सिरहा।
सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमअसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।
पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न ठेक्का लिएका चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले प्राविधिकहरुकै मिलोमतोमा सडक निर्माण कार्र्यमा कमअसल सामाग्री प्रयोग गरीरहेको पाईएको हो।
चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडकमा प्रयोग गरीने सव वेस (ग्राभेल)को लागी स्थानिय कमलामाई सप्लायर्ससंग सम्झौता गरी सडकमा हाल्न लिएको (ग्राभेल) गुणस्तरहिन रहेको प्राविधिकहरुलेनै बताउँछन्।
कमलामाई सप्लायर्सले गत वर्ष गागन नदीको किनारमा भण्डारणगरि राखेको ग्राभेल प्रयोगशालामा परीक्षणको लागी लग्दाँ प्राविधिकहरुले गुणस्तरीयहिन रहेको रिपोर्ट दिएको थियो । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण नभएको भनेर ग्राभेल अस्वीकृत गरिएको थियो । पछि कमलामाई सप्लयर्सका सञ्चालक बेचन शर्माले प्रयोगशाला परीक्षक तथा कन्सलटेन्ट इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारी सोही ग्राभेल पुनः परीक्षण गरी पास गराएका छन्।
कमलामाई सप्लायर्सले गत आर्थिक वर्ष २०८०÷०८१ मा २२ हजार घनमिटर ग्राभेल गोलबजार नगरपालिका वडा नं. १ बलडाडा गाउँ छेउछाउबाट उत्खनन् गरी गागन नदी किनारमा भण्डारण गरेर राखेको थियो । सडक निर्माण कम्पनीसंग कमलामाई सप्लायर्सले धनगढीमाई नगरपालिकाबाट उत्खनन् गरेर ग्राभेल सप्लाई गर्ने सम्झौता गरेपनि प्राविधिकहरुकै साँठगाँठमा गोलबजार नगरपालिका वडा नं. १ बलडाडाबाट उत्खनन् गरेर ग्राभेल दिएको जनाइएको छ।
यहाँको ग्राभेलमा रातो माटो , बालुवा र गिटीको मिश्रणमा सन्तुलन मिलेको छैन र सस्तो भाउमा उत्खनन् गरिएको थियो । बलडाडा गाउँबाट उत्खनन् गरिएको ग्राभेल गुणस्तरीय नभएको कारण गत वर्ष स्थानीय तहहरुले पनि उक्त ग्राभेल खरिद गरेको थिएन ।
स्थानीय तहरुले पनि अस्वीकृत गरेको ग्राभेल अहिले राष्ट्रिय गौरवको योजना पूर्व पश्चिम लोकमार्ग निर्माणमा प्रविधिकहरुकै आर्थिक सेटिङमा प्रयोग भइरहेको नाम उल्लेख नगर्ने शर्तमा सडक निर्माण कम्पनीका एक कर्मचारीले बताए। उनले भने, ‘कमलामाई सप्लायर्सबाट खरिद गरिएको गुणस्तरहीन ग्राभेल धनगढीमाई नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कसहा खोलादेखि पूर्वको सडक खण्डमा र गोलबजार नगरपालिका वडा नंं ३ र ४ मा पर्ने सातपत्रे नदीदेखि पश्चिमको सडक खण्डमा सव वेसमा ओछ्याइएको छ ।
गागन खोलामा डम्पिङगरी राखिएको गुणस्तरहीन ग्राभेलहरु प्रयोग गरेकै कारण सडक कालोपत्र भएको महिनापनि नवितिदै भत्किने गरेको छ।’ गोलबजार नगरपालिका २ का दिनेश यादव भन्छन् ‘म इन्जिनियर होइन’ तर नाङ्गो आँखाले देखिन्छ यहाँ हालिएको ग्राभेलमा माटो मात्र छ । यहाँ उच्च गुणस्तरको पहेँलपुर ग्राभेल हाल्नु पर्ने हो तर ठूलो बेइमानी गरिएको छ । नियामक निकाय मौन छ । पक्कै ठूलो रकमको चलखेल भएको छ ।
यादवले तत्कालै यो सव वेसमा हालिएको ग्राभेलको जाँच गरी कमअसल सव वेस हटाउन र दोषीहरु उपर कारवाही गर्न माग गरेका छन् । यादवले सडक निर्माण प्रकृयामा कम असल सामाग्री प्रयोग भएकोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदा पनि सुनुवाइ नगरिएको सुनाए।’
यता, धनगढीमाई नगरपालिकाका इन्जिनियर सम्भु यादव भन्छन् , ग्राभेलको कम्प्याक्सन (भार वहन क्षमता ) मापन गरिन्छ । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण भएको ग्राभेल हुनुपर्छ । मात्रा मिलेको छैन भने त्यसलाई सव वेसमा हाल्न मिल्दैन । कालोपत्रे भासिन्छ , धाजा फाटेर फुट्छ वा चर्किन्छ ।’
कमसल निर्माण सामाग्री सप्लाई गरिएको बारे कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्मासँग प्रश्न गर्दा उनले पहिलो परीक्षणमा असफल भएको स्वीकार गरे । तर पछि माटो मिसाएर परीक्षण गर्दा पास भएकोले ग्राभेल सप्लाई गरेको बताए । उनले भने, ‘भण्डारण गरेर राखिएको ग्राभेलमा वर्षाले गर्दा माटो पखालिएको थियो । माटो मिसाए पछि गुणस्तर कायम भयो।’
निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्ने सडक निर्माणसँग सम्बन्धित नेपाल सरकारका अधिकारी ईश्वरी प्रसाद अमगाईँसँग यस विषयमा जिज्ञाशा राख्दा उनले पनि पहिलो परीक्षणमा ग्राभेल असफल र अस्वीकृत भएको स्वीकार गरे । तर पछि अपुग पदार्थ मिसाएर परीक्षण गर्दा पास भएको स्वीकारेका छन्।
निर्माण सामाग्री कमसल प्रयोग गरिएकै कारण ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको छ । कम्तिमा १२ वर्षसम्म नभत्किने ग्यारेण्टी भनिएको सडक कालोपत्रे गरिएको १५ दिनमै धाँजा फाट्न थालेपछि स्थानीयहरुले दुःखेसो पोखेका छन्।
चाइनिज कम्पनीले निर्माण गरेको कालोपत्रे सडकमा धाँजा फाट्ने मात्र नभई खण्ड खण्डमा कैयौं किलोमिटरमा जोल्डिङ्ग (बम्पिङ्ग) हुन थालेको छ ।
धनगढीमाई नगरपालिका वडा नं १ मुसहर्निया गाउँ क्षेत्रमा कालोपत्रे गरिएको एक साता भित्रै धाँजा फाटेको देखियो । कन्सलट्यान्ट कार्यालय लहान र आयोजना निर्देशनालय मिर्चैयाले रिपोर्ट गरेपछि चाइनिज कम्पनीले धाँजा फाटेको स्थानमा कालोपत्रे काटेर पुनर्निर्माण ग¥यो तर तीन पटक मर्मत गर्दा पनि सो स्थानमा पुन कालोपत्रे चर्किएको स्थानियहरु बताउँछन्।
त्यसैगरी २७ नं कलभर्टदेखि जिरोमाइलसम्म गरिएको कालोपत्रे सडकमा बम्पिङ्ग ( जोल्डिङ्ग ) देखिएको छ । स्थानीय पत्रकार आशिष विश्वकर्मा भन्छन् , सो क्षेत्रमा गाडी चलाउँदा ग्राभेल सडक जस्तै जोल्डिङ्ग हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार कालोपत्रे सडकमा ३ एमएम भन्दा बढी बम्पिङ्ग हुन हुँदैन । तर जिरोमाइल सडकको नयाँ कालोपत्रेमा १५ देखि २० एमएमसम्मको बम्पिङ्ग छ।’
त्यसैगरी मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका क्षेत्रमा पनि ठाउँ ठाउँमा सडकमा धाँजा फाटेको स्थानियहरुले गुनासो गरपनि सम्वन्धित निकाय मौन बनेका छन्। कालोपत्रे निर्माण गरेको एक साता भित्रै सडक चकिर्न थालेको स्थानियहरुको भनाई छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाईको कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको छ। चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो ।
२८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन । त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानाएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने स्थानियहरु बताउँछन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।