षदिनमै भारतको आसाम र भुटानमा भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न सफल भए ।
नेपाली मलखम टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो अवसरमा थियो । सन् २०२३ को ९ देखि ११ मे सम्म भूटानमा भएको दोस्रो विश्व मलखम च्याम्पियनसिपमा कलिला उज्वल सम्मिलित नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो। उज्ज्वलले मलखम खेलको अभ्यास तेक्वान्दोजस्तो दिनहुँ गर्दैनन्। तर, प्रतियोगिताको समयमा भने यस खेललाई पनि पर्याप्त समय दिन्छन् ।
तेक्वान्दो र मलखममा जोडिएको छोटो समयमा नै अन्तर्राष्ट्रीय पदक जितेका उज्ज्वलले २०२४ को मार्च ९ र १० मा चीनको जिलीन प्रान्तको बेदहू स्की रिसोर्टमा भएको ३२ औं अल्पाईन स्की च्याम्पियनसीपको जूनियरतर्फ दिनेशकुमार बोहोरा, देबोरा तिमिल्सिना र लक्ष्मी राई सम्मिलित नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए। सहभागितामा मात्र सिमित बनेको उक्त प्रतियोगितामा जानुअघि उज्ज्वलले राष्ट्रिय स्की च्याम्पियनसिप पनि खेलेका थिए।
२०७८ साल पुसमा मुस्ताङमा भएको राष्ट्रिय स्की च्याम्पियनसिपमा उज्ज्वलले क्रसकन्ट्रीमा भाग लिएका थिए । सो प्रतियोगितामा उज्ज्वलले पदक नजिते पनि किशोर उमेरमा स्कीको राष्ट्रिय प्रतियोगितामा खेल्नुलाई पनि स¥हानीय नै मान्नुपर्ने हुन्छ । राष्ट्रिय मात्र होइन, यसरी एकपछि अर्को गर्दै तीन फरक खेलको अन्तर्राष्ट्रीय प्रतियोगितामा देशको प्रधिनिधित्व गर्नु आफैमा उदाहरणीय उपलब्धि समेत हो ।
तीन खेलको अन्तर्राष्ट्रीय प्रतियोगिता अनुभव बटुले पनि उज्ज्वलले भविष्यमा तेक्वान्दोलाई नै समय दिने सोच बनाएका छन । किनभने मलखम नेपालमा खासै खेलिँदैन र स्की खेल्नलाई आवश्यक कुरा नेपालमा अनुकुल छैन । यद्यपि नेपाल स्की संघले हरेक वर्ष लाङताङ र मुस्ताङमा गरी राष्ट्रिय स्की च्याम्पियनसीपको आयोजना गर्ने गरेपनि हिउँदे खेलकुद न्यून मात्रामा हुने गरेकाले उज्ज्वलले स्कीलाई गम्भीर रुपमा लिएका छैनन् ।
अहिले उच्च शिक्षाका लागि विदेश जाने मनसाय बनाएका उज्ज्वल सफल ब्यापारी बन्ने सपना रहेको बताउँछन् । विदेशमा गएर पढ्ने र खेललाई पनि साथसाथै लाने योजना रहेको उज्ज्वललाई परिवारको पनि ठूलै साथ रहेको छ। उनी भन्छन्,–“मलाई ममीबुबाको ठूलो साथ छ र आफ्नो सपना पूरा गर्न कडा मेहनत पनि गरिरहेको छु।”
उज्ज्वलबाट अहिलेका युवा पुस्ताले पनि केही कुरा सिक्नुपर्छ । किशोर अवस्थामा खेलकुदमा लाग्नेको शारीरिक विकासका साथै मानसिक रुपमा परिपक्व हुनमा पनि सहयोग मिल्दछ। खेलकुदले अनुशासित बनाउन पनि ठूलो भूमिका खेल्दछ। इन्टरनेटको बढ्दो पहुँचका कारण मोबाइल नै सबैथोक सम्झेर ब्यस्त हुने अहिलेको जमानामा डिजिटल खेलकुदमा भन्दा वास्तविक खेलकुदमा लागेमा धेरै फाइदा पुग्ने उदाहरण उज्ज्वलले दिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।