सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तमाङ (गोले) ले अरुणाचल प्रदेशस्थित नेशनल इन्स्टिच्युट अफ माउण्टेनियरिङ एण्ड एडभेञ्चर स्पोर्ट्स (NIMAS) को टोलीले नेपालतर्फबाट कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेको भनिएको विषयमा गम्भीर आपत्ति जनाउँदै भारत सरकारका गृहमन्त्री अमित शाहलाई २०२५ मे २४ मा औपचारिक पत्र लेखेका छन्।
मुख्यमन्त्री तमाङले उक्त पत्रमा सिक्किमवासीहरूका लागि कञ्चनजङ्घा धार्मिक, सांस्कृतिक र आध्यात्मिक रूपमा अत्यन्तै पवित्र स्थल रहेको बताउँदै, यस्तो आरोहण प्रयासले स्थानीयहरूको गहिरो आस्थामा चोट पुर्याउने मात्र होइन, कानुनी व्यवस्था उल्लंघन गर्ने कुरामा समेत जोड दिएका छन्। उनले स्पष्ट पारे कि कञ्चनजङ्घा हिमाल सिक्किमका संरक्षक देवता ‘जो-ङा’ (Dzoe-Nga) को वासस्थानका रूपमा पूजनीय छ र सिक्किमको आध्यात्मिक परम्पराको मूल आधार हो।
मुख्यमन्त्रीले धार्मिक र कानुनी संरक्षण विषयलाई सन्दर्भमा राख्दै कञ्चनजङ्घा हिमालको आरोहणमा रोक लगाउने कानुनी र नीतिगत प्रावधानहरू उल्लेख गरेका छन्: पूजास्थलहरू (विशेष प्रावधान) ऐन, १९९१ — जसले स्वतन्त्रतापूर्व (१५ अगस्ट १९४७) को धार्मिक चरित्रलाई कायम राख्ने व्यवस्था गर्छ सिक्किम राज्य सरकारका १९९८ र २००१ का अधिसूचनाहरू — जसमा कञ्चनजङ्घा हिमालमा पूर्ण रूपमा आरोहण निषेध गरिएको छ। यी प्रावधानहरूले केवल धार्मिक भावनाको सम्मान मात्र होइन, सांस्कृतिक सम्पदा संरक्षण पनि सुनिश्चित गर्छन्।
सिक्किम सरकारले जताएको चिन्ताको मुख्य विषय हो — यस प्रयासमा भारत सरकार अन्तर्गतको संस्था NIMAS संलग्न हुनु। यद्यपि उक्त प्रयास नेपालको बाटो हुँदै गरिएको बताइन्छ, तर मुख्यमन्त्रीले यसलाई प्रत्यक्ष रूपमा कानुनी नियम नउल्लंघन गरे तापनि, त्यसको भावना र उद्देश्यको अपमान भएको बताएका छन् मुख्यमन्त्री तमाङका अनुसार, राष्ट्रिय संस्था स्वयं यसप्रकारको कार्यमा संलग्न हुनु गम्भीर मुद्दा हो र यसले भविष्यमा अरू संस्थाहरू वा व्यक्तिहरूलाई पनि यस्तै प्रयास गर्न प्रोत्साहन गर्न सक्छ — जुन सिक्किमवासीहरूको धार्मिक विश्वासविपरीत हुनेछ।
मुख्यमन्त्रीले भारत सरकारसँग निम्न अनुरोध गरेका छन्: उक्त आरोहण प्रयासबारे अनुसन्धान गरियोस्, र NIMAS को भूमिका स्पष्ट पारियोस्। सबै सम्बन्धित संस्थाहरूलाई कञ्चनजङ्घा हिमालको पवित्रता र सांस्कृतिक महत्त्वको सम्मान गर्न विशेष निर्देशन जारी गरियोस्। भविष्यमा यस्तो प्रयास दोहोरिन नदिन कानुनी र नैतिक सीमा पुनः पुष्टि गरियोस्।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) भारत-नेपालको सीमा क्षेत्रमा अवस्थित छ, जसको एक भाग सिक्किम राज्यभित्र पर्छ। नेपालतर्फबाट यसको आरोहण सम्भव भए पनि, सिक्किमका बासिन्दाहरूको लागि यो पूज्य स्थल भएकोले त्यसको कुनै पनि बाटोबाट आरोहण गर्नु वर्जित मानिन्छ। सन् २००० मा भारतीय सेनाको एक टोलीलाई सिक्किम सरकारले कञ्चनजङ्घा आरोहण अनुमति नदिएपछि यो नीतिगत प्रतिबद्धता थप बलियो भएको हो। सिक्किम सरकारले अन्य क्षेत्रहरूमा साहसिक पर्यटनलाई प्रवर्धन गरे तापनि, कञ्चनजङ्घाको पवित्रताको विषयमा कुनै सम्झौता नगर्ने नीति अपनाएको छ।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।