
खोटाङ।
सुनकोशी नदीमा तीन दिनदेखि बेपत्ता खोटाङका एक किशोर अझै फेला परेका छैनन् । पौडी खेल्ने क्रममा बेपत्ता बनेका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राई अझै फेला पर्न नसकेको हो ।
सविनको खोजिमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेका छन् । सविनलाई शनिबार बिहान करिब ११ बजेको समयमा सुनकोशीले बगाएको खबर पाएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले बताए । स्थानीय च्यास्मिटार माविको १० कक्षामा अध्ययनरत विद्यार्थी सबिन बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखेका छन् ।
खोजी तथा उद्दार कार्यका लागि तत्कालै ईलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राज विष्टले जनाए । हाल जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । घरायसी कामका लागि ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।
सुनकोशी किनारको बाटो हुँदै गएका दुवैजना तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेका थिए । सँगै पौडी खेल्ने क्रममा सविनलाई भने कोशीले बगाएर बेपत्ता बनाएको सागरले बताएको जनाइएको छ ।
तीन दिनसम्म पनि सबिन फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रता दिनका लागि जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिएका छन् । खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।