काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणका क्रममा गत मंसीर २९ गते नेपाल र चीनबीच बेल्ट एण्ड रोड कोअपरेसन फ्रेमवर्कमा हस्ताक्षर भइसकेको भएता पनि अझै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारेको बुझाइमा अस्पष्टताका कारण संशय कायमै छ ।
यो अस्पष्टता नेपालमा मात्रै होइन, बीआरआईमा सहभागी अन्य देशहरुमा पनि विद्यमान रहेको कारण चीनले सन् २०२३ को अक्टोबरमा द बेल्ट एण्ड रोड इनिसियटिभ : ए की पिलर अफ दि ग्लोबल कम्युनिटी अफ शेयर्ड फ्युचर शीर्षकको श्वेतपत्र जारी गर्दै विश्व समुदायलाई बीआरआईको १० वर्षे उपलब्धीबारे जानकारी दिएको थियो ।
उक्त स्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बीआरआई सहकार्यबाट एक दशकमा प्राप्त भएको उपलब्धीका बारेमा जानकारी दिंदै राम्रो समझदारी कायम गर्दै उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न र धेरै मुलुक र जनतालाई लाभ प्रदान गर्ने विश्वास लिइएको थियो ।

नेपालमा पनि अझै बीआरआईबारे अस्पष्टता कायमै रहेको अवस्थामा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले सोही श्वेतपत्रलाई नेपालीमा अनुवाद गरेर सार्वजनिक गरेको छ । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले मंगलबार राजधानीमा आयोजित एक समारोहमा बीआरआई श्वेतपत्र : विश्व समुदायको साझा भविष्यका लागि एक आधार स्तम्भ शीर्षकको नेपाली अनुबादको लोकापर्ण गरेकी थिइन् ।
सो अवसरमा कांग्रेसकी नेतृ कोइरालाले बीआरआईप्रतिको गलत बुझाइका कारण नेपालमा यसको कार्यान्वयन हुन ढिलाई भइरहेको टिप्पणी गर्दै यसलाई तत्काल कार्यान्वयनमा लगि फाइदा लिनुपर्नेमा जोड दिइन् । उनले बीआरआईले गरिबी निवारणमा धेरै ठूलो सहयोग पुर्याउने जिकिर गर्दै नेपाल जस्तो विकासोन्मुख देशको लागि यो परियोजना निकै लाभदायक रहेको विचार व्यक्त गरिन् ।

कार्यक्रममा क्लबका महासचिव डा. कल्याणराज शर्माले बीआरआईको सहयोग लिएका देशहरु सबल बन्ने बाटोमा अगाडि बढिरहेको तर नेपाल भने बीआरआईमा कहाँ छ भन्ने प्रश्न अनुत्तरित रहेको टिप्पणी गरे । उनले बीआरआई कोअपरेसन फ्रेमवर्कमा सहमति भएअनुसार छनोट गरिएका परियोजनाहरुलाई कार्यान्वयनमा लैजान ढिलाई भइरहेको जिकिर गर्दै चीनसँच यसअघि भएका समझदार र साझेदारीमा पनि अघि बढ्न ढिलाई गर्न नहुने धारणा राखे ।

कार्यक्रममा चीनको रेनमिन विश्वविद्यालयका सहप्राध्यापक सिया लुले भिडियो कलमार्फत बीआरआईको बारेमा बिस्तृत जानकारी दिने क्रममा चीनले बीआरआईको माध्यमबाट ऋणको पासोमा पार्छ भनेर भ्रम छर्ने काम भैरहेको टिप्पणी गर्दै चीनले कुनै पनि परियोजनामा हात हाल्नुअघि पहिला परियोजनाको सम्भाव्यता र दीगोपनको अध्ययन गर्ने भएकोले त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

पत्रकार महेन्द्र सुवेदीले श्वेतपत्रका बारेमा जानकारी दिंदै बीआरआईमा सहकार्य गर्ने देशहरुले वास्तविक लाभ प्रदान गरेको उल्लेख गर्दै आर्थिक भूमण्डलीकरणको सुदृढ विकासका साथै विश्वव्यापी विकासका जटिलताको समाधान र विश्वव्यापी शासन प्रणाली सुधार गर्न यसले सहायता प्रदान गरेको बताए ।

प्रस्तावना र निष्कर्षसहितको श्वेतपत्रमा चिनियाँ प्रस्ताव तर सारा विश्व जगतसँग सम्बन्धित, साझा विकास र समृद्धिका लागि मार्ग तय गर्ने, बहुक्षेत्रगत र बहुआयामिक समपर्क सञ्जाल प्रबद्र्धन, विश्व शान्ति र विकासका लागि सकारात्मक उर्जा प्रवाह र भरपर्दो र दीगो प्रगतिका लागि उच्चस्तरको बीआरआई सहकार्य शिर्षकका पाँच अध्याय समावेश छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।