नवलपरासी ।
नवलपरासी चितवन राष्ट्रिय निकुञ्जले पश्चिम क्षेत्रमा गैँडा बढ्दै जाँदा आन्तरिक वासस्थान मिलाउन पूर्व स्थानान्तरण गरेको छ ।
निकुञ्जको पश्चिम सेक्टरमा पर्ने पूर्वी नवलपरासीको नवलपुरका वनबाट गत शनिवार यता ४ वयस्क गैँडा पूर्वी क्षेत्र पुराईएको हो । यसै क्रममा मंगलबार मध्याह्न कावासोती १३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनबाट १४ वर्षको पोथी गैँडा समातेर जिपिएस जडान गरी निकुञ्जले पूर्वी क्षेत्र लगेको छ ।
यो सँगै पूर्व निर्णय भए अनुसारको गैँडाको आन्तरिक स्थानान्तरणको कार्य पनि सकिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए । गैँडा स्थानान्तरणको दोस्रो चरण अन्तर्गत अघिल्ला ३ दिनमा स्थानीय गुन्द्रहा वनबाट १५,१७ वर्षको पोथी र नमुना वनबाट १८ वर्षको भाले गैँडा पूर्वी क्षेत्र लगिएको थियो ।
सूचना अधिकारी थापाका अनुसार पछिल्लो पटक पश्चिमबाट पूर्व ल्याइएका ४ ओटै गैँडालाई निकुञ्जको महेन्द्र मल्ली क्षेत्र प्यारी ढाप आसपास छाडिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा वन तथा वातावरण मन्त्रालयले २४ माघ २०८० को सचिव स्तरीय निर्णय अनुसार पश्चिमका १० गैँडा पूर्व स्थानान्तरण गर्ने वन्यजन्तु विभागले योजना बनाएको थियो ।
सोही निर्णयले गत वर्षको चैत महिनामा नवदुर्गा सामुदायिक वन, निकुञ्जको दिव्य पुरी पोष्ट तथा अन्य मध्यवर्ती सामुदायिक वनबाट गरी ६ गैँडा पहिलो चरणमा पूर्व स्थानान्तरण भएका थिए ।
बसोबासका दृष्टिले पश्चिम सेक्टरमा गैेंडाको बाक्लो घनत्व रहेकोले भेल बाढी जस्ता जलवायु जन्य जोखिम घटाउन तथा जेनेटिक मेनेजमेन्टका लागि पहिलो र दोस्रो चरण गरी पश्चिमका केही गैँडा पूर्व स्थानान्तरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा।गणेश पन्तले बताए ।
गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल,उप महानिर्देशक वेद कुमार ढकाल, वरिष्ठ ईकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका अधिकारी सहितको टोली पश्चिम सेक्टर आईपुगेको थियो ।
गैँडा स्थानान्तरण गर्दा प्रजननका दृष्टिले वयस्क भाले पोथीको अनुपात मिलाई लैजानका लागि पशु चिकित्सक, जिपिएस जडानकर्ता,डार्ट प्राविधिक तथा हात्ती सहित निकुञ्जको टोली कार्य क्षेत्रमा खटिएका थिए ।
यता यसै सम्बन्धमा स्थानीय संरक्षण कर्मी तथा पर्यटन व्यवसायीहरूले वन्यजन्तुलाई स्थानान्तरण तथा कुनै हलचल नगराई प्राकृतिक अवस्थामै छाडिनु पर्ने बताउँदै आएका छन् । यसै बीच संरक्षणकर्मी एवं होमस्टे व्यवसायी प्रेमशंकर मर्दनीया गैँडाले आफू हुर्के बढेकै ठाउँ मन पराई फर्की फर्की आउने हुँदा राज्यले स्थानान्तरण भन्दा वासस्थान सुधारमा लाग्नु पर्ने बताउनु हुन्छ ।
पछिल्लो गैँडा गणनाको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैँडा रहेको र जसमा निकुञ्जको पश्चिमी भूगोलमा २ सय बढी गैँडाले विचरण गर्ने गरेको बताइन्छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारी, गुन्द्रहा भुताहा,कोलकट्टा, तमासपुर,लौखानी,दिव्य पुरी, सिख्रौलीका वनमा दिनहुँ सहजै गैँडा,बाघ, घडियाल र विभिन्न जातका जलपंक्षी देखिने हुँदा नवलपुर पर्यापर्यटनको हब बन्दै गएको स्थानीयहरू बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।