
डोटी।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा सोमबार वैशाख १ गते दिनभरी सालीले भेना र देवरले भाउजूलाई सिस्नो पानी लगाएर बिसुपर्व मनाएका छन् ।
साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व यहाँ प्रत्येक वर्ष सिस्नु पानी खेलेर मनाइँदै आएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् ।
बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु पनि अहिले गाउँघरमा आएपछि गाउँमा निकै रमाइलो भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी ललित विष्टले बताए । उनले भने, “अहिले गाउँ घरमा परदेशिएकाहरु घरमा आएका छन् । आज गाउँमा सालीले भेना र देवरले भाउजूलाई सिस्नो पानी लगाएर बिसुपर्व मनाए रमाइलो भयो ।”
आजको दिन सालीले भेना र देवरले भाउ जुलाई सिस्नो पानी लगाएर वर्षभरीमा रोगब्याधि नलाग्ने र माया ममता पनि बढ्ने भएकाले सिस्नु पानी लगाउने चलन रहेको अर्का स्थानीय दीर्घबहादुर साउँदले बताए ।
उनले भने, “बिसु पर्व भनेको सुदूरपश्चिमवासीको मौलिक तथा सांस्कृतिक पर्व हो । आजको दिन सिस्नो नलाए रोग व्यात्रि लाग्ने भन्ने जन विश्वास छ । त्यसैले पनि सिस्नु अनिवार्य लगाउनु पर्छ ।”
यसैगरी बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ ।
वैशाख महिना शुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद डा.बद्रीप्रसाद बिनाडीले बतए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नयाँ बर्षलाई बिसु पर्व मानेर खुसीयाली मनाउने चलन चल्दै आएको छ । वैशाख १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए ।
यहाँका अधिकांस गाउँघरमा देवर–भाउज्र, नन्द–भाउजू, साली–भिनाजु, फुपु–सालीहरुकाबीचमा पनि सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । यस दिन सुदूरका विभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ ।
यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको केआइसिंह गाउँपालिका स्थित दल्लका स्थानीय सेरबहादुर ऐर सेरुले बताए । उनले भने, “जंगलबाट लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगनद्वारा आकर्षक बनाई प्रत्येकको घरमा वर्षभरी राख्ने चलन छ । यस लौरोलाई स्थानीय भाषामा ‘बिस्या लठ्ठी’ भन्ने गरिन्छ ।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।