
काठमाडौं ।
गर्भवती महिला र सुत्केरीका लागि निस्शुल्क वितरण हुँदै आएको आईरन चक्की अहिले देशभर अभाव भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच खरीदको अलमलले पछिल्लो दुई महिना देखि आईरन चक्की अभाव भएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी आईरन चक्की अभाव भएको आफूले थाहा पाएको र त्यसको तत्काल व्यवस्थापन गर्न परिवार कल्याण महाशाखालाई निर्देशन दिएको बताउँछन् ।
उनी भन्छन्, ‘पहिले संघले खरीद गरेर वितरण हुन्थ्यो । बीचमा प्रदेश तथा स्थानीय तहले यसको जिम्मेवारी लिए । अहिले प्रदेश तथा स्थानीय तहबाट खरीद हुन नसकेको भन्ने कुरा आयो । संघले पनि पछिल्लो समय यो खरीद गरेको रहेनछ । मैले परिवार कल्याण महाशाखालाई निर्देशन दिईसकेको छु । छिटै यो अभाव हटाउनु पर्छ ।’
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा। बसन्त अधिकारीले काठमाडौँ सहित देशभर नै आईरन चक्की अभाव भएको बताए । उनले तीन तहका सरकारबीच भएको असमझदारीले यो अवस्थाको सिर्जना भएको दावी गरे । ‘पहिले संघबाट हुने यसको खरीद व्यवस्थापन बीचमा प्रदेश तथा स्थानीय तहले गर्ने भनिएछ । अहिले पछि पुनः संघले नै खरीद गरेर पठाईने भनिएको रहेछ । तर संघले दुई वर्ष यता खरीद गरेको छैन् । दुई वर्ष अघि गरिएको खरीदको मौज्दात अब सकियो । त्यसैले देशव्यापी रुपमा अभाव हुन थाल्यो,’ उनले भने ।
यता धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी भन्नुहुन्छ(आईरन चक्की खरिदको जिम्मा प्रदेशको हो र ३ महिना अघिनै प्रदेशलाई लिखित जानकारी गराएको भएपनि अझै आईरन चक्की खरिद भएको छैन । देशव्यापी रूपमा अभाव भएकोछ । अझै ६ महिना नआउने प्रदेशले जनाएकोछ । धलिखेल नगरपालिकाले अभाव हुन नदिन आन्तरिक स्रोतबाट खरिद प्रकृया अघि बढाएको छ । तर स्थानिय निकायलाई खरिद अधिकार सहितको बजेट सरकारले दिएको छैन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।