
काठमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले वैज्ञानिक र खगोलविद् मिलेर अनुसन्धान गर्न आवश्यक रहेका बताउनुभएको छ । डिल्लीबजारको होटल पेन्सन वासनामा शनिबार आयोजित विश्व ज्योतिष महासंघको ३०औं वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हो ।
‘ग्रहस्पट छोटो तरिकाले गर्ने कार्य अझै गर्न सकिएको छैन’, अध्यक्ष अधिकारीले भन्नुभयो– ‘ग्रह, नक्षत्र तथा खगोलीय क्षेत्रमा रहेका समस्या समाधान गर्न वैज्ञानिक र खगोलविद्को संयुक्त रूपमा अनुसन्धान गर्ने हो भने चाँडै निकास निस्कन्न सक्छ ।’ खगोलीय क्षेत्रमा रहेका समस्या तथा विश्वका ज्योतिषीहरूको समस्या समाधान गर्न विश्व ज्योतिष महासंघ सक्षम रहेको पनि उहाँको भनाइ थियो ।
यस्तै, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमले धर्म–संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकोप्रति सचेत गराउनुभएको छ । ज्योतिषीले तिथिमिति गणना गरेर विभिन्न जातजातिको संस्कार संस्कृति जोगाएको तर अन्य क्षेत्रबाट यसलाई धमिल्याउने कार्य भएकाले त्यसतफ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभएको थियो ।
यसै गरी, २०५२ सालमा विश्व ज्योतिष महासंघ दर्ता गर्ने क्रममा आइपरेका चुनौती तथा समस्याको राष्ट्रिय धर्म सभाका अध्यक्ष माधवप्रसाद भट्टराईले प्रस्ट्याउनुभएको थियो । सार्वजनिक स्थानमा ज्योतिषीको खेदो खन्ने अनि लुकी–लुकी ज्योतिषी कार्यालय धाउने धेरै रहेको उहाँको कथन छ ।
आफ्नै व्यक्तिगत खर्चमा विभिन्न देशमा गएर महासंघलाई बलियो बनाउन सहयोगी भूमिका निर्भाह गर्ने सबैलाई कार्यक्रमका सभापति तथा विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । ज्योतिषीय क्षेत्रलाई मर्यादित र सरकारी क्षेत्रमा यसलाई स्थापित गराउने आफ्ने प्रमुख उद्देश्य रहेको उहाँको कथन छ ।
महासंघले अन्तर्राष्ट्रिय पञ्चाङ्ग समिति गठन गरी ६ वर्षदेखि अमेरिकाको टेक्सासलाई केन्द्रविन्दु बनाएर ‘दिव्यदृष्टि पञ्चाङ्ग’, अस्ट्रेलियाका लागि ‘भाष्कर पञ्चाङ्ग’, र क्यानडाका लागि यसै वर्षदेखि पञ्चाङ्ग पात्रो प्रकाशन गर्दै आएको छ । विश्व ज्योतिष महासंघमा हाल २३ देशका ज्योतिषी रहेका छन् । यसले हरेक देशमा राष्ट्रिय समिति पनि बनाएर अनुसन्धानमूलक कार्य तथा ज्यातिषीको हकहितमा कार्य गरिरहेको छ भने महासंघको केन्द्रीय कार्यालय नेपालमै रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।