
ललितपुर ।
ललितपुरका छ कुलका देवब्राह्मण अर्थात् नेवार ब्राह्मणहरूले ३ सय वर्षदेखि आफ्नै खर्चमा नरसिंह जात्रा धान्दै आएका छन्। सो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने गर्दछ। छ कुल (षट्कुल) देवब्राह्मण (नेवार ब्राह्मण)राजोपाध्यायहरूको उपाकर्म गुठीका प्रत्येक सदस्यहरूले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सो जात्रा सञ्चालन गर्दै आएको छ। सुन्धाराको कुल उत्तराधिकारीविहीन भएपछि हाल पाँच कुलका सदस्यहरूले मात्र जात्रा सञ्चालन गर्दै आएको पाइएको छ। यी पाँच कुल (बःलिम्ह, स्वनिम्ह, तधँलीवी, वलानिम्ह र मण्डिछें) ब्राह्मणहरूले गुठीको जात्रा सञ्चालन गर्दै आएको छ।
यसपालि स्वनिम्हका स्वर्गीय नृपेन्द्रराज शर्माको पालोे परेकाले उहाँका परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो । जात्रा पालो लिने गुठीका सदस्यका ज्वाइँ वा भाञ्जामध्ये एक नरसिंह बन्ने परम्परा रहेकोमा यसपटक सञ्चारकर्मीसमेत रहेका राजीव राजोपाध्याय नरसिंह बन्नुभएको थियो । नगर परिक्रमा गराइँदा नरसिंहको दायाँ र बायाँ लक्ष्मी र सरस्वती पनि सँगसँगै रहेका हुन्छन् । यात्रामा नरसिंहका स्त्री ‘शक्ति सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बस्ने गर्दछन्। अगाडि भने भक्त प्रह्लादको रूपमा एक जना बालक हातमा धूप लिएर नरसिंहपट्टि फर्केर नमस्कार गर्दै उल्टो हिँड्ने गर्छन्।
साथमा भजन समूह, धिमे बाजा समूह, लाखेले त जात्रालाई हर्षोल्लासमय बनाएको थियो। यात्राका क्रममा नरसिंहको अघिल्लो पंक्तिमा परम्परागत बाजागाजाका साथ भजन समूह, वाद्य समूह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दूध र जल छर्कने, अबिर छर्कनेलगायत झाँकीहरू रहने गर्दछन् । जात्रामा ताज, शिरबिन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रूपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा रहने छन् । उनीहरूले नरसिंह हिँडने बाटो सफा गर्ने गर्दछन्। लगत्तै अर्का दुई बालिकाले गाईको दूध दूबो र लावा अबिर छर्किएर बाटोलाई चोखो बनाउने गर्दछन् । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडि बढ्ने छन्।
‘उनीहरू प्रत्येक दुई र दुई जनालाई झल्लरवाला छत्रले ओढाउने गरिन्छ’, नरसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माले भन्नुभयो– ‘नरसिंहको पछाडि कपडाबाट बनाइएको दुईवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई लतार्दै जान्छन् । रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास छ।’
उहाँले जात्राका मुख्य नरसिंह रहेको कारणले सर्वसाधारणले यी पुतलीलाई दुई असुर हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरे पनि ती पुतली हिरण्याक्ष र हिरण्यकश्यपु नभई मधु र कैटव रहेको बताउनुभयो।
नरसिंह जात्राका विज्ञ हेरम्वानन्द राजोपाध्यायले मधु र कैटभको बध नारायणले गरेका जानकारी दिँदै भन्नुभयो– ‘यसमा नारायणलाई साथ दिएका थिए। कालीले मधु र कैटवलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडिको भाग काली हो ।’ नरसिंह नाचभन्दा अगाडि पनि कालीको पूजा गर्नुपर्ने र नाच सम्पन्न भइसकेर पनि कालीकै पूजा गरेपछि मात्र नाच विधिवत् सम्पन्न हुने परम्पराले नरसिंह र कालीको सम्बन्ध देखिने उहाँले बताउनुभयो ।
यो जात्रा कहिलेदेखि शुरू भयो भने अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको गुठीका सदस्यहरू बताउँछन्। राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको भनिन्छ। उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात् वि. सं १८०६ देखिको जात्राको मात्र अभिलेख रहेको छ।
नरसिंह जात्रालाई नेपाल भाषामा उपाकुलं सायाः भनिन्छ । राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा सायाः रुटमा परिक्रमा गराउने चलन छ । पूर्णचण्डी, गाबहाल, चल्खु, पिम्हाबहाल, बालिफ, नकबहील, बंगलामुखी, कोबहाल, मंगलबजार, सौगल, सुन्धारा, ओकुबहाल, महाबौद्ध, थैना, टंगल, हौगल, तिच्छु गल्ली, हौगल, इखालखु, हुँदै पूर्णचण्डीमा पुगेपछि यात्रा समापन गरिएको थियो। कार्तिक नाचका क्रममा निस्कने नरसिंहलाई उग्र रूपको नरसिंह मानिन्छ भने भदौमा निस्कने नरसिंहलाई शान्त स्वभावको रूपमा लिइन्छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।