
उदयपुर ।
उदयपुर स्थित नेपालको सबेभन्दा ठुलो सिमेन्ट उदोगका रुपमा रहेको त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उपयोग गरे बापतको महसुल ६७ करोड ९४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय उदयपुरको लगत तथा लेखा शाखाले दिएको जानकारी अनुसार २०८२ बेशाख मसान्तसम्मको सिमेन्ट उद्योगले तिर्नु पर्ने जम्मा विद्युत् महसुल ६७ करोड, ९४लाख ३४ हजार ५१रुपैया विद्युत् प्राधिकरणलाई तिर्न बाँकी रहेको जनाएको छ ।उद्योगले प्राधिकरणलाई २०८२ बैशाखसम्मको महसुल मात्र ५४ करोड ४३ लाख २२ हजार५ सय ७१ रुपैयाँ र जरिवाना २०८१ चैत्रसम्मको गरी १३ करोड ५१ लाख १ जार १ सय ४८ रुपैयाँ गरी कुल जम्मा.६७ करोड ९४ लाख ३४ हजार ५१ रुपैयाँ रहेको छ ।
उद्योगले गत कार्तिकमा केही रकम विद्युत् महसुल वापत बुझाएको र महसुल मिनाहा वा छुट सम्बन्धी विषय विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयले हेर्ने हो । जिल्ला शाखाले केन्द्रको निर्देशन अनुसार काम गर्ने जानकारी दिँदै विद्युत् प्राधिकरण उदयपुरले विद्युत् महसुल बाँकी रहेमा त्यसको जरिवाना पनि बढ्दै जाने हुँदा बढी महसुल भएको जनाएको छ ।
यस विषयमा उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक महेश साहले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बुझाउन बाँकी रहेको जानकारी दिँदै विद्युत् महसुल बापतको २४ करोडको हिसाब विद्युत् प्राधिकरणले मिलाउनु पर्नेमा नमिलाएको र सो बाहेक ४४ करोड विद्युत् महसुल भुक्तानी गर्न बाँकी रहेको बताए ।
सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरेर बजारमा बिक्री गरेर विद्युत् महसुल लगायतका बाँकी रहेका भुक्तानी तथा अन्य दायित्वहरु फछ्र्यौट गर्ने गरेको जानकारी दिदै निमित्र महाप्रबन्धक साहले समेन्ट बिक्री पश्चात विद्युत् महसुल क्रमशः बुझाउँदै जाने योजना रहेको बताए ।
सिमेन्ट उद्योगसँग विद्युत् प्राधिकरणले असुल गर्नु पर्ने विद्युत् महशुलका बारेमा नेपाल विद्युत् प्राधिकरण उदयपुर शाखाका कार्यालय प्रमुख इन्जिनियर माधवप्रसाद यादवले उद्योगले बुझाउनु पर्ने महसुल समयमा नबुझाउँदा बढी भएको र विद्युत् महसुल विद्युत् प्राधिकरणको केन्द्रबाट मिन्हा गराउने भनेर लागेको जानकारी पाएकोले विद्युत् प्राधिकरण जिल्ला शाखाबाट कुनै प्रक्रिया अघि नबढाएको बताए ।
विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको आदेशानुसार सिमेन्ट उद्योगको बाँकी महसुल, जरिवानासमेत असुली गर्न आदेश नभएकोले हाल असुलीको कुनै प्रक्रिया अघि नबढेको जानकारी दिँदै विद्युत् प्राधिकरणका कार्यालय प्रमुख यादवले सिमेन्ट उद्योगले बुझाउनु पर्ने विद्युत् महसुल आफैँ बुझाउने र ताकेता गर्न नपर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।