
हेटौंडा ।
युवाका लागि ‘परियोजना बैंक’ मागसहितका १० बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलन सकिएको छ । बैशाख २८ गतेदेखि प्रदेश युवा परिषद् बागमतीको आयोजना भएको सम्मेलनमा मंगलबार घोषणापत्र जारी गरिएको हो ।
परिषद्द्वारा जारी घोषणापत्र मुख्यमन्त्री बहादुरसिंह लामा र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई बुझाइएको छ । परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंद्वारा जारी घोषणापत्रमा प्रदेशको नीतिनिर्माण, नवप्रवर्तन र उद्यमशीलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । घोषणापत्रमा तीन तहका सरकारबीच समन्वय गरी युवा परियोजना बैंक स्थापना माग गरिएको छ ।
नीतिनिर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्नु आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ । ‘युवा सिप वर्ष २०८१’ का कार्यक्रमलाई आगामी वर्षसमेत निरन्तररुपमा सञ्चालनको व्यवस्था गर्न माग गरिएको छ । सिपमूलक तालिमसँगै उद्यम सञ्चालन, बजारीकरण, लगानी पहुँच, प्राविधिक परामर्श र अनुगमनलाई जोडेर एकीकृत ढाँचामा सञ्चालन गर्नुपर्ने उपाध्यक्ष चौलागाईंले बताए । सिपमा आधारित स्वरोजगारका लागि अनुदान, सहुलियत ऋण र सहकारी प्रणालीलाई कार्यान्वयन गर्नुपर्ने माग घोषणापत्रमा गरिएको छ । बागमती प्रदेश सरकारले जलवायु संकटलाई सम्बोधन गर्न वातावरण संरक्षण, हरित रोजगारी सिर्जना र जलवायु न्याय सुनिश्चित गर्ने विषयमा युवाको नेतृत्वमा आधारित कार्यक्रमलाई प्राथमिकतासाथ सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । युवाले नेतृत्व गरेका ग्रीन इनोभेसन र सस्टेनेबल स्टार्टअपमा लगानी सहज बनाउन सार्वजनिक–निजी साझेदारीका माध्यमबाट पहुँच वृद्धि गर्नुपर्ने माग परिषद्को छ । कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषिक्षेत्रमा आकर्षण, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअप प्रवद्र्धन, कृषिमा डिजिटल प्रविधि प्रयोग अनिवार्य र कृषिउद्यम गर्न चाहने विद्यार्थीलाई प्रमाणपत्रका आधारमा कर्जाप्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । युवाहरुको सिर्जनात्मक क्षमतालाई प्रशिक्षण, उपकरण, सञ्जाल र प्रस्तुतिकरणको अवसरमार्फत अभिव्यक्त गर्न सहज वातावरण निर्माण गर्न माग गरिएको छ । प्रदेशमा युवालक्षित मानसिक स्वास्थ्य परामर्श केन्द्र, विद्यालय तथा कलेजस्तरमा साइको–सोसल सपोर्ट सिस्टम, २४ सै घण्टा उपलब्ध हेल्पलाइन सेवा स्थापना गर्नुपर्ने विषय घोषणापत्रमा छ । सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सिप र सिर्जना, दीगो विकासमा जलवायु परिवर्तन र युवा, नीति, नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवालगायत विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।