
उदयपुर ।
उदयपुर जिल्ला अस्पतालका रेडियोलजिष्ट डा. दिपेश यादवमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।
सोमबार जिल्ला अस्पतालमा डा. यादवको कार्यकक्षमा प्रवेश गर्दा ढोकामा लात्तीले हानेर कार्यकक्षमा प्रवेश गरेर डाक्टर यादव उपर अभद्र व्यवहार गरेकोमा प्रहरीले तत्कालै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्लाको चोदण्डीगढी नगरपालिका वडा नं ९ घर भएका ३३ वर्षका देवराज विष्टले अस्पतालमा डा. ढादवको कार्यकक्षमा प्रवेश गरेर मनपरी बोलेर कुटौला झैँ गरेर अभद्र व्यवहार गरेका थिए ।
दिउँसो चिया खाजा खाने समयमा अस्पताल पुगेका विष्टले कार्यकक्षमा डाक्टरलाई नभेटपेछि केही बेर कुरेका थिए । नेपाल सरकारले कर्मचारीहरुकालागि चिया खाजा खानकालागि तोकेको समयमा डा.यादव खाजा खान गएको तर समयमा नआएको भन्दै विष्टले आक्रोशित भई अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले डाकटरलाई मनपरी भन्ने र अभद्र व्यवहार गर्ने चौदडीगढी ९ का देवराज विष्टलाई तत्कालै पक्राउ गरी कारबाही गर्ने क्रममा ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको र अभद्र व्यवहार गरेको विषयमा अदालतमा मुद्दा दर्ता गरिएको बताए ।
डाक्टरमाथि अस्पतालमा अभद्र व्यवहार भएपछि जिल्ला अस्पतालमा कार्यरत १३ जना डाक्टरहरले संयुक्त विज्ञप्ति प्रकाशित गरी अस्पतालभित्र डाक्टरमाथि अभद्र व्यवहार गर्ने विष्ट उपर कडाभन्दा कडा कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा बुझाउनुका साथै कार्वाहीकालागि निवेदन समेत दिएका थिए ।
अस्पतालका डाक्टरहरुले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन२०६६ पहिलो संशोधन२०७९को दफा ३को .(ग) बमोजिम कारबाही गर्न माग गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।