बाजुरा।
बडीमालिका नगरपालिका वडा नं ७ जिल्लीका विष्णु पण्डितलाई यतिवेला गाउँलेको खेत जोत्न भ्याई नभ्याई छ । दुईसय बढी परिवार भएको जिल्ली गाउँका अधिकांश किसानले हातेट्याक्टरको प्रयोग गर्छन् । गोरु जोत्दा हप्तदिन लाग्ने खेतमा ट्याक्टरले सात घण्टामा जोतिसक्छ । खेत खन्ने बाउसे पनि नचाहिने ,हली, बाउसे र गोरु सबैको काम एकजनाले सक्छ । चार छाक खेत जोत्नकै लागि वर्षभरी हलगोरु पाल्नु भन्दा गाउँमा एक ट्याक्टर भए पुग्छ, ट्याक्टर चालक विष्णुले भने । एक घण्टाको ६ सय रुपैंया लिन्छौं, दिनभर गोरुजोतेर सकिने काम एक घण्टामा सकिन्छ । समयको पनि बचत किफायती पनि उत्तिकै छ । गोरु जोत्दा हलगोरु र दुईजना हलिबाउसे चाहिन्छन् ट्याक्टरमा एकजना चालक भए पुग्छ ।
त्यस्तै माउलेखका बुद्धे धामीले पनि पछिल्लो समयमा माउलेख वारीपारिका खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्छन् । उनको ट्याक्टर जोताउन गाउँलेले पालो कुर्नुपर्छ । बडीमालिका आठ गड्खेतका अम्म अयडीले कम्तिमा सात दिनमा जोतिसकिने खेतलाई हाते ट्याक्टर प्रयोग गर्दा यो वर्ष सात घण्टामा सकाए। वर्षभरी हलगोरु पाल हली, बाउसे , हलो कोदालो खोज्नु भन्दा ट्याकटर लगायो घण्टाको पाँच छ सय दियो टन्टै साप अयडीले भने । सात दिनमा गर्ने काम एक दिनमा सकाएपछि अम्म अयडी पुस्तैं देखि पालेका हलगोरु विक्री गर्ने तरखरमा छन् ।
बडीमालिका नौ चौराटाका टेकबहादुर विष्टले पनि विगत चार वर्षदेखि खेत जोत्ने र साउने काम ट्याक्टरबाटै गर्छन् । पछिले समयमा गाउँमा युवाहरु नहुने बृद्धवृद्धा र आईमाईको भरमा खेती गर्न अप्ठेरो भैरहेको बेला प्रबिधि भित्रिए पछि निकै सहज भएकोछ । गाउँमा दलित र गैह्र दलितको संख्या हाराहारीमा छ, । सय बढी परिवारको खेतवारी ट्याक्टरको माध्यामबाट एकलैले सकाएको उनले बताए । प्रबिधिको प्रयोगले सामाजिक कुरीति अन्त हुने र सामाजिक सद्भाव बढेको बुझाई उनमा छ ।
केही वर्ष पहिले तराईका फाँटमा देखिने ट्याक्टर पछिल्लो समयमा बाजुराका दुर्गम गाउँसम्म पुगेका छन् । गाउँमा एक ट्याक्टर भए धेरैको खेत जोतिन्छन् । प्रतिघण्टा ज्यालामा काम गर्दा यसले सामाजिक सद्भाव पनि ल्याएको छ। कम आय भएका वर्ग अझ दलितवर्गका विपन्न परिवारले दिनभरी साहुको हलो जोत्नु पर्ने र दिएको खलोबाट जीविका चलाउनु पर्ने बाध्यता थियो । तर गाउँमा ट्याक्टर आएपछि सबैले सबैका खेत जोतिदिन्छन् । प्रबिधीले हलिया खलिया पर्थाको अन्त्य गरिदिन्छ । हातमा सिप र प्रविधि भए जो जे जस्को काम गरेपनि हुन्छ । ट्याक्टर चालक विष्णु पण्डितले भने । पहिले दलितले मात्र गैरदलितको काम गर्थे अहिले म सबैको खेत जोतिदिन्छु । यसले समाजमा हुने जातीय भेदभाव ब्यबहारतः अन्त्य हुदैछ उनले भने ।
बिदाको समयमा गाउँमा विष्णु दाइसंग ट्याक्टर जोत्न सघाउँछु केही आम्दानी पनि हुन्छ । काममा सानो ठूलो कुही नहुने प्रविधिले समाज रुपान्तरण गर्न सघाएको बुझाई टंकराज पण्डितको छ । गाउँगाउँमा रोड पुगेसंगै पाँच सात वर्ष भित्र बाजुराका गाउँ गोरुमुक्त हुन्छन् उनले भने । प्रविधिसँगै गाउँमा सडक सञ्जाल पुग्नै पर्छ उनले भने । जिल्लाका ६९ वडा मध्ये अधिकांश वडामा कच्ची सडक पुगेसंगै हाते ट्याक्टर पनि भित्रिएकाछन् । गाउँमा गोरुपाल्नै धेरै कमभई सक्यो हिमाली गाउँपालिका वडा नं.चार फैतीका वृखराज पाण्डेले भने।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलको पचास प्रतिशत अनुदानमा कृषि ज्ञानकेन्द्र बाजुराले विगत वर्षदेखि किषकलाई विक्री वितरण गर्दै आएको छ । यो उक्त कार्यक्रम स्वयं ज्ञानकेन्द्रको नभएकोले कार्यालयमा एकिन तथ्यांक छैन । हालसम्म बाजुराका कति कृषलाई कति ट्याक्टर विक्री ग¥यो भन्ने तथ्यांक कृषि ज्ञानकेन्द्रसंग छैन। तथ्यांक केलाउनु पर्छ ,कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्यायले भने । कृषकलाई पचास प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराउँछन् । एक ट्याक्टर खरिद गर्दा करिब असी हजार रुपैंया पर्छ । त्यसको पचास प्रतिशत अर्थात् चालिस हजार रुपैंया स्वयम् कृष्कले ब्यहोर्नुपर्छ । प्रविधिका लागि नगद अनुदान कृषकले प्राप्त गरे उक्त ट्याक्टर साठी पैंसठी हजारमा ल्याउन सकिने कृषक अगुवाको भनाई छ । यो वर्षभने हाते ट्याक्टर अनुदान कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।